देवी काफ्ले– - -
दाइजो प्रथा समाजको मेटाउनै नसकिने कुरीतिका रूपमा छोरीबुहारीको काल बनेको छ । भारतमा छोराको पढाइ अनुसारको दाइजो,द्रव्य र नगदमा माग हुने गर्दोरहेछ । त्यसको प्रभाव नेपालको तराई भूभागमा पनि गहिरो परेको देखिन्छ । खुला सिमाना र परापुर्वकालदेखि नै रोटीबेटीको सम्बन्ध रहेकाले नेपालको तराई र भारतको युपी,बिहारमा बाक्लै सम्बन्ध गांसियका छन् । धेरैजसो चलनचल्ती पनि मिल्छ । त्यसैले पनि दाइजोको प्रभाव भारतिय तरिकाकै परेको देखिन्छ ।
दाइजो तराईमा मात्र हैन यश प्रथाको सुधारिएको तर भयानक रूपमा पहाडमा तथा शहरहरूमा ब्याप्त भैसकेको छ । दाइजो दिने सिष्टम र माग गर्ने तरिका बिलकुलै आधुनिक छ । विवाहको परम्परा नै आधुनिक र भारतीय बनिसकेको छ । बिबाहको यस्ता तामझाम देख्दा लाग्छ,मान्छेले पैसा खर्चने ठाउँ पाएका छैनन् । पैसा खर्चने र रमाइलो गर्ने भन्दैमा बिबाहको तौरतरिका नै फरक गर्दा हाम्रो संस्कार, रित जिवित रहला त ? छोरीको बिहेको अघिल्लो दिन शुभसाइतका लागि कन्याहरूबाट कसार बनाईकन आमाहरूबाट मालगित गाउँदै शुभेच्छा राखेर शुरूवात गरिने प्रकृया त खै कता हराएछ आजकल ? आजकल त हल्दी मेहेन्दीको पो शुरूवात भएछ जुन चलन बिल्कुल भारतीय हो । पुरै आयतित संस्कार अवलम्वन गर्न थालियछ । बिहे जसरी गरेपनि कुरा दाइजोकै गरौं ।दाइजो भनेको बिबाहमा छोरीलाई दिईने सामान हो । सामान्यतया छोरीलाई दिएको उपहार भन्छन् तर म मान्दिन । छोरी लोग्नेको घरमा गैसकेपछि उसले ओछ्याउने बिस्तरा, कपडा राख्न दराज, बस्न सोफा अनि भान्छामा चाहिने सामान दिने चलन छ, थियो । अनि सासुससुरालाई, ज्वाईलाई सुन दिएर खुशि पठाउनु पर्ने चलन पनि दाइजो नै हो । यसरी दाइजो दिएर पढाइलेखाइ, हुर्काईबढाइ गरेको छोरीलाई सामानसहित पठाउनुपर्ने पीडा धेरै परिवारले भोगिरहेका छन् ।
दाइजोलाई समाजको कुरीति भनेर यसको बिरोध चर्को छ । बिरोध चर्को भए पनि मान्छेको मानसिकतामा सुधार आएको देखिन्न । बरू दाइजोलाई बिकसित रूपमा सुधारेर लगिएको छ । आजकल दाइजो माग्ने तरिका फरक रहेछ । तपाईंको छोरी मन प¥यो हामीलाई छोरी भए पुग्छ । तपाईंको सम्पत्ति यानी कि दाइजो हामीलाई चांहिदैन तर हजुरहरूले एकदिनको इज्जत राखिदिनुपर्छ । अब हामी छलफल गरौं एकदिनको इज्जत राख्ने कसरी ? भनेजति जन्तीलाई ब्याङ्क्वेट वा पार्टीप्यालेसमा स्ट्यान्डर्ड खाना खुवाईदिने ? जन्तीलाई दक्षिणामा चित्त बुझ्दो दिने ? घरपक्षलाई सुन तथा द्रब्य प्रशस्तै दिने ? जो जन्ती तथा आफन्तले देखुन् । यसरी नेपथ्यबाट मागिएका दाईजोका कारण कति परिवारले ऋणको गह्रौं बोझ बोकेका छन् । सबैको चाहना हुन्छ छोरी राम्रो असल केटालाई परोस् । परिवार राम्रो होस् छोरीलाई माया गरून् ।त्यो माया र सद्भावका लागि बाबुआमाले सकेको खर्चिन्छन् दाइजोको रूपमा ।
दाइजोका कारण आजपनि हाम्रा समाजमा कैयौं छोरीचेलीले ज्यान गुमाउनु परेको छ । छोरी पढाएर अर्थोपार्जन गर्न सक्ने, समाजमा नेतृत्व लिन सक्ने बनाए पनि ऊ सँगँंगै महंगा सामान,लुगा,द्रव्य दिनुपर्ने । जो कम भएका कारण छोरी जल्नुपर्छ, छोरी झुण्डिनु पर्छ, छोरीको घाँटी च्यापिन्छ । दाइजोका कारण समाजमा हिंसा बढिरहेको छ । यसलाई कम गर्नुको सट्टा देखावटी गर्नेले झन् बिकृति थपेको लाग्छ मलाई ।जतिसुकै शिक्षित भए पनि दाईजोको लोभ हटाउन नसकेको अवस्था छ । दाइजो तथा फजुल र देखावटी ब्यावहार गर्न नसक्नेका छोरीको बिहे नै हुँदैन कि भन्ने अवस्था सिर्जित भएको देखिन्छ ।
दाइजो प्रथा होइन कुप्रथा हो । राम्रा कामको अवलम्वन गर्ने र नराम्रा र खराब कुराहरूलाई हटाउँदै लैजानु पर्नेमा झन् खराब कुरालाई नै प्रोमोट गरिरहेका छन् ।
वर्तमान शिक्षाले दाइजो लिनुदिनु सामाजिक अपराध हो भन्ने चेतना दिनसकेको छैन । दाईजो प्रथाको रोकथामको लागि विभिन्न नियम कानून नबनेका पनि
होइनन् । हालै मुलुकी अपराध (संहिता) ऐन, २०७४ मा दाइजो माग्ने र दाइजोका कारण महिलालाई दुख दिनेलाई कडा कारबाही गरिने व्यवस्था रहेको छ । ऐनमा विवाहमा लेनदेन गर्न नहुने विषय उल्लेख छ । यसमा दाइजो मागेमा वा लेनदेनको शर्त राखेको भेटिएमा ३ वर्षसम्म कैद वा ३० हजार रूपैयाँसम्म जरिवाना वा दुबै सजाय हुन सक्ने ऐनमा व्यवस्था गरिएको छ । संविधान र विभिन्न कानूनले यो विषयलाई समेटेपनि कार्यान्वयन पक्ष फितलो र समाजको रिती नै यस्तै छ भनेर साथ दिँदा समस्या दिन प्रतिदिन बढीरहेको छ । दाइजो बिरूद्ध आवाज उठाऔं । छोरीलाई सामानसहित बिदाई गर्ने चलनलाई निस्तेज पारौं ।