देवी काफ्ले - -
घरसमाजमा बढ्दो महिला हिंसाभन्दा अँध्यारो के हुनसक्छ ? यतिबेला घरसमाजमात्र होइन, मुलुकै अँध्यारोमा छ । राज्यहिंसा उत्तिकै छ । शासकीय हिंसा पनि बढेको छ । कानुनव्यवस्था, समाज व्यवस्था सबै लथालिङ्ग हुनपुगेका छन् । यसकारण पनि हामीलाई उज्यालो चाहिएको छ । दीपावलीको महत्व भनेकै उज्यालो हो । हरेक मन मनमा, शासनमा, न्यायलयमा सबैतिर उज्यालो चाहिएको छ । अँध्यारो धेरै भयो, अब उज्यालोको लागि कामना गरौं, कर्म गरौं, सद्बुद्धि पलाउन् । सभ्य समाजको सिर्जनामा दीपावलीको महत्व यसकारण छ ।
महिला हिंसाका श्रृङखला घट्दो होला भन्दा झन् तिब्र रूपमा बढीरहेका छन् । आजकल दैनन्दिनी रूपमा प्राय बुहारीहरूका आत्महत्या भैरहेका छन् । आत्महत्या किन र के कारणले गरेका छन् ? त्यसतर्फ ध्यान जानू आवश्यक देखिन्छ । साँच्चै आत्महत्या नै गरेका हुन् वा आत्महत्या दुरूत्साहनमा परेका हुन्?या मारिएर आत्महत्याको नाम दिइएको हो छानबिन गम्भीर हुनुपर्छ ।
जब छोरीबुहारी मारिन्छन्, मर्छन् वा यौनहिंसामा पर्छन् तब सडक, प्रहरी कार्यालय वरपर न्याय माग्ने जमातले नारा जुलुस गरेको हुन्छ । हामी घटना घटेपछि मात्र किन जागरूक हुन्छौं?घटना न्युनीकरणतिर किन उन्मुख छैनौं ?
हामी देशको कानून नै फितलो भन्छौं तर मलाई लाग्दैन कि कानून फितलो हो । यहाँ त कार्वान्वयन पक्ष फितलो छ । भिडले निर्दोषलाई पनि दोषि करार गरिदिन्छ यहाँ । छानबिनलाई प्रत्यक्ष असर पार्छ । तर कार्वान्वयन पक्षको कमजोरी यति धेरै छ कि, नातावाद, कृपावाद, दलीय सदस्यता, पेटबिटोका कारण निष्पक्ष न्याय गरेकै छैन ।
फेरि अर्को पक्ष के छ भने,जब हिंसामा चेलीहरू पर्छन् तब परिवारको साथ समाजले भिडमा दिन्छ केही समय पछि पैसामा कारोवार गरि परिवार नै घटना साम्य पार्न चाहान्छ । यसको ज्वलन्त उदाहरण त निर्मला पन्त नै हुन् ।सुष्मिता केसीको परिवार आन पनि अन्याय बिरूद्ध टसको मस नभैकन लडेको छ । छोरीको हत्यारालाई सजायं नदिलाएसम्म आजिवन अनवरत लड्ने प्रण गरेका छन् त्यसैले पनि प्रशासनले उक्त घटनालाई ढिसमिस पार्न सकेको छैन ।जब परिवार नै पैसामा तोलमतोल गर्न थाल्छ त अपराधिक मानसिकताका मान्छेलाई प्रश्रय मिल्छ नै ।
भिडले कहिलेकांही तातैखाम जल्दी मरम जसरी घटनालाई तोडमोड पारिदिन्छ ।चितवनकी सुजिता भण्डारीको केश यसैको उदाहरण थियो ।त्यहा पनि केही अभियन्ताको भिडले हत्यारालाई फाँसी दे भनेर नारा लगायो,छानबिनमा बाधा पार्यो तर मृत्यु प्रकरण फरक थियो । आफ्नो गल्ती ढाक्न नाटक मन्चन गरि मर्नेहरूका कारण मारिएका चेलीमाथि पनि शङ्काको दृष्टि पु¥याउनु पर्ने भयो ।
एक त कोभिडका कारण मानिसहरू आफ्नो मानसिक सन्तुलन गुमाइरहेका छन् । अर्को हाम्रो खानपान, चालचलनलाई अस्वभाविक रूपमा परिवर्तन गराईरहेका छौं । जुन परिवर्तनले हाम्रा छोराछोरीमा पनि गलत प्रबृतिको हालीमुहाली गरिरहेको छ । संयमता भन्ने कसैसंग छैन । रिस, डाहा, ईष्र्या, देखावटीपनले आजका मानिसको दिलोदिमागमा घर गरेको छ । सहनशीलता शून्य छ । हरेक परिस्थितिमा आवेशमा आउने स्वभावको क्रमिक बिकास भैरहेको छ । यसैका कारण पनि हत्या, आत्महत्या बढेको त हैन ? सोचनीय बिषयवस्तु यही हो आज ।अधिकारको दुरपयोग, स्वतन्त्रताको गलत उपयोग, नैतिक शिक्षाको अभावले पनि आज मान्छे अत्यन्त जिद्दी बनेका छन् ।आफ्नो सानो माग पूरा नहुँदा कलिला बालबालिकाले समेत आत्महत्याको बाटो रोजेका कैयौं उदाहरण छन् । यस्ता प्रबृतिको बिकास किन र कसरी भयो फेरि एकपल्ट यसलाई छलफलको बिषय बनाउनु पर्छ ।
आज मानिस पूर्ण परिवारमा रहन चाहँदैनन् । एकल परिवार सबैको रोजाई बनेको छ । कतै एकल परिवारको कारण पनि मानिस स्वार्थको साँघुरो घेरामा परेको त हैन ?
आधुनिक युग बिज्ञानको युग हो ।बिज्ञानका केही पक्षहरूले मानिसलाई एक्लो बनाएको छ । आधुनिक उपकरण प्रयोगमा मान्छे यति धेरै ब्यस्त छ कि परिवारसंग संगै बसेर एउटा शब्द बोल्न फुर्सद छैन, परिवारमा प्रत्येकका हातमा मोबाइल, ट्याव थामिएका छन् । मनोरन्जनका लागि होस् वा कामैले होस् पारिवारिक, आर्थिक, सामाजिक बिषयमा छलफल नै हुदैन । लाग्छ घरमा मान्छे नै छैनन् । अनि दुखसुख,मायाममता के हो नयाँ पिंढी कसरी जानकार हुन्छन् त ? यसैकारण पनि मानिस एक्लिएको छ । हुनसक्छ यसैकारण पनि मानिस डिप्रेसनमा पुगेर मर्न, मार्न, एक्लै टोलाउन तम्सिन्छ कि ? आज महिला मात्रै नभएर बालक, युवा, बृद्धाहरू पनि स्वमृत्यु रोजिरहेका छन् । किन अनमोल जीवन नष्ट गर्न लागेका छन्?किन जीवनबाट वाक्क छन् ?धेरै प्रश्नहरू छन् । मान्छेले आत्महत्याकै बाटो रोजेको भए पनि हामी सिधै कसैलाई अपराधी घोषणा गर्न निमेष समय पर्खन चाहदैनौ ।
आखिर किन मरण र मारणको अवस्थामा मान्छे पुगेको छ ? किन आत्महत्या जस्तो अस्वाभाविक मृत्यु रोजेको छ ? यस्ता अपराधीक कृयाकलापलाई रोक्न के गर्न सकिन्छ ? बहसको बिषय यसलाई बनाउने कि ?
सरकार, प्रहरी प्रशासनको कमी कमजोरीलाई पनि सुधार गर्नै पर्छ ।जनताले छिटो र छरितो न्याय खोजेको हुन्छ ।छानबिन भन्दै केश इतरउतर पार्न तिर लाग्यो भने अपराधी सहजै उम्कन्छ र भिडले मात्रै तोकेको दोषीलाई अपराधी करार दियो भने हुन सक्छ निर्दोषले सजायं पाउंछ त्यसैले प्रहरी प्रशासनको काम चुस्तदुरूस्त होस् समग्रमा अपराधीक घटनाको न्युनिकरण होस् ।हामी पनि बेलैमा सजग बनौं । सकेसम्म अनाहकमा कसैले ज्यान गुमाउन नपरोस । यसपालीको दिपावलीमा माता लक्ष्मीले सबैलाई सद्बुद्धि दिउन् । दीपावलीको मंगलमय शुभकामना ।