Advertisement Banner
Advertisement Banner

२१ बुधबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

पार्टीको स्कूलिङ्मा पढाउनै पर्ने पाठ्यक्रम

०६ सोमबार , मंसिर २०७८५ बर्ष अगाडि

अधिवक्ता गंगा दहाल –
‘मेरो स्वदेश नै मेरो विश्व हो, मेरो विपना हो,
मेरो सत्य हो; एउटै खँंदिलो अस्तित्व हो ।’
‘जति सानो भए पनि आफ्नो मातृभूमि जस्तो ठूलो चीज दुनियाँमा केही हँुदैन ।’
(‘के नेपाल सानो छ ?’ः लक्ष्मी निबन्धसंग्रहबाट)
राजनीति गर्नेले देश बिर्सन थालेका छन् । हरेक नेतालाई आफ्नो भविष्यको चिन्ता देखिन्छ, आफ्ना सन्तान, नातापाताको चिन्ता देखिन्छ । राजनीति सेवाबाट व्यवसाय बनेकैले राजनीतिमा लागेकाहरूले देश मेरो राजनीतिक सीमा हो, देशवासीको म सेवक हुँ भन्ने साझा भावना बिर्सन पुगेका छन् ।
त्यसैले त आज न्यायालय सडकमा पोखिन पुग्यो । न्यायाधीशमात्र होइन, कर्मचारी, वकिलसमेत विचौलिया बनेको तथ्य सार्वजनिक हुनपुग्यो । लोभीपापी भएकै कारण न्यायालयमा, शासन प्रशासनमा थुप्रिएका फोहर सफा गर्ने साझा दायित्व निर्वहन गर्न छाडेर उही सेटिङ्, उही काई परेको संस्कारलाई निरन्तरता दिने कामका लागि आन्दोलन भइरहेको छ, राजनीतिक दलहरू यति ठूलो अराजकतालाई कसरी व्यवस्थित गर्ने भनेर साझा सवालमा बहस गर्न तैयार देखिदैनन् ।
हरेक नेता, अर्को नेतालाई छिर्की लगाएर लडाउन उत्सुक छ । हरेक व्यक्ति आफू प्रतिकूलका लागि पाहा पछारेझैं पछार्न लागिपरेको छ । यो लोकतान्त्रिक संस्कार हुँदै होइन । बशुधैव कुटुम्बकम् हाम्रो संस्कार हो । यो संस्कारविपरितका क्रियाकलापहरू देशमा बढ्दै गएका छन् । सहअस्तित्व स्वीकार्न र सामाजिक बन्धन, लोकलज्जामा बाँधिन कोही पनि तैयार देखिदैनन् । यसकारण त अलिकति पनि लोकतान्त्रिक गरिमा र महिमा बाँकी देखिदैन । पद्धति राम्रो भएर के गर्ने जब विवेक र नैतिकता रहेन भने । नैतिक धरातल खस्कनु भनेको लोकतन्त्र असफल हुँदै जानु हो । लोकतन्त्र चाहिन्छ कि चाहिन्न हरेकले छातीमा हात राखेर सोचौं ।