शाश्वत शर्मा - - -
पुरानो प्रजातान्त्रिक दल नेपाली कांग्रेसको महाधिवेशन सम्पन्न हुँदानहुँदै जोशिलो बन्दै गएको दृश्य देखिन्छन् । निर्वाचित पदाधिकारीहरूको अनुहार हेरेर सन्तुलित टिम भन्दै अब नेपाली कांग्रेस नयाँ जोश र जाँगरका साथ गल्ती सच्याएर अघि बढ्छ भन्न थालेका छन् । कांग्रेसभित्रैका आलोचकहरूका अनुसार ध्वस्त हुँदै गएको कांग्रेस अझ ध्वस्त पार्ने टिम हो यो भन्छन् । आलोचकहरूका अनुसार मुलुकको शासन व्यवस्थामा सच्याउनु पर्ने धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रलाई नै संस्थागत गरिनुपर्छ भन्ने बहुल्यता निर्वाचित पदाधिकारीहरूको भएकाले आमधारणाको संवोधन नहुने यी आलोचकहरूको मत रहेको देखिन्छ । उनीहरू भन्छन्– स्थिति अझ खस्किन्छ ।
उपसभापतिमा निर्वाचित भएका धनराज गुरूङ अनि महासचिवद्वय गगन थापा र विश्वप्रकाश शर्माको इसाई कनेक्शनको कारण कांग्रेसलाई आफ्ना गल्ती कमजोरी सच्याउन गाह्रो पर्ने धेरेले आँकलन गरिरहेका छन् । त्यसो त १२ बुँदे दिल्ली सम्झौंताका पक्षधरहरू शेखर कोइराला लगायत कृष्णप्रसाद सिटौलाहरूको पराजय राम्रैसँग भयो भनेर रमाउने खेमा पनि छन् । मुलुक र पार्टीलाई भड्खालोमा हाल्ने सात दल र माओवादी बीचको सम्झौता, जसमा भारत साक्षी बसेको थियो, का कारण मुलुक आजको दुरावस्थामा पुगेको भनीठान्ने पुराना कांग्रेसीहरू शेखर कोइरालाकोपराजयलाई सही भन्छन् । शेरबहादुर देउवा भ्रष्ट होलान्, असक्षम होलान् तर शेखर कोइरालाजस्ता डरलाग्दा चैं होइनन् भन्ने तिनको ठम्याइ छ । आममानिर र कांग्रेसका कार्यकर्ताहरूलाई झुक्याएर हिन्दु धर्म र बेला बेलामा राजसंस्थाको पक्षपोषक देखाए जस्तो गरे पनि शेखर कोइराला वास्तवमा खाँटी माओवादी भन्दा डरलाग्दा गणतन्त्र र धर्मनिरपेक्षतावादी हुन् । पहिले माओवादीको कोटामा संविधानसभामा सदस्य हुन समेत तैयार शेखर के हुन्, त्यो गिरिजाप्रसाद कोइरालालाई थाहा थियो । जेहोस्, सभापतिमा हारे पनि कांग्रेसका स्वतः केन्द्रीय सदस्य बनेका छन् उनी । उनले आफ्नो प्यानलबाट निर्वाचितलाई कसरी भड्काउने हुन् ? सभापति देउवालाई अप्ठेरोमा पार्न कस्तो रणनीति अपनाउने हुन्, शनै शनै स्पष्ट हुँदै जाला । सभापति देउवाका लागि आगामी दिन पहिलेजस्तो सहज हुनेछैन ।
बीपीको विचारबाट भड्किएको कांग्रेस सच्चिनुपर्ने समयमा त्यस्ता कट्टर पदाधिकारी निर्वाचित भएपछि कांग्रेसको हविगत संसदमा माओवादीको भन्दा खराव हुने देखिन्छ । सर्वप्रथम लोकतन्त्रलाई प्रजातन्त्र भन्नुप¥यो, त्यसपछि राजसंस्था, हिन्दुधर्म र संघीयताको अहिलेको लाइनलाई सच्याउनु प¥यो तबमात्र कांग्रेस जीवित रहनसक्छ । यसबारेमा नेपाली कांग्रेसभित्र सन्नाटा छ, सबै मौन रहेका छन् । ९४ प्रतिशत ॐकार परिवार रहेको देशमा यति उग्र टिम छ कांग्रेसभित्र । यस्तो कांग्रेस कम्युनिष्टको जालोमा फसेर माकुराले झिंगा समाप्त पारेझैं हुनेमात्र हो । नेपाली कांग्रेसको भविष्य भनेको प्रजातन्त्र र संवैधानिक राजतन्त्रकै आधारभूमिमा हो । अवसरवादमा चुर्लुम्म डुबेको कांग्रेस कसरी प्रजातन्त्रको बैतर्णी तर्न सक्छ र ?
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको जनताले हामीलाई चोर भन्न थाले भन्ने प्रष्टोक्तिलाई गलत भन्न सक्ने साहससमेत कुनै नेतामा देखिएन । प्रचण्डले होइन भन्न खोजेका थिए, कांग्रेसी जमातले हो हो भनेर प्रचण्डलाई गलत सावित गरिदिए । यसबाट थाहा हुन्छ, राजनीति भ्रष्टाचारको कुन दलदलमा पुगिसकेछ । यही जनआरोपलाई सच्याउने अहं दायित्व कांग्रेसको नवनिर्वाचित पदाधिकारीहरूले पार्टी आदेश पाएका छन् । वास्तवमा यो जनादेश नै हो । सुध्रेला त नेपाली कांग्रेस ? कांग्रेसभित्र निराशा व्याप्त छ, उफ गरेर सुस्केरा हाल्ने जमात ठूलै छ । राष्ट्रको अवस्था सिक्किमीकरणतिर उन्मुख भइसकेको छ । नेपालमा धेरै पहिले राजदूत रहेका केभी राजन के काठमाडौं आए, उनलाई भेट्न जाने जुलुस देखेर विश्लेषकहरू आत्तिन पुगेको देखियो । अब जनताले दण्डित गर्छ भन्ने बुझेर नै टेको लाग्न, टेको खोज्न एउटा थोत्रा राजदूतको पछि लागेर भारतलाई रिझाउने भीड दुर्भाग्य हो ।
यस्तो कांग्रेसलाई भोट देऊ भनेर कसरी भन्ने जनतालाई । सतहका कांग्रेसीको प्रश्न हो यो । यो प्रश्न अन्य दलहरूमा पनि लागू हुन्छ । मुलुक अभिभावक विहीन भएकै हो । सत्य र साँचो यही हो । हरेक पाँच वर्षमा प्रतिनिधि छान्नु र तिनलाई भ्रष्टाचार गर्ने लाइसेन्स दिएर पठाउनु नै लोकतन्त्रको गरिमा बन्न पुगेको छ । तिनको खोइरो खनेर बिरोध गर्न पाइन्छ । विरोधले कुनै नेता सच्चिदैनन् । कांग्रेसको अधिवेशनले केही नेतालाई लाभ भयो, केहीले मीठोमसिनो खान पाए होलान् । केहीले आफ्ना नेताको राम्रै चाकरी बजाएर फुर्ती लगाउन पनि पाए । तर स्पष्ट बोल्नेहरू भन्छन्– पार्टीका अधिवेशन कुम्भमेलाभन्दा भिन्न रूपमा हेर्न सकिने रूपमा भएनन् ।
किनकि राष्ट्रिय मुद्दाहरूमा चिन्ता, चासो र छलफल सम्म पनि गरिएन ।