Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

बीपीले किन भने– राजतन्त्र र प्रजातन्त्र स“गै लानुपर्छ

१५ सोमबार , कार्तिक २०७८३ बर्ष अगाडि

राजन कार्की - - 
मोहनविक्रम सिंह, मोहनचन्द्र अधिकारी हामीबीच छन्, उनीहरूलाई यो लोकतन्त्रको १५ वर्ष कस्तो लाग्दो हो ?
०१७ सालमा निरङ्कुशता लादेको राजतन्त्रप्रति रामचन्द्र पौडेलहरूको धारणा अझै नकारात्मक छ, तर राजतन्त्र र प्रजातन्त्र सँगै लानुपर्छ, मेरो घाँटी जोडिएको छ भन्ने बीपीका सच्चा अनुयायीहरू अहिलेको लोकतन्त्र र नेताहरूका बारे के सोच्दा हुन् ?
सर्वहारावादी, समानता र अग्रगमनकारी माओवादीप्रति १० वर्ष जनयुद्ध गरेका लडाकाहरूको लोकतन्त्रभन्दा पनि आफ्नै नेताप्रति तिक्त अनुभव हुनुपर्छ । किनकि परिवर्तनलाई कमाण्डरहरूले बेयरर चेक बनाएर साटिरहेका छन्, जो लडाका हुन्, तिनका परिवारजन आँसु पिएर बसेको देखिएको छ । तिनीहरूको मनमा पक्कै हाँसो र खुशी छैन ।
आमनागरिकका लागि त लोकतन्त्र कौवालाई बेल पाकेसरह न हो । उनीहरूको भागमा पीडामात्र छ ।
यही सबे देखेर होला, पूर्वराजाले नेपालजस्तो मुलुकमा राजतन्त्र र प्रजातन्त्र सँगै लैजानुपर्छ भनेर बोल्दा हिजो भाते पाठशालाको भात खाएर पढेका प्रजातन्त्रवादी बाहुन यसरी रिसाए कि उनले प्वाक्क भनिहाले– प्रजातन्त्रमा राजाले ज्ञान दिन थाले ।
नेपाल निर्माण र निर्माताको इतिहास नपढ्ने वा बुझेर पनि बुझ पचाउने यी बाहुनका लागि पद ठूलो हो तर यिनको जीवनमा कहिले यिनले प्रधानमन्त्री बन्न पाउलान् ? शंकै छ । किनकि जो यति धेरै अहं पाल्छ, त्यो व्यक्ति ‘मान्छे’ बन्न मुस्किल हुन्छ ।
यस्तै नेताका कारण युवाहरू विदेशीन बाध्य छन् । अमेरिकामा बिल गेट्स वा नासामा सहकर्मी नेपाली छन् । बेलायतको हाइकमाण्डमा सेना छ, सिंगापुरको बाक्लो ट्राफिक सिस्टम नेपालीले सञ्चालन गरेका छन्, कोरियामा ठूला पानीजहाज नेपालीले निर्माण गर्छन्, अष्ट्रेलियको समाज कल्याण नेपालीको हातमा छ, कतारलगायतका खाडी मुलुकहरू नेपालीले बनाए, उत्तर कोरिया र अमेरिकाका राष्ट्राध्यक्षको वार्तास्थलोको सुरक्षा नेपालीले गरिदिए, बेलायतका राजकुमार गोर्खा छन् भने म आरामले निदाउन सक्छु भनेको सबैले सुनेकै हो तर लोकतन्त्रले होनहार युवाशक्तिलाई निर्यात गरेर सत्ता चलाइरहेका छन्, तिनैमध्येका रामचन्द्र पौडेल भन्छन्– प्रजातन्त्रमा राजाले उपदेश दिने ?
यिनलाई सुगौली सन्धिमा जालझेल गर्ने गजराज मिश्र र चन्द्रशेखरका आधुनिक अवतार भन्दा फरक पर्दैन ।
हो, २०६५ साल जेठ १५ पछि राजा भीष्म बने र विदेशी वाण काँध थापेर स्वदेशी हातहरूले घोपेका वाणको शैयामा सुतेको राजसंस्थाले यतिबेला दिनसक्ने उपदेश नै हो र गर्नसक्ने ‘खबरदारी’ नै । पूर्वराजाले एक इन्ची पनि प्रजातन्त्रका सीमा नाघेका छैनन्, नागरिकको हैसियतमा रहेका छन् र बोलेका छन् । त्यत्ति पनि सहन गर्न नसक्ने डा.बाबुराम र रामचन्द्र पौडेलहरू राजालाई चूपचाप बस्न आदेश दिन्छन् । पहिले देश निकाला गर्छु भन्थे, अहिले तर्साउन खोज्छन् । जबकि यिनीहरू आफै न सिद्धान्त, न नीति, न निष्ठा, न नैतिकताको सीमाभित्र छन् । यी आफै समय नाघेको ओखती नेता हुन्, यिनीहरू आफै प्रजातान्त्रिक जरिबुटीबाट विषबृक्ष बनिसकेका छन्, यिनले नागरिकमाथि बोल्न पाइनन भनेर निरङ्कूशता लाद्ने ? अचम्म छ, नेपालको प्रजातन्त्र ?
जे त पर्ला भनेर यी भीष्मरूपी पूर्वराजा सुम्पिएको नासो फिर्ता लिन यिनका विदेशी वाणको शैयाबाट जुरूक्कै उठिदिए भने आउने कम्पन यिनले थाम्न सक्छन् ? जो आफ्नै चरित्रहीनताको भार थाम्न सकिरहेका छैनन्, तिनीहरू देश र जनताको भारबाट थिचिने किचिने छन् । त्यो भूकम्पको आहट सुनिदैछ ।
जुन वाणको शैयामा राजसंस्था घायल छ, यी नेपाली भीष्मलाई थाहा छ, यो अर्जुनको वाण होइन । १२ बुँदे दिल्ली सम्झौताको वाण हो, इसाइकरणको वाण हो । जसले वाण चलाए, ती नेपाली नेता थिए । नेता कम विदेशीको सातु सामल खाएका शिखण्डी थिए, तिनै शिखण्डी यतिबेला सत्ता र शक्तिमा छन् र राजालाई तर्साइरहेका छन् । यिनको कर्कश आवाज र धम्की यिनको पराइमन्त्र हो । ‘विदेशीले चावी भरेपछि चल्ने पुतली र यिनमा कति नै फरक छ र ?’
यिनमा विवेक थियो भने, आत्मसम्मान थियो भने परिवर्तनको १५ वर्षमा जुटेको देश र जनताको धैर्य यसरी टुट्ने थिएन । ०४६ सालमा पुनस्र्थापित बहुदल र ०६५ सालमा आएको गणतन्त्रले दिएको अनैतिकता र अनियमिततामात्र हो । कुनै पनि क्षेत्र र नेता यस्ता छैनन्, जहाँ भ्रष्टाचार नभएको होस् । संविधान त माइतीघर मण्डलामा रोइरहेको छ, न्यायदिने रामशाहपथमा अदालत नै असरल्ल बनेको छ ।
इतिहास साक्षी छ– सबैभन्दा बढी प्रताडित बीपी कोइराला थिए, नेपाली कांग्रेस थियो । किन बीपी कोइरालाले राजतन्त्र र मेरो घाँटी जोडिएको छ भनेका रहेछन्, त्यो अहिले आएर पुनः पुष्टी हुनपुगेको छ । यति हुँदा पनि प्रजातन्त्रवादीहरूको घैंटोमा घाम लाग्दैन भने यिनमा विवेक छ भनेर कसरी पत्याउने ?
०४६ सालमा भारतीय नेताहरू डीपी त्रिपाठी, हरकिसन सिंह, डा.फारूकी, एमजे अकवर, सुब्रमण्यम स्वामीहरूको लस्कर गणेशमान सिंहको चाक्सीवासीमा आएर राजतन्त्रमात्र होइन, नेपालै सिध्याउने चर्को भाषण समेत गरेका थिए । प्रजातन्त्रवादीले ताली पिटे । अहिले रंजित राय काठमाडौंमा हिट छन् । उनले प्बतजmबलमग म्ष्झिmबस् च्भकभततष्लन क्ष्लमष्ब(ल्भउब ित्ष्भक पुस्तक लेखेछन्, जुन नेपालको स्वाधीताविरोधी छ, बोर्डरमा पर्खाल लगाइनु हुन्न भनेर वकालत गर्छ, त्यस्तो पुस्तक र लेखकलाई सत्तासीन दलका नेताहरूले ठूलै महत्व दिएका छन् । अचम्म छन्, ठूला पार्टी र ठूला नेता गोर्खाभूमिमा उभिएका छन् कि गोरखपुरमा ?
यसबाट पनि प्रमाणित हुन्छ, नेपालमा जुन परिवर्तन भयो, त्यसमा हाम्रा नेताहरूको भूमिका मात्र शिखण्डीको थियो । जसरी रावण मारेपछि विभीषण राजा भए, जसरी वाली मारेपछि किस्किन्धाका राजा वाली भए, नेपालमा राजतन्त्र सिध्याएपछि अग्रगमनकारी भनिएका नेताहरू वादशाह बनेका छन् र दिल्ली, वाशिङ्टन्, बेइजिङ्देखि भेटिकनसम्म छलाङ् मारिरहेका छन् । यसकारण त यिनीहरू प्रजातन्त्रका कुरा गर्छन् र यिनले भनेको प्रजातन्त्र देश र जनताको होइन, यिनको अनुकूलको हुनैपर्छ । अन्यथा यिनीहरू पानीबौलाह चरित्र देखाइहाल्छन् ।
प्रजातन्त्र छ, प्रजामा सन्तोष छैन । संसद, सरकार, शितल निवास, पार्टीहरू महानगरले महिनौंदेखि नउठाएको फोहरका कन्टेनरजस्ता देखिन्छन् । यिनीहरूप्रति जनताको आस्था र आशा मर्दै गएको छ । जनताको निराशाले भन्छ– यिनै नेता शासक भइरहने हो भने यिनलाई जनताको घृणामात्र छ । यी घृणा पात्र हुन् । विदेशीले खोज्ने खेताला हुन्, खेतालालाई चाहिने ज्याला हो । स्वार्थको पछि लाग्ने विवेकहीनहरू भनेका अवसरवादी हुन् । नेपाली शासन व्यवस्थामा अवसरवादीहरूलाइन लागेर अवसर खोजिरहेका छन् । यिनीहरू स्वार्थ पूरा हुन्छ भने आफू, आफ्नो पुस्ता र बिगतको गौरवलाई पनि मार्न तैयार देखिन्छन् ।
सर्वहाराको शासन र समाजवादी नयाँ नेपाल बनाउन त्यति ठूलो नरसंहार मच्चाइयो, धर्म र व्यवस्था फेरियो । भोको पेट, नाङ्गो जीउ, सडकको बास उस्तै छ । रगत चढाएर लोकतन्त्र आयो, कहाँ आयो ? कुन जनतालाई आयो ? छ न त छ नि– वाद छ, तन्त्र छ, नीति छ, संयन्त्र छन् । सुनीति केही देखिदैनन्, कुटिलनीति राष्ट्रव्यापी छ । सबै नीतिमा नेता, नियन्ताको प्राथमिकता आत्मोन्नति, आत्मतृप्ति, आत्मसन्तुष्टि र आत्मकेन्द्रित छन् । आमकेन्द्रित छैनन् । म केन्द्रित छन् । त्यागको टिपु सुल्तान छैनन, स्वार्थका सुल्तानहरू न्यायको घोडा चढेर बुर्कुसी मारिरहेका छन् ।
लोकतन्त्रको प्राण जनविश्वास हो । त्यो जनविश्वास प्राविधिक रूपमा देखिन्छ, वास्तबिक रूपमा यस प्रकारको अनैतिक शासनप्रति छेन । यी मौकापरस्त हुन्, मौका पाइने थाहा हुनसाथ यिनीहरू मौसमअनुसारको ट्यूनिक लगाउँछन् । यो स्वाभिमानी चरित्र होइन ।
‘डेभेलपमेन्ट अफ फ्रिडम’ मा अमत्र्यसेनले लेखेका छन्– गुलाफको फूल भनेपछि फूलमा सुगन्ध हुनैपर्छ । प्रजातन्त्र हो भने प्रजारञ्जन हुनैपथ्र्यो, केही पनि छैन । कागजको गुलाफ र नेपालको प्रजातन्त्र उस्तै उस्तै भयो ।
१८१५ डिसेम्बर २ मा गिर्वाणविक्रमको अधिकार बोकेर गएका गजराज मिश्र र चन्द्रशेखर उपाध्याय बृटिश इण्डियाको शिखण्डी बनेपछि लोकतन्त्रसम्म आइपुग्दा शिखण्डीको भूतले नेपाललाई छाडेन । आज राजनीतिक पार्टी र तिनका नेताहरू गजराज मिश्र र चन्द्र शेखरका नयाँ अवतारजस्तो पो लाग्न थाल्यो ।