स्वयम्भुनाथ कार्की - -
दशैको फूलपातीका दिन पूर्वराजाबाट आएको शुभकामना सन्देश पछि तातेको वातावरण सेलाउन आरम्भ भएको छ । यो वातावरण तातेको राम्रो अनुभूत हुन नपाउँदै अनेक व्याख्या विश्लेषण, तर्क वितर्क भइरहेका छन् । पहिलेका सन्देश पछि आउने उग्रप्रतिक्रिया अपेक्षा गरेको भन्दा विल्कुलै न्यून छ । सन्देशको असर भने गहिरो भएको छ । पहिलेपहिले आउने गरेका उग्रप्रतिक्रियाले विरोधको सामना गर्नु परेको थिएन, परेपनि विरोध एकदमै कमजोर लाग्ने गर्दथ्यो । यो ०७८ सालको दसैको सन्देशको विरोधमा डा.बाबुराम भट्टराई लगायतकाले ‘गणतन्त्र स्वीकार गरेर चुपचाप बस्नु’ भन्दै आएका केही प्रतिक्रियाहरूले समर्थन भन्दा धेरै आलोचना व्यहोनु परेको छ । अझ कतिका प्रतिक्रिया त ध्यान दिन योग्य पनि मानिएन । यो अवस्थाले परिस्थितिको गाम्भिर्यता जनाउँछ । त्यसैले जुन मुखहरू पहिले आर्याघाटमा पु¥याएको भन्थे उनीहरू लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र भन्न थालेका छन् ।
तर राजतन्त्र र लोकतन्त्र एक अर्काका विपरित विल्कुलै हैन । बरू दलहरूलाई जनताको मालिक बन्न रोकेर जनतालाई प्रणालीमा आवद्ध गर्ने लोकतन्त्र त राजतन्त्रमा नै रहेको थियो । त्यसैले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै हो । अनि उन्नत लोकतन्त्रमा लोकहरू अर्थात जनताहरूको प्रत्यक्ष भागिदारी हुनुपर्दछ । यो भागिदारीमा दलहरू विचौलिया या मालिक हैन देश तथा जनताका सेवक हुनु पर्दछ ।
अब नभन्दै मुलुक अर्को परिवर्तनको मनस्थितिमा छ । निर्वाचनमा कुनै पनि उम्मेदवार मन परेन भन्न पाउने अधिकार माग्दै गरेको जनतालाई त्यो दिन डराएको छ शासन प्रणाली । जनप्रतिनिधिले सही काम नगरेमा फिर्ता बोलाउन पाउने प्रत्याह्वानको अधिकार खोज्दै गरेको जनतालाई ५ बर्ष उनीहरूलाई हल्लाउन पाउदैनौ भन्ने संविधान दिएको रहेछ । यो संविधानको व्याख्या गर्ने अधिकार पाएको सर्वोच्च अदालतले गरेको व्याख्या हो । यद्यपि यतिबेला कार्यकारीमा कोटा खोजेको आरोपमा प्रधानन्यायाधीश स्वयम् ठूलो नैतिक संकटमा छन् । न्यायालय ऐतिहासिक विवादमा तानिएको छ ।
हुन त प्रधानन्यायाधीश खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाएपछि नै न्यायालय राजनीतिमा तानिएको हो । अहिले देखिएको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर मात्र समस्या होइनन् । समस्या त राजनीतिक दलहरू पनि हुन्, जसले प्रधानन्यायाधीशलाई कोटा छुट्याए । अदालतमा राजनीतिकरण गर्ने यिनै दलहरू, नेताहरू हुन् । जसले न्यायाधीशलाई राजनीतिको चस्का चुसाए, अनि कार्यपालिका, व्यवस्थापिकाको अधिकारसमेत दिए । यसकारण समस्या वर्तमान प्रधानन्यायाधीशमात्र होइनन्, उनलाइै कोटा दिने, प्रभावित पार्ने ठूला दलका नेताहरू पनि दोषी छन् । मन्त्री पद घूस लिने दोषी हुन्छ भने घूस दिने प्रचण्ड, माधव नेपाल, शेरबहादुर देउवा, डा.बाबुराम र उपेन्द्र यादवमात्र चोखा छन् भन्न सकिन्न । दोष तिनको पनि छ र तिनलाई पनि दण्डित गर्नुपर्छ ।
पूर्वराजाको सन्देशले यस पटक वातावरण बाहिर नताते पनि भित्र लाभा भएको छ । यस्तैमा हिमानी ट्रष्टको चियापान कार्यक्रम सम्पन्न भएको छ । यो कार्यक्रममा कति म छुट्नै नपर्ने हो भन्ने छुटेका छन् । त्यस्तै यी मान्छेहरू पर्नै नपर्ने भन्ने सोचिएका परेका छन् । परिवर्तनकालदेखि दशकौं राजा मूर्दावाद भन्नेहरू यतिबेला सेल्फी खिचाउन थालेको पनि देखियो । तिनमा राजासँग फोटो खिचाउँदा, भेट पाउँदा र भोज खाँदा गौरववोध भएको पनि देखियो । नेपाली मनस्थितिको द्योतक बनेको छ यसपल्टको हिमानी ट्रष्टको चियापान । कतिलाई आपूm नपरेकोमा मन दुखेको हुन सक्छ, त्यसैले राजा गलत तत्वबाट घेरिएर बसेका छन् भन्ने अभिव्यक्ति पनि फाट्टफुट्ट देखिन थालेका छन् । राजालाई अप्राप्य वस्तु बनाउने सोच त्यहाँ नभएको हैन । राजा अप्राप्य वस्तु हैन जनताको निमित्त सहज प्राप्य हुनु पर्दछ भन्ने आवाज पनि उठेको हो । तर सबै गतिविधिमा आफु सामेल हुनु पर्नेमा हुन नपाउनु त्यहाँ भएको घेरावन्दीले काम गर्नु मात्र हैन । बरू आपूmहरू बाहेक अरूले सामेल हुन नपाउनु पर्ने हो भन्ने सोच भने समर्थकहरूको मन भित्र रहेको घेरावन्दी गर्ने दमित इच्छाको प्रष्फुटन हुनसक्छ । अर्थात यो कार्यक्रमलाई घेरा तोड्न खोजेको प्रयासको रूपमा लिनसक्ने प्रशस्त आधार छ ।
राजा सबैका साझा हुन् भन्ने मान्यता छ, केवल समर्थकहरूका मात्र हुने राजा हैन नेता हुन्छन् । त्यसैले राजाले सबै किसिमका जनतासंग भेटघाट गर्नु पर्दछ । आफ्ना कुरा सुनाउनु पर्दछ र विरोध नै गरेका भए पनि उनीहरूका कुरा सुन्नु पर्दछ । त्यसैले अब त्यो क्रम शुरू भएको छनक यो चियापान कार्यक्रमले दिएको छ । अझ यो घेरा तोड्ने प्रयत्न भए आश गर्न सकिने एक शक्तिको पुनःउदय हुन लागेको हो । यो मुलुकको निमित्त शुभसंकेत हुन सक्छ । समर्थकहरूले हरेक कार्यकलापमा, हरेक कार्यक्रमहरूमा आफु छुटेनै नहुने र अमुक पर्नै नहुने भन्ने सोच राख्नु हुँदैन । जसरी राजाले वेलावेलामा जनताको सामुहिक विवेक माथि भरोसा गरेको कुरा गरेका छन् त्यसरी नै समर्थकहरूले पनि राजाको विवेकमा भरोसा गर्नै पर्दछ । तर यसो भन्दै गर्दा जे गरे पनि जिन्दावाद मात्र भन्ने गर्न भने ठिक नहोला । यो त्यो मत अनुसार हुनै पर्दछ भन्ने टेक राखिन हुन्न । विवेक राख्नैपर्छ ।