देवी काफ्ले- - - -
त्यो पो दशैं थियो ।
सखारै भालेको डाँकामा उठेर पंधेरामा पानी लिन गएकी आमा हतार हतार लुथ्रुक्क भिजेको गुन्युको मुजो पोको पार्दै दैला ठेलामा डोको बिसाइन् । भाउजुले आंखा मिच्दै दैलो पोतेर सकेपछि डोको ठिक्क पारिन् । बुहारी तं माटो खन्न जा गोठको धन्ना मै अर्चु । बरू अर्नि के लान्चेस् ?अलिकति खट्टे घिउ मह मोल्दिनु त्यै भय हुन्च भाउजुले पनि इच्छा जाहेर गरिन् । माथि जेठानीदिदी कतिबेला झर्चिन् कुन्नी ? गोमा अनपेले नि कमेरो लिन जानिहो त भन्तिन् । म तल कान्छीलाई बोलाउचु आमा एक्लै त छहराको बाटो डर लाउंच ।
तं र ठुली नानी जाओ न ।एक्ली तैंले मत्रै ल्याको कमेरोले घर धन्सारलाई कां पुउन्च त नि ? आमाले खट्टे पोको पारिदिइन् । सिरानघरबाट डल्ली, गोमा, आपे पनि झरे । तल कान्छी पनि डोको कुममा झुण्ड्याउंदै पटुकाको फेरो लाउंदै जम्मा हुन आइन् ।
फुलबुट्टे चोली नीला पहेंला पटुका,सिंगापुरे लुंगी चौपट्टै राम्रा नि हाम्रा गामका छोरी बुहारी ।
सिस्नपानीका पुछारां रांटे पिङ हालेया छन् अरे त्यैं धेरै बेर नभुले नी केटी हो ।आमाले मायालु तर आदेशात्मक वाक्य छोडिहाल्नु भयो । बाटां हालेका रोंटे,चर्खे,लट्ठे पिङ सप्पै खेलेर आउनी हो कान्छीआं ! डल्लीले यचि भन्दै बुर्कुसी मारेर कुदी ।
मुखाँ आको दसैं एउडा बोको नकाटे ईजेत जाला!घरको त अलि सेनो हुन्च कि? यसपाली त माइलाले नी छुट्टी पाउला नी । नेपाली सेनाको जाइर बर्षदिनको दशैंआं नि छुट्टी नपाउनी यस्तो मोरो नाथे जाइर खार !मलाई त कत्ति नि चित्त बुझ्योछैन । चुलामा दाउरा ठोस्दै बा शीत थनथनाउदै गरेकी आमाको अनुहारमा दशैंको रौनकले खुशिका धर्सा त देखिएकै थियो ।
पारी कान्छो,तल ठूलो बाउ,हाम्रो साइलो डांडाको खुर्पे,त्यारी साइलो मिलेर पिङ हाल्न बुटा काट्न गएचन हन्त?बाले भन्नुभयो । पिङ हालेसी रातभरी निदाउन्नन् केरे केटकेटी आमाको थनथन् ।
रातोमाटो,कमेरोले घर पोत्न शुरू ।आहा सबैका घरमा कमेरो मगमग बसाईराखेको,बारीका कान्लामा बोडी फलेका छन् । जुठेल्ना मुनि मादल जत्रा कांक्रा ।सेल रोटी झ्याइं र झुईं ।आइमाई जति लिपपोत सरसफाईतिर, छोरामान्छेको डिपार्ट पिङ हाल्ने, बोका काट्ने, बाटोघाटो सरसफाई ।
मैले भोगेको आजको दशैंमा भन्दा त्यो बेलाको दशैंमा महिला पुरूष काम बांडफांड गरेर गर्ने भएकाले सबै ब्यस्त हुन्थे र रमाइलो हुन्थ्यो तर आजको दशैंमा महिलाहरू झन् धेरै भटारिनु पर्छ चाड त केवल पुरूषलाई मात्रै हो कि जस्तो देख्न थालेकी छु । दशैंमा त यो बेलाका पुरूषलाई भन्दा उ बेलाका पुरूषलाई धेरै चटारो हुन्थ्यो । आजका पुरूषहरू तास खेल्ने खाने गरेर दशैं मनाइदिन्छन् ।
सेतो कमेरो, रातो माटोले पोतिसकेपछि गाउँ नै उज्यालो हुने ।वर्षा याम सकिएको बेला अलि अलि चिसो,खुला अनि सफा आकाश,फांटभरी झुलेका धानका बाला,बारीका गरामा कुकुनी परेका डल्ले कोदोका बालाले काखैमा राखे जस्तो आहा त्यो सुन्दर गाउँ ।जसको घरमा पुगेपनि आत्मियता उति नै । एउटाको मात्रै हैन गाउँभरिको छोरी बन्न पाइने ।
निधारभरी अक्षता,कपालमा सिउरेका जमराले मानौं करोडौंको खुशी दिने । फुलपाती देखि देवीका मन्दिर,कोटमा बलि शुरू ।जताततै पन्चेबाजा,पन्चवली चढाउन लैजानेको जन्ती ।ओहो त्यो रमाइलो क्षण । अनि पन्चवली दियर आएपछि मासु र रोटी खाने निम्ता !!कसकसकोमा पो जानू नि बाबै ।
बाले ल्याईदिएको स्कुल ड्रेस लगाएर दशैंका नयाँ कपडाको धाक दिने हामी नै थियौं ।
गामभरी टीका थाप्न जांदा दियका आशिरवादले पोल्टै भरिन्थ्यो ।घरमा पनि टीका थाप्न आउनेको घुंईचो हुन्थ्यो । त्यसैले त आमाले तीन पाथी चामलको सेल रोटी घुमाउनुहुन्थ्यो ।कांक्राको अचार,खसिको मासु र सेलरोटी नखाई कोहि जान पाउंदैनथ्यो । हामी पनि टीका थापेपछि पैसा कति हात पर्छ भनेर आंखा जति पैसाकै थालीमा लाउंथ्यौ ।पैसा गन्न र हातमा सेलका बाला लाउन खुब रमाइलो लाग्ने । गामका घरहरू जति टीका लायर सकियो कि नाई भनेर घर गनिन्थ्यो । सकेपछि ढकाल सेन्दाईको घरको आंगनमा एक झट्को पिङ नखेले दशैंको के मज्जा ? तिवारी साईंला दाईको घरको पिङ्,डांडाकी माइजुको आंगनको पिङ,मगर मितबाको आंगनको पिङ् अनि ढांडाको चर्खे पिङ सकेर घरको पिङमा मच्चिन आउँदा रात परिसक्थ्यो ।घरको आंगनमा पिङमा मच्चिने दाईदिदीहरू यति मच्चिन्थे कि पिङ नै फर्किने ओहो आङै सिरिङ्ग हुन्थ्यो ।आधारातसम्म पिङ नछोड्ने हाम्रो दशैं सांच्चै नै अविष्मरणिय रहेको छ ।
तर आजको दशैं हेर्छु कताकता खल्लो लाग्छ । न त टीका थाप्न घरघर गइन्छ न त त्यस्तो टोलभरिका जम्मा होईन्छ । आजको दशैं सांच्चै एकाघरमा सिमित छ । जम्मा भएका परिवारका सदस्यहरू चार दिशा,बाह्र कुना फर्केका हुन्छन् ।हात हातमा मोबाइल छन् ।सबै त्यसैमा ब्यस्त । पिङ पातलिए ।अरू घरमा टीका लाउन जांदा पैसाकै लागि हो कि भन्ने झिनो कुतकुतीले पाइला सर्दैनन् । न त छरछिमेकमा कुनै आत्मियता छ न त छरछिमेकीको खास जमघट नै छ । हेर्दाहेर्दै दशैं बदलियो कि हामी बदलियौं पत्तै छैन ।
जब बाले दशैंका लागि स्कुल ड्रेसका लुगा ल्याईदिनुहुन्थ्यो खुशिको सिमा थियन । आज आफुले किनेका महँगा लुगाले त्यो खुशि पाउन किन सकिन्थ्यो र?जति महंगा लुगा भए पनि, सिंगै खसी ढलाए पनि अहं हिजोको दशैं भेटाउन सकेकै छैन । हिजो न त दशैंको कतै बिरोध थियो न त घृणा नै थियो । सबै जातजातिको साझा चाड थियो आज दशैं केही समुहको लागि मात्रै चाड बनेको हो कि जस्तो लाग्न थालेको छ ।
आशा अझै मेटिएको छैन । दशैं पर्वले हामीमा त्यो खुशि,आत्मियता ल्याउने चाड बन्ने छ । सबैले हर्षोल्लासका साथ मनाउने छन् । दशैं हाम्रो एकताको चाड बन्ने छ ।