शाश्वत शर्मा - -
राष्ट्रवादी एक व्यक्ति भन्दै थिए– यदि मुलुकलाई सुरक्षित राख्ने हो भने अब यो संविधानले काम गर्दैन, चुनावको काम छैन । सबै क्षेत्र, तह र तप्कामा भाँडभैलो भइनै सक्यो, यो संविधान निस्प्रभावी भइसक्यो । निजामतीदेखि संवैधानिक कुनै पनि निकाय स्थिर छैन, विचलनमा परेका छन् । जनताले जनपक्षमा जनबल देखाउने हो भने विद्रोहको हम्मर यही बेला हो, प्रहार गर्ने । असफल संविधानअनुसारका कुनै पनि चुनावको अर्थ छैन, अझ अस्थिरता बढाउनु मात्र हो । न्यायालयमासमेत विचलन आइसकेको अवस्थामा, आमनागरिक आजित भइसकेको स्थितिमा आमनागरिकलाई गोलबन्द गर्नसके एउटा गतिलो परिणाम आउन सक्छ ।
अर्काथरि भन्छन्– छठपछि निर्णायक आन्दोलन हुँदैछ भनेका थिए । छठ सकिएको महिना हुनैलाग्दासमेत ती आन्दोलनकारी कता हराए हराए ? अर्थात भाषण र सपना देखाएर मुलुक चलिरहेको छ, चल्नेछ । आफूलाई मुलुकवादी भनेर बताउनेहरू कागजमा योजना बनाउने, खयाली पुलाउ पकाउने अनि गणतन्त्रवादीहरू चाहिं हरेक दिन मुलुकलाई रसातलतिर पु¥याउने । यस्तो रवैया जारी छ ।
जनआन्दोलनकारीहरूले आफ्ना मूललक्ष्य पूरा गर्न सफल भए । विदेशीको धाप पाएर नेपाललाई लुट्ने र नेपालीलाई मूर्ख बनाउन सफल भए । देशभक्तहरूलाई त्यो सुविधा प्राप्त थिएन, उनीहरूसमेत कता रलमलिए, रलमलिए । न त गणतन्त्रवादी भनिएका एकजना सुयोग्य नेता छन्, न प्रतिपक्षी अथवा देशभक्त भनिएका समूहमा कुनै अगुवा । कोठामा योजना बनाएर खिचडी पाक्ने कहिले ? गणतन्त्रवादीको असफलता देखेर देशभक्तहरूको सपना कसरी पूरा हुन्छ र ? देशभक्तहरू त्याग र बलिदान गर्न अग्रसर हुनुप¥यो नि । चिन्ता गर्ने अनि एउटा कुनामा थन्किएर बस्ने । सोम शर्माको सपना भनेको यही हो । यस्तै सपना देखिरहेका छन् देशभक्त हुँ भन्नेहरू । सिंहदरवार कब्जा गरेर बसेकाहरू मुलुक लुट्न र अस्तव्यस्त पार्न अझ जोडबल लगाउँदै देखिन्छन् । एकातिर काग कराउँदै जान्छ, अर्कोतिर पिना सुक्दै जान्छ । यही चालामालाले कसेको केही लाग्नेवाला छैन ।
एकथरि राजतन्त्र भन्न रूचाउनेहरू यस्ता पनि छन् कि अहिलेको घेराबाट राजतन्त्र फर्कदै फर्कदैन । फर्कन सक्दैन भनेर दावी गर्छन् । सत्य हो कि अब यो मुलुकलाई अभिभावकले मात्र सम्हाल्न सक्छन् । कोही अभिभावक बन्न नसकेपछि अभिभावक बन्ने नेपाल निर्माताका सन्तान नै हुन् । तर पूर्वराजालाई यस्तो घेरावन्दीमा पारिएको छ, जुन घेराले चलमलाउन नै दिदैन । नेपालमा पहिले भारत हावी थियो, अहिले अमेरिकी र चिनियाँ पनि मैदानमा छन् । नेपाल शक्तिराष्ट्रहरूको तनावमा परिसकेको छ । सन्तुलन मिलाउन सक्ने ल्याकत र हिम्मत कुनै नेता वा पार्टीमा देखिदैन । जनता यिनै हुन्, भविष्य जेसुकै होस् । पीडा सहेर बस्ने, रमाइलो मानेर रहने । दुईपल्ट संविधानसभाको निर्वाचनमा भाग लिए, संविधान आयो, चुनाव भयो, किन जनताको जीवनस्तर सुध्रिएन, किन पार्टीहरूले बोलेको पूरा गरेनन्, जनता पटक्कै सोध्दैनन् । मुलुक असफल राष्ट्रको हाराहारीमा पुगिसक्यो, किन दुर्गति भयो ? सोध्नुपर्ने जनताले हो । जनता पटक्कै बोल्दैनन् । फेरि पनि चुनाव हुनेछ, चुनावमा सहभागी भएर चुनावलाई भव्यरूपमा सफल पार्ने यिनै जनता हुनेछन् । यो पक्का छ । ताजा उदाहरण भर्खरै सम्पन्न एमालेको चितवन अधिवेशन हेरे हुन्छ । कहाँ छ विवेक, कहाँ छन् जनता । भोलिका दिनमा देखिने दृश्य पनि यस्तै हुनेछ । भ्रष्टाचार गरेका नेताहरूले मासुभात र रक्सीमा सिमित बनाइदिए जनतालाई, कार्यकर्ताहरूलाई । यस्तो दृश्य प्रमाण हो परिवर्तन योभन्दा भिन्न हुनेछैन । जता पैसा, उतै रमाइलो छ जनतालाई । दुई दिन रमाइलो मान्यो, अनि वर्षौंसम्म पछुतायो । अनि दुःख गरेर मुलुकको चिन्ता गरेर आन्दोलनमा को होमिने ? जनता जबसम्म चारोका पछाडि लाग्छन्, लोकतन्त्र यसैगरी असफल भइरहन्छ । नेताहरू नैतिकहीन भइरहन्छन् । जस्ता जनता छन्, तिनले त्यस्तै नेता पाउने हुन् । जुन यतिबेला देखिएका छन् । कुन नेता वा पार्टीले के कति भ्रष्टाचार गरे, राष्ट्रघात गरे, जनमतको सुदुपयोग गरेनन्, जनताले हिसाव राख्ने गरेकै छैनन् । यसकारण त पार्टीका महाधिवेशनहरूमा, नेताका चुनाव क्षेत्रहरूमा जनताको भीड लाग्ने गरेको छ । लोकतन्त्र कसरी आयो ? कति जनता मारिए अथवा के कस्ता राष्ट्रघातहरू भइरहेका छन् । यी सबै घटना लेखेर साध्य छैन । बुझ्नुपर्ने जनताले हो, जनता बुझ्न चाहदैनन् । सक्नेले नेताका पछाडि लाग्ने, नसक्ने खाडीतिर जाने । जो छन्, उनीहरू पार्टीको लूट र देशको दुर्गति हेरेर बस्ने हो । होइन, अस्तित्व रक्षा गर्ने नै हो भने अब चुनाव होइन, विद्रोह गर्नुपर्छ । चुनावबाट त उही भ्रष्टले जित्ने हो । विद्रोह गर्न सक्ने हो भने जनताले जित्नेछन् । एकपल्ट जनताले जित्ने विद्रोह किन नगर्ने ?