अधिवक्ता शिव सिग्देल - - -
नेपाली कांग्रेसमा नेतृत्व परिवर्तन, पुस्तान्तरणको ढोल निकै बज्यो । कांग्रेसी प्रतिनिधिहरूले पुरानो अनुभव र नयाँ जोश दुबै मिलाएर आगामी कार्यकालका लागि नेतृत्व चयन गरिदिएका छन् ।
बुढा नेता शेरबहादुर देउवाले एकपल्टलाई मलाई सभापतिमा जिताउनै प¥यो, सरकार बचाउनु प¥यो, आगामी चुनावमा प्रदेश र संघीय सरकारमा कांग्रेसको नेतृत्व जगाउनु प¥यो भनेर माँगेको अवसर बरण भयो, देउवाले मौका पाए । तर बुढा र अनुभवी देउवाको सक्रियताको भन्दा निर्वाचित युवा पदाधिकारीको बढी भरोसा कांग्रेसजनमा देखिन्छ । यी युवाहरूले काम गर्ने अवसर पाएका छन् । जनआन्दोलनको सफलतापछि खिइँदै गएको कांग्रेसलाई खाइखाँदो बनाउने र प्रजातन्त्रको बिडा उठाउन सक्ने कांग्रेस बनाउने अवसर निर्वाचित युवा र जोशिला पदाधिकारीले पाएका छन् । अब हरेक दिन प्रश्न उठ्नेछ, चोटिलो भाषण होइन, काम गरेर देखाऊ । भाषण धेरै भयो, आइन्दा कांग्रेसले कम्युनिष्टको बुई चढेर सरकारमा जान नपरोस् । कांग्रेसको खुट्टा अर्काको टेकोमा उभिनुपर्ने कमजोर नहोस् ।
सभापतिका दुई उमेदवार थिए– शेरवहादुर देउवा र शेखर कोइराला । नेतृत्व परिवर्तन तत्काललाई जरूरी छैन भनेर देउवाले चुनाव जिते । ४० प्रतिशत मत पाएका शेखरले पनि आफ्नो वर्चस्व कायम गरेकै हुन् । उनी सवल नेता हुन् भन्ने मतदाताले प्रमाणित गरिदिए ।
मुख्य सवाल महामन्त्रीमा चर्चित दुई उवा गगन थापा र विश्व प्रकाश शर्माले चुनाव जितेका छन् । यी दुई युवाले मिलेर आफूलाई युवा हुँ, कांग्रेसमा युवाले ल्याउन सक्छ परिवर्तन भनेर प्रमाणित गर्न सके भने नेपाली कांग्रेस वीपीको बिराशतमा फर्कन सक्छ ।
नेपाली राजनीतिमा जुन नेता छिटो चम्किन्छ, उतिछिटो बदनाम हुने गरेका छन् । त्यस्तो नहोस् । व्यक्तिगत नायकत्वको अहं नपालुन् । निश्चय नै नेपाली कांग्रेसमा रूपान्तरणको प्रकृयाले प्रवेश पाएको छ । यो सही हो भनेर देखाउने काम गगन र विश्वप्रकाशले गर्नुपर्छ ।
नयाँ नेतृत्वमा पूर्णबहादुर धनराजजस्ता नेता पनि छन् । यी सबै मिलेर कम्युनिष्ट भुलभुलैयाबाट कांग्रेसलाई निकालेर नीतिगत परिवर्तनमा ल्याउन सके कांग्रेस वर्तमान हो, नेपाली राजनीतिको भविष्य पनि बन्नसक्छ ।