शाश्वत शर्मा - -
सत्तारूढ गठबन्धनभित्रको शक्तिको खिचातानी जारी छ । प्रमुख प्रतिपक्षी एमाले छिटो चुनाव होस् र चुनाव जितेर सत्ता सञ्चालन गर्ने हामी नै हौं भनेर सन्देश दिइरहेको छ । यही सन्देश दिन गोदावरी भेला र चितवन महाधिवेशन सम्पन्न गरिसकेको छ । यी दुबै भेला र अधिवेशनमा एमालेले जनशक्ति अझै एमालेतिर छ भनेर प्रमाणित गरिदिएको छ । भीड जम्मा भए झैं भोट दिन्छन् कि दिंदैनन् भन्न सकिन्न । तर नेपाली मतदाताको मनस्थिति के छ भने हाम्रो छान्ने हो, राम्रो होइन । यो कुरा पटक पटक प्रमाणित भइसकेको सत्य हो । यसकारण राप्रपाले पनि भीड देखाएको छ, माओवादी, एमाले समाजवादी र नेपाली कांग्रेसले पनि भीड शक्ति देखाउने तैयारीमा जुटेका छन् । नेपाली जनता कहिले पनि चेतेको भने देखिएन । जसले हरेक पल्ट प्रताडित ग¥यो, जनहित र हक लुट्यो, तिनलाई जनप्रतिनिधि बनाइरह्यो ।
भन्नुपर्दा नेपाली राजनीतिक वृत्तमा महाभारत चलिरहेकै छ । राज्यसञ्जालमा राजनीतिकरण गर्दा न्यायालयको महाभारत पनि छताछुल्ल छ । सच्चिन र सच्याउन कोही तैयार छैनन् । सबै आआफ्ना स्वार्थ पूरा गर्न आन्दोलित छन् ।
नेपाली राजनीतिलाई कहिले भारतले, कहिले अमेरिकाले र कहिले चीनले मिलाउने र आफ्ना पक्षमा पार्ने प्रयास गरिरहेका देखिए । यतिबेला एमसिसीका कारणले अमेरिका सम्झाएर, दबाब दिएर र तर्साएर पारित गर्न खोजिरहेको छ । अस्तित्वमा अड्न नसक्ने हाम्रा नेताहरू बिस्तारै गल्दै गएका देखिदैछन् । आउने २८ गते एकै दिन उता एमसिसीको बैठक, यता संसद अधिवेशन बोल्याइएको छ । विश्लेषकहरू भन्छन्– माओवादी केन्द्रको समर्थनमा कांग्रेसले एमसिसी पारित गर्छ । एउटा भयानक विद्रोहलाई जन्मदिनेवाला छ । त्यसै पनि अस्थिर र अराजक नेपालमा ठूलै अराजकता फैलिनेवाला छ । कारण यत्ति हो कि एमसिसीका पक्षमा पार्टी र ठूला नेतामात्र छन् । आम सतहमा कोही पनि एमसिसीका पक्षमा छैनन् ।
एमसिसी संसदमा टेबुल हुनासाथ नेपाली राजनीतिमा ९ रेक्टरको भूकम्प जाने पक्का छ । के हुन्छ, हुनसक्छ कसैले अनुमान गर्न सक्ने अवस्था छैन ।
प्रयोग अनेक भए । २०६३ सालदेखि जे भयो भ्रष्टाचार र अनियमिततामात्र भयो । कुनै पनि प्रधानमन्त्री, मन्त्री अथवा सचिव निष्पक्ष, स्वच्छ र लायक थियो, छ भन्न सकिने अवस्था आएन । स्वयम न्यायालयमा घूस र भ्रष्टाचार यसरी छायो कि एकजना न्यायाधीश पनि स्वच्छ छन् भन्न सकिन्न । कारण स्वयम वरिष्ठ वकिलले खुला अन्तर्वातामा भनेका छन्, हामी घूस खान्छौं, न्यायाधीशलाई घूस ख्वाउँछौं । अर्थात नेपालको शासन, प्रशासन र न्यायालयसमेत सेटिङमा चलिरहेको छ ।
खिचलो, सत्तारूढ ५ दलभित्र व्यापक खिचलो छ । प्रतिपक्षी अथव अन्य ससाना दलहरूभित्र पनि खिचलो छ । आन्तरिक खिचलो, राष्ट्रियनीतिमा खिचलो, राष्ट्रिय मुद्दाहरूमा खिचलो । लोकतान्त्रिक राजनीति खिचलोभन्दा केही रहेन ।
नेपाली राजनीति सर्प, बिच्छी, भ्यागुताजस्तो छ । एउटा अर्कोसँग त्रसित छ । विश्वास कसैको कसैमाथि पनि छैन । कहिले मिलेजस्तो गर्छन्, कहिले फुट्छन् र एकले अर्कोलाई छिर्की लगाउँछन् । मिल्दा अँगालो मारामार गरे पनि नमिल्दा एकले अर्कोलाई खुइल्याउने हदसम्म जान्छन् । यतिबेला माओवादी–एमाले समाजवादी र एमाले बीच एकले अर्कोलाई खुइल्याउने डरलाग्दो राजनीति चलिरहेको छ । राजनीतिमा सभ्यता भन्ने बाँकी रहेन । अत्यन्त दुच्छर स्वभाव ठूला नेताहरूमा व्यापक देखिन्छ । हाम्रो काँधमा लोकतन्त्रको जिम्मेवारी छ, जवाफदेही हुनुपर्छ भन्ने भाव नै नरहेपछि लोकतन्त्र हाटबजारजस्तो देखिन थालेको छ ।
सत्तारूढ हुँदा एमाले असफल भयो । झण्डै दुई तिहाइले पनि काम गर्न सकेनन् । त्यतिबेला कांग्रेस प्रतिपक्षी भूमिकामा असफल भएको हो । जनताले प्रतिपक्षीमा बस्ने मत दिए पनि ५ दलीय गठबन्धन बनाएर कांग्रेस नेतृत्वमा सरकार छ । यो सरकार पनि काम गर्न नसकेर असक्षम बनेको देखिन्छ ।
२०६३ सालपछि २ पल्ट संविधानसभाको निर्वाचन भयो, २०७२ सालमा पुगेर बल्ल संविधान जारी गरे । संविधान जारी हुनासाथ आगो लाग्यो । २०७४ मा चुनाव भयो, सरकार बन्यो । आजसम्म पनि कुनै नेता वा पार्टी सफल देखिएनन् । एकदिन पनि राष्ट्रिय समस्याको पहिचान, जनअपेक्षाको संवोधन हुनसकेन । जनताको र राष्ट्रका समस्याका बारेमा आवाज उठाएको कहिल्यै सुनिएन । आन्तरिक पार्टी र अन्तरपार्टी झगडामा व्यस्त भइरहे । पार्टीहरूलाई लोकतान्त्रिक मर्यादामा बस्नुपर्छ, चल्नुपर्छ भन्नेसम्मको हेक्कासमेत हुनसकेन । यसकारण अभिभावक चाहिन्छ भन्ने आवश्यकताको अनुभव बढेको छ । पार्टीका सम्मेलनमा समेत राष्ट्रको झण्डा बोकेका नागरिकहरू देखिन थालेका छन् । थिति बसाल्न सबैले सोच्ने बेला भयो ।