देवी काफ्ले - -
चाडपर्व नजिकिय संगै सर्बप्रथम बजार नारीका सुन्दरताका सामानले झकिझकाउ हुन्छ ।धातुका पसल उनै नारी सजाउने सामानले झकिझकाउ हुन्छन् ।तिज,दशैं,तिहार जस्ता राष्ट्रिय पर्वहरुमा यदि नारीहरुका श्रृंगारिक सामान नबिक्ने हो भने त ब्यापारीहरु ठहरै हुनेथिए होला । नारी पुरुषमा हामी समानता खोज्छौं तर असमानताको लामो दुरी हामी आफैले बढाउंदै छौं ।
म साउन लाग्नासाथ न्युरोड,असन पुगें । हरिया चुरा,मेहन्दीले बाटोमा पाइला राख्ने ठाउँ थिएन । हाम्रो संस्कार अनुसार परपुरुषको हातबाट मेहेन्दी र चुरा लाउन हुदैन भन्ने मान्यता छ ।तर त्यहा त भारतिय व्यापारी पुरुषहरुसंगबाट तंछाडमछाड गरदै मेहन्दी चुरा लाउनेको घुइंचो थियो । अर्काले भनिदियको भरमा तुरुन्तै बिस्वास गरिहाल्ने र त्यहि अनुसार ती वस्तु भिरिहाल्ने प्रबृतिले नारी कमजोर देखिएका छन् । दशैंको घटस्थापना वरपरकै दिनमा फेरि पुगें गरगहनाका पसलमा ब्यस्त नारीहरु देखें । फेरि तिहारको बेला पुग्दा पनि उस्तै । धनतेरस पूजा गर्न सुनचांदीका गरगहना, भाँडा किन्नेको घुंइचो थियो । एकछिन नियालेर हेरें सबैसंग प्रशस्त धन भयर हैन कि ती सामान किने पछि लक्ष्मी भित्रिन्छिन् भन्ने बिस्वासले ऋण गरि गहना खरिद गरेका पनि थिए । यहाँनेर पनि अलि बहकिएका हुन् कि नारीहरु भन्ने मशसुस गरें र अर्को कुरा नारीहरुको भावनामा व्यापार चलेको पो भेटें मैले । लक्ष्मी भित्र्याउन ऋण खोजेर सिक्री किन्नु भन्दा त्यै पैसा लगानी गरि एउटा ब्यावसाय शुरु गरेको भए त दैनिक लक्ष्मी भित्र आउंथिन नि । यस्तै धेरै बहकिएर काम गर्ने हुनाले होला सायद मानिसहरुले नारीको भावनामा खेल्न सकेको । वास्तवमा नारी सुन्दर देखिन न्यूरोडका गहनाको आवस्यकता छैन । भारतबाट आयातित चुरापोते महिना अनुसार फेर्न पर्ने आवस्यकता पनि छैन । आवस्यकता छ त उनले आफुलाई चिन्न सक्ने क्षमताको । आखिर नारीले के गर्न सक्दैनन् र यस्ता बजारिया प्रशंसाको खोजीमा हिड्छन् ?
सहनशिलता, सम्बन्ध सुदृढीकरण, कामको सफाई, परिवारको जिम्मेवारी र समाजिक काम केमा पछाडि छन् र ?
डाक्टर, पाइलट, राजनितिज्ञ, प्रशासक, आरोही, गायक, शिक्षक, ईन्जिनियर, खेलकुद कुन क्षेत्रमा उनीहरु अब्बल हुन सक्दैनन् ? अझ भनौ भने जहाँ महिला प्रशाशक छन् त्यहा ईमान्दारीसाथ काम भएका छन् र घुस लेनदेन पनि हुदैन । शहनसिलताको कुरा गरेउ भने महिलाले केही मात्रामा मात्रै सहन छोडिन् भने अधिकांश परिवार लथालिङ्ग हुन्छन् । तर पनि उनीहरुको स्थान उहीँ छ जहाबाट निस्कन चाहेर पनि निस्कन सक्दैनन् या निस्कन दिइन्न । हाम्रो समाजमा हाम्रा छोराहरु डाक्टर, ईन्जिनियर छन् भने उनीहरुको अरु पहिचानको जरुरत पर्दैन । तर महिलाको परिचय अलि भिन्न छ ।महिलाको परिचय त केवल सुन्दरतामा खोजिन्छ यहाँ ।फलानोकि छोरी डाक्टर छ भन्यो भने सिधै सोधिन्छ क्षति छे राम्री छे कि नराम्री, सुन्दर छे कि कुरुप छे?फलानाको छोरी नेता, मन्त्री छ कस्तो भद्दा छ,मोटी छ,हेर्दै नराम्री कसरी मन्त्री भै होला ? हरेक नारीको परिचय त्यहि सुन्दरतामा खोजिन्छ न कि उसको क्षमता, आत्मबिश्वासमा ।
फरक परिचयमा आखिर कसले खोज्छ त ? भन्दा अपाच्य होला त्यो सुन्दर रुपमा नारीलाई पुरुषले हेर्न खोज्छ । आहा आज त कति राम्री देखिएकी, हातभरी चुरा, नाककानमा गहना, लरक्क सारीमा बल्लपो सुहायो । कस्तो मिलेको जिउडाल स्वर्गैकी परी जस्ती हेरुँ हेरुँ लाग्दी । अनि मक्ख नारी ।
नारी चाहान्छन् कसैले उनको रुपको प्रशंसा गरिदेओस् । त्यति सुनेपछि उनीहरु अझ कसरी राम हुने तर्फ ध्यान दिन्छन् । त्यहाँ आफ्नो असली परिचय गुमेको होसै पाउँदैनन् । पुरुष जसरी पनि चाहान्छ कि नारी आफूभन्दा कुनै अवस्थामा अगाडि नजाओस् । मन्त्रमुग्ध पारिरहोस् । तर नारीले किन बुझ्दैनन् ?
मलाई गाउँघरका अनपढ नारी भन्दा पढेलेखेका,शहरिया नारीहरु प्रति दया जागेर आउँछ किनभने उनीहरु शिक्षित छन्, दुनिया देखेका छन्, आर्थिक उपार्जनमा अगाडि छन्,हक अधिकारका बिषयमा बोल्न सक्छन् तर आफ्नो परिचयसंग अनभिज्ञ छन् । एउटी अनपढ आमाले छोराछोरी डाक्टर, ईन्जिनियर, पाइलट बनाउन संघर्ष गर्छिन् उनले मुखमा क्रिम लाउन भ्याउदिनन् अनि उनी कुरुप कसरी ? एउटा माथिल्लो तहमा जागिर खाने,जहाज उडाउने,हिमाल आरोहण गर्ने, डाक्टर, ब्यावसायी महिलाले सुन्दरताको लागि बजारी बस्तु खोज्ने कि आफु भित्रको सुन्दर मन, सुन्दर सोंच, क्षमतामा आफ्नो सुन्दरता खोज्ने ?
बजारमा हौवा फैलिन्छ साउनमा हरियो चुराले लोग्नेको आयु बढ्छ अनि नारी छलाङ मार्छिन सुन्दरी बनेर आयु बढाउन । पहेलो सारीले महादेव खुशि हुन्छन् र परिवार सुखि हुन्छ अरे ।यीनै हौवाका पछि लाग्दै आफ्नो भित्री सुन्दरताको अवमुल्यन गर्दै क्रिम,पाउडर,नेलपोलिस,आइस्याडो,लिपिष्टिक खरिद गर्छिन ।उता अर्थको नाश यता आफ्नो परिचय लोप । नारीको सुन्दरताका लागि सारा संसार चिन्तित हुन्छ । गरगहना, पोशाकमा मात्रै उनको सुन्दरता खोजिन्छ । नारी कसरी हुन्छ सजिएर सुन्दरी देखिने कोशिसमा रहन्छिन् तर उनलाई किन वास्तविक सुन्दरतामा सन्तुष्टी छैन ?
शहरका शिक्षित, उच्च ओहदाका नारीहरु पनि बाहिरी सुन्दरताको लागि मरिहत्ते गर्को देख्दा अचम्म लाग्छ । हुन सक्छ उनीहरुलाई पनि मेकअप बिना तिमी रुपसी देखिएकि छैनौ भनेको । वास्तविक सुन्दरताको कसैले बयान नगरेको भएर पनि हुन सक्छ ।
सुन्दरी विशेषण आखिर कहांनेरबाट शुरु गरे ? किन नारीको लागि मात्र यो विशेषण लागू हुन्छ?कोहि पुरुष हेर्नमा सुन्दर नभए पनि केही फरक पर्दैन तर नारी सुन्दरी छैन भने उसको बिबाहमा समेत असर पर्छ । जतिसुकै पढेलेखेकी, ज्ञानी, जिम्मेवार, सहनशिल, जागिरे भए पनि उसको परिचय सोधिन्छ उ सुन्दरी छे कि कुरुप ? हाम्रो शिक्षित र सभ्य समाजले कहिले सम्म बाहिरी सुन्दर नारी खोज्ने हो प्रश्न मात्रै छ जवाफ छैन ।
समाजले जहिलेसम्म खोज्दै छ खोज्दै गरोस् आफ्नो वास्तविक सुन्दरता माथि नारी आफै बिश्वस्त हुन सकेमा समाजले र हामिले यसको जवाफ पाउने छौं ।
नारी तिम्रो निखारिएको सुन्दरता त तिम्रो कोमल मन हो, व्याप्त अथाह प्रेमसागर हो, तिम्रो हौसला हो, शक्ति हो सौन्दर्य प्रशाधनमा आफुलाई नखोज । आफैभित्र खोज त्यहाँ एउटी सुन्दरीको बास छ उसैलाई बाहिर बोलाउ त !
सुन्दरी बन्ने होडबाजीले आज देशको अर्थतन्त्र कति बाहिरिएको छ हिसाब गरौं त!हुनत कसैको ईच्छा बिपरित सौन्दर्य साधनको बिरोध गर्न खोजेको होइन मैले । यही सुन्दरताको परीभाषाले नै नारीलाई त्यहि खाडलमा धकेलीरहेछ जहाँ पुगेपछि उनी आंफैलाई बिर्सीरहेका छन् ।नारी त्यति कुरुप छन् र?जो बजारी बस्तुले रुपसी बनाउनु पर्ने ?
नारीलाई सुन्दरताको परिभाषामा ढाल्न मुख्य भूमिका त पुरुषले नै पो निर्वाह गरेको हुदो रहेछ । आफ्नो श्रीमती कुरुप देख्ने अनि अर्काकी रुपसी देख्ने खोक्रा बयान गरिदिने प्रबृतिले नारीमा संवत्कुण्ठा भरिन्छ । कुण्ठीत मन भयो भने तन पनि कुण्ठीत लाग्न थाल्छ ।भित्र भित्रै पिरोलिंदा मांसपेशी,स्नायु, रक्तसञ्चारमा समेत असर परेको हुन्छ । आफैमा आफुलाई हेर्ने दृष्टिकोण बदलिन्छ अनि संवत्ःझुम्री देखिन्छन् । तर नारीले आफुले आफैलाई नियालेर हेरिन् भने सुन्दरताको खानी भेटाउँंछिन् । सहनशिलता, मायाममता, विशाल हृदय,प्रेमाभाव कसैले बजारबाट किनेर ल्याईदिन सक्छ र ? यति भएपछि नारी पुर्ण रुपसी भैनन् र?
नारी आफैले आंफैलाई हेर जति समय सौन्दर्य प्रशाधन खरिद गर्न समय तिमीलाई बजारमा लाग्छ त्यति समय एकाग्र भयर । जब आफुले आफुलाइ चिन्छ्यौ नि अनि कसैले कुरुप नै भनेछ भने पनि तिमी सुन्दर जवाफ दिने छौ जो सुनेर भोलि अर्की नारीको रुपको नापतौल गर्नै सक्दैन ।