शाश्वत शर्मा - - -
पूर्वराजा भनेपनि वर्तमान राजनीतिकमा वहाँको हैसियत अरू कुनै नेताभन्दा माथि र महत्वपूर्ण रहेको पुष्टि फेरि पनि भएको छ । होला, ज्ञानेन्द्र शाह सकृय छैनन्, निर्मल निवासमा नै सिमित होलान् तर दलहरूमा, नेताहरूका बीचमा पूर्वराजाको वयक्तित्व अझै पनि चर्चामा छ, राजनीतिको मूल विषयवस्तुमा नै छन् । प्रम देउवाले महिनादिन अघिमात्र वहाँलाई राजनीति नगर्न चेतावनी दिदै गणतन्त्र राजाकै कारण आएको बताएका थिए । राप्रपाको महाधिवेशनमा समेत पूर्वराजा ज्ञानेन्द्रकोनाम उठान हुनुले यो व्यवस्था गणान्त्रिक भनेर भनिए पनि पूर्वराजाको स्थान धेरै माथि रहेको प्रमाणित हुनजान्छ । हो, पूर्वराजाले जनताको नासो जनतालाई बुझाएको अवस्था छ, श्रीपेच र राजदरवारमा बस्दैनन् पूर्वराजा । तर हत्या, हिंसा, भ्रष्टाचारमा गनाउनुसम्म गनाएका नेताहरूभन्दा पूर्वराजाको हाइट धेरैमाथि देखिन्छ ।
आफूसँग जनविश्वास छ, सुरक्षा निकाय छन् भनेर दावी गर्ने नेताहरू र दलहरू पूर्वराजासँग यतिबिघ्न त्रसित किन छन् ? यसकारण त बिनाकारण पूर्वराजालाई बदनाम गर्छन्, खबरदार भनेर थाक्दैनन् । जबकि २०६५ सालमा गणतन्त्र कार्यान्वयन भएदेखि कोही इमानदार नागरिक बनेको छ भने त्यो पूर्व राजा नै हुन् । नागरिक राजासँग अझै पनि यिनको सातो जान्छ, राजाविरूद्ध चिच्याइरहन्छन् । पूर्वराजासँग के छ र ? तैपनि पूर्वराजालाई गाली नगरी यिनलाई खाएकै पच्दैन । मुख्य कुरो आफ्ना कुकृत्यहरूको जनताबाट विरोध होला भनेर यिनीहरू बेला कुबेला राजालाई राजनीतिमा तान्छन्, विरोध गर्छन् र पानीमाथिको ओभानो हुनखोज्छन् । यसकारण त कोही राजाले पार्टीको चुनाव हराइदिए भन्छन्, कोही राजनीति गर्न पार्टी खोलेर अगाडि आउ भन्छन् । यतिबिघ्न डराउनुको कारण यिनीहरू आफैसँग त्रसित छन् ।
परिवर्तनपछिका १५ वर्षमा पूर्वराजाको राजनीतिमा भूमिका शून्य छ । पूर्वराजा आमनेपाली बनेर बसेका छन् । आमनेपाली सरकार र पार्टीहरूसँग असन्तुष्ट भएपछि राजा आउ भन्छन् भने यसमा राजाको के दोष ? सडकमा जे जति प्रदर्शन भएका छन्, ती स्वतःस्फूर्त रूपमा भएका छन् । कतै पनि राजाको प्रत्यक्ष संलग्नता छैन । राजा बन्ने अभिलाषा कतै पनि प्रकट भएको छैन । मात्र जनताले खोज्छन् भने म यहीं छु भनेर बसेका छन् । उनको यो बसाइ पूर्णतः नेपालीत्व हो ।
राजाको एउटै इच्छा छ– देश चलाउ, दे.शलाई र जनतालाई हानी नोक्सानी कार्य नगर । पूर्वराजालाई जसजसले भेटे, तिनीहरूले राजाबाट पाएको आशय यही हो । यस्ता शान्त स्वभावका राजालाई अझे चिथोर्ने, विवादमा तान्ने ? पाएको र लिएको जिम्मेवारी पूरा गर्न नसक्ने अनि दोष राजामाथि थोपर्ने ? यो त अति हो ।
यदि कानुनको राज्य हुँदो हो, विधिको शासन हुँदो हो त ९९ प्रतिशत नेता भनाउनेहरू जेलमा हुनेथिए । किनकि देश अपराधशाला बनेको छ र अपराधमा हरेक नेताका नाइटो जोडिएका देखिन्छ । जे छ सेटिङ छ, भ्रष्टाचार र अनियमिततामात्र छ, यसकारण लोकतन्त्रमा लूटतन्त्र चलेको छ । आफू अपराधमा फसिएला भनेर यिनीहरूले हरेक निकायमा राजनीतिकरण गरेका छन्, भागशान्ति आआफ्ना मानिसहरू फिट गरेका छन्, यसकारण यिनीहरूमाथि कुनै कारवाही हुनसकेको छैन ।
नेपाली कांग्रेसको महाधिवेशनमा शुभकामना दिन पुगेका राप्रपाका एकमात्र नेता तथा भर्खर अध्यक्ष जितेका राजेन्द्र लिङ्देनले सबैका सामु, सिङ्गो मुलुकले सुन्नेगरी भनेका छन्– आज जनता कुनै नेता आयो भने भन्ने गरेका छन् ‘कुन चोर आयो’ भनेर । यो आवाजलाई कांग्रेसजनले हो हो भनेर ताली पिटिदिए । प्रचण्ड होइन भन्दै थिए, उपस्थित समुदायले हो हो भनेर उल्ली उडाइदिएका थिए । उनले राजतन्त्रको पुनस्र्थापना र निर्वाचित प्रधानमन्त्री तथा सांसद मन्त्री नबन्ने प्रस्तावसमेत गरेका छन् । वास्तवमा लिङ्देनले साँचो बोले र हरेक ठूला नेता ओली हुन् कि प्रचण्ड अथवा माधव नेपाल सबैले यी ‘बाँच्छो’ नेताको प्रतिवादमा समय खर्चिनु प¥यो ।
लिङ्देनले सरकार सरकारजस्तो छैन, संसद संसदजस्तो छैन, नेता नेताजस्ता छैनन् भनेर जे बोले यसबाट थाहा हुन्छ, देशमा लोकतन्त्र छ, अपराध बढेको छ । देश भागबण्डामा चलिरहेछ । जनताको अपेक्षा र गुनासो सुन्ने कोही पनि तैयार छैनन् । यसकारण समय छ, जनआन्दोलनपछि जे जस्ता गल्ती भए तिनलाई नसच्याउने हो भने यिनीहरू पतन हुनेछन्, जनताले अरू धेरै दुःख र कष्ट झेल्नुपर्ने छ । समयमै सुधारिने र गल्ती कमजोरी सुधारेर सहमतिको राजनीति गर्ने हो भने देशको भलो हुनेछ । राष्ट्रिय मुद्दाहरू संवोधन हुनेछन् । तवमात्र देशले एउटा निश्चित मार्ग लिनसक्नेछ । अन्यथा अहिलेजस्तै अस्थिरता र अराजकता बढ्दै गएर राष्ट्रिय संकट बढ्नेछ र व्यवस्थापन गर्न सकिनेछैन । सबैलाई यथाशक्ति मानेर अघि बढ्दा नै नेपाल र नेपालीको कल्याण निहित छ भन्ने सत्य बुझौं ।