राजन कार्की - - -
दिनभरि लोकतन्त्रवादी, रातभरि अलोकतान्त्रिक हुनेहरू कति छन् कति ? भाषण समानता र समन्वयको गर्ने, व्यवहार विभेदपूर्ण र असमान गर्नेहरू नै सत्तामा छन् । दिनभरि वीपी, रातभरि विप्लव हुनेहरूको कमी छैन । रातभरि असल मान्छे र रातभरि राक्षस हुनेहरूको पनि कमी रहेन । पार्टीलाई गुठी बनाएर चलाएपछि हुने क्षतबिक्षत नै हो, क्षति नै हो । यसको मूल कारण गणतन्त्रलाई स्वार्थ, सम्पत्ति, सम्पन्नता र एकाधिकारमा खडा गरेपछि गणतन्त्रमा गण गौण हुनपुग्छ । अलिकति विषले पोखरी विषालु बनाइदिन्छ, एउटी गणिकाले गणतन्त्रको धोती खोलिदिन्छे ।
सर्वहारा सर्वहारा भनेर जीवन बिताउनेहरू सतित्व लुटेर कसरी पतित हुनेरहेछन्, नयाँ नेपाल बनाउने सपनालाई कसरी पिपको पोखरीमा परिणत गर्ने रहेछन्, यसका लागि विश्वामित्रको कठोर तपस्या मेनकाले कसरी भङ्ग गरेकी होलिन् भनेर पुराण पल्टाउन जरूरी रहेन । त्यस्तै दिन बन्यो असोज १३ गतेको रात । एउटी कर्मचारीको सारी तान्दा सभामुखको मुहारमा दुर्योधन देखियो, कम्युनिष्टले चलाएको संघीय गणतन्त्र नेपाल अन्धो बन्दै गएको थियो, धृतराष्ट्रको उदय पो भयो ।
कुनै पनि व्यवसाय, पेशा वा समाजसेवामा धर्म र पापको लक्ष्मणरेखा कोरिएको हुन्छ । ती हुन– सिद्धान्तहीन राजनीति, श्रमविहीन सम्पत्ति, विवेकहीन भोगविलाश, चरित्रििवहीन शिक्षा, नैतिकताविहीन व्यापार, मानवीयता विहीन विज्ञान र त्यागविहीन पूजा ।
नेपाली शासन प्रशासन, कानुन व्यवस्थामा माथिका सातै धर्मको निर्वहन देखिन्न । जे देखिन्छ, त्यो अन्याय, अत्याचार, अमानवीयता, अराजनीति, अनुशासनहीनता, सिद्धान्तविहीनता, चरित्रहीनता, अनैतिकतामात्र देखिन्छ । जब चाहिने कुनै गुण नै छैन भने त्यसलाई कसरी गणतन्त्र मान्ने ? गुलाफ हुन रङ होइन, बासना चाहिन्छ भन्ने सर्वमान्य मान्यता छ, नेपाली गणतन्त्र कागजी गुलाफ हो, जसमा पटक्कै कुनै खालको सुवास छैन । कमल कोइरालाले त्यसै भनेका होइनने– नेपाली कम्युनिष्ट पार्टी कन्दनी पार्टी बन्दैछ ।
बाइबल मान्नेहरूका लागि बाइबलमा लेखिएको छ– मृत्यु नभएसम्म तिमी पसिनाको रोटी खाउ । हाम्रै समाजको लोकोक्ति पनि छ– हर्रो नपाउने जाइफल ध्वाउँदो, जो गर्छ झेला उही पर्छ फेला । नेपाली राजनीतिमा जे भइरहेको छ, ठ्याक्कै यही भइरहेको छ । शेक्सपियरले लेखेकै छन्– कायरहरू मृत्यु हुनुपूर्व धेरैचोटी मर्छन् । ठूला क्रान्ति गरेर आएकाहरूका हातमा सत्ता, शक्ति, प्रभाव त छ तर पटक मरिरहेका छन् । आफूमा भुइँफुट्टा संष्कार विकास गरेपछि मर्ने यसैगरी हो । मनमा संकीर्णयता भरिएपछि आँखामा भौतिकवादी चस्मा लाग्छ, चस्मा जस्तो लगायो उस्तै देखिने हो । देश पहेंलपुर भयो ।
त्यसैले जनयुद्ध र जनआन्दोलनबाट जे जति उपलव्धि हासिल भयो, ती उपलव्धिलाई नेतृत्वले गिलोजति सबै हलुवा हुन्छ भन्ने साँचोमा ढालेका छन् । जुन सर्वथा गलत हो । चुट्किला भन्न सक्यो भने वीरवल भइन्छ भन्ने मानसिकताका कारण टुप्पाबाट पलाएकाहरू अहंकारी हुन्छन् भन्ने चलनचल्तीको मान्यतालाई पुष्टि गरिरहेको छ । मान्छेको महिमा, पदको गरिमा, विश्वासको सम्मान, कर्तव्यको वोध नभएकाले परिवर्तनका पहरमा सूर्य उदाएको त हो, यो सूर्यले न्यानोपन दिन सकेन । यो कथित सूर्य त उदायो, राष्ट्रिय जीवनमा उज्यालो छर्न सकेन ।
यो सूर्यछापेहरू आप्रवासीलाई अंशियार बनाइरहेका छन्, विदेशी ज्वाइँलाई बंशीयार । यो सबै रोगको कारण लोकतन्त्रको अनुष्ठानमा नियम नपु¥याउनाले हो । जे गरे पनि हुन्छ कसले के गर्नसक्छ भन्ने मानसिकता विकास भएको छ, त्यसैले अर्थ नजान्ने अर्थमन्त्री, कूटनीति नजान्ने परराष्ट्रमन्त्री, आठपासे राष्ट्रपति, दशपासे प्रधानमन्त्री, आसेपासे नाताकुटुम्ब सबै सरकारी ज्वाईँसरह लाभका पदमा आसिन हुनपुगेका छन् र तिनले कार्यपालिकालाई मात्र होइन, व्यवस्थापिकालाई समेत सरकारी आदेशमा चल्ने अंङ्ग बनाइदिएका छन् । यसैलाई भनिन्छ, सडल राजनीति । बिधि निर्मातालाई ६ करोड दिएर ठेकेदार बनाउने सोच नै कुशासनको जग हो । बिधि बिग्रिएपछि राष्ट्र लथालिङ्ग हुनु स्वभाविक प्रकृया नै हो ।
२०१५ सालमा बेदानन्द झाले मधेश कांग्रेस पार्टी खोलेका थिए, लोकतन्त्रमा काजीमान कन्दङ्वाले मतवाली पार्टी । हाम्रो यात्रा अग्रगमनतिर छ कि पश्चगमनतिर ?
हाम्रा केही नेता अर्नेस्ट हेमिङ्वे बन्न सक्थे । अनेस्ट तिनै व्यक्ति हुन् जसले एउटा प्रतियोगितामा समय हुन्जेल केही गरेनन् र समय घर्कन लाग्दा रातारात काम गरे । उनी पुरस्कृत भएनन् । उनलाई बाबुले सम्झाए– यो असफलता तिम्रो भावी सफलताको सिँढी हुनसक्छ । यो शिक्षालाई पालना गरेका अर्नेस्टले पछि साहित्यमा नोबेल पुरस्कार पाए । जनयुद्ध र जनआन्दोलनमा सफल भएका नेताहरूले शासन, कानुन व्यवस्था मिलाउन निरन्तर असफल भइरहेका छन् । यो असफलता सफलताको सिँढी हुनसक्छ भनेर तिनलाई सम्झाउने कोही छैन । सर्वेसर्वा तर टुहुरा नेताहरूको भीड छ नेपालमा । स्वार्थका लागि मिल्छन्, स्वार्थका लागि टुट्छन्, फुट्छन् । स्वार्थबाहेक यिनले केही जानेका छैनन् । राजनीति सेवा हो भन्ने यिनको दिमागमा कहिले पनि घुसेन । राजनीति भनेको बेयरर चेक सम्झेका छन्, जसलाई जसरी पनि भजाउन सकिन्छ भन्ने भाइरस यिनको दिमागमा घुसेको छ ।
बेलायतमा एउटा घटना अहिले पनि सम्झना गरिन्छ । तरबारबाजीमा निपुर्ण वाल्टर रेलाई एक युवकले लड्न ललका¥यो । ठिटासँग के लड्नु भनेर रेले अस्वीकार गरिदिए । त्यो युवकले रे लाई थुक्क भनेर अपमानित ग¥यो । वाल्टर रेको जवाफ थियो– तिमीले थुक्यौ, म सजिलै सफा गर्नसक्छु । मेरो तरवार तिम्रो छातीमा घोपीदिएँ भने तिमी सजिलै पुछ्न सक्छौ भने आउ लड्न । म तैयार छु । युवकले टाउको झुकायो र फक्र्यो ।
हाम्रा नेताहरू र त्यो युवक उस्तै लाग्छ । देशको छातीमा बिकृति र बिसंगतिको तरवार घोपिएको छ । त्यसलाई निको पार्ने यी नेताहरूसँग कुनै उपाय छैन । त्यसैले भ्रमका खेती गरिरहेका छन् । आप्नो काविलता देखाउन सकिरहेका छैनन् । अनेक बिबाद र समाजमा गन्दकी फैलाएर त्यसैमा लुटपुटिइरहेका छन् । मानौं, फोहरका किरालाई फोहर नै मनपर्छ ।
जनयुद्ध र जनआन्दोलनको मर्म भनेको बिखण्डनवादीलाई माला, अखण्डवादीलाई बिभेद, निषेध थिएन । आज जो नेपालीत्व र एकता, देशभक्ति र जनसेवाको भुइँमा उभिएकै छैनन्, तिनीहरूका छातीमा नेपाल ताराको तक्मा झुण्डिएको देखिन्छ । यो परिवर्तनको कार्यशैलीमाथिको अहं प्रश्न हो ।
जनयुद्ध र जनआन्दोलनमा कति मरे, कति अस्तव्यस्त छन्, यसको हिसावकिताव कसैलाई मतलव छैन । जुनसुकै प्रकारको युद्ध होस्, युद्ध भनेको राम र रावणकै हुन्छ र नाम पनि यिनैको आउँछ । जनयुद्ध र जनआन्दोलन जित्नेहरू राम बन्न सके कि सकेनन् ? मर्यादा नाघेर रामको नाम बद्नाम गर्नेहरू शासक बनेका छन्, सत्य यही हो र यो सत्य अस्वीकार्य किन भइरहेछ ? समयको प्रश्न छ यिनलाई– नयाँ नेपाल बनाउँछु, समृद्धि र शान्ति दिन्छु भन्नेहरूको नतिजा काँडामात्र हो । काँडाले देश र जनतालाई घोचिरहेछ, घोच्नु र पीडा दिनु खोजेको परिवर्तन हो ?
समाज बिकृति छ, देश बिकृत छ । सुन्दर बनाउने जिम्मा लिएपछि जवाफदेहीता त लिनैपर्छ । ०४६ सालपछि सुन्दर बनेन भनेर ०६३ सालमा अर्को परिवर्तन भएको हो । परिवर्तन भएको १३ वर्षमा नेपाल कति सुन्दर भयो त ?
मूल्यांकन गर्ने राजनीतिक शिल्पको हो । नवरसको स्वाद बन्नुपर्ने पद्धति विषालु विषालु मानिरहेका छन् जनजनले । नेताहरूले खानुपर्छ, कति खाने कसरी खाने । देश र जनताको ज्यानै लिनेगरी खान मिल्छ ? त्यस्तो राजनीति कसरी लोकतन्त्र हुनसक्छ ? सपना स्वर्गको देखाउने काम कृतघ्नको गर्ने, यो राजनीतिक रोडम्याप हो कि गफाडीको गफ ? बिधिको शासन भन्ने अनि अपराधीको गुँड बनाएर असुरक्षा र अराजकताको श्रृंखलाबद्ध डढेलो सल्काउने । पुराणमा एउटा कथा छ, ययाति ऋषि यति सौखिन थिए कि आफ्नो जीवनकालमा गरेका आराम र आनन्द विहारले उनको मन भरिएन । त्यसपछि उनले छोराको बैंक पैंचो लिएर आफूलाई आनन्दको सागरमा तै¥याए ।
हाम्रा ठूलासाना पार्टीका नेता, शासक, प्रशासकहरूले राजतन्त्र, हिन्दुधर्ममात्र फालेनन्, लोकलज्जासमेत मिल्काएर लोकतन्त्रलाई हाटबजार बनाए, जनताको आँसु र रगतको पोखरीमा रजहाँस बनेर रमाइलो गरिरहेका छन् । सिस्नो रोपेर सुन्तला फल्दैन ।
नाङ्गोपन असभ्यता, छाडापन र बिकृत मानसिकता हो । नेपाली राजनीति सन्नी लिओनीको नग्नतालाई लोकतन्त्रको सुन्दरता भनेर जनताको आँखामा अझै भ्रम छरिरहेछ । निर्वाचित नामधारी, लोकतन्त्रनामधारी, यस्ता नीरोहरूलाई जनताले कतिदिन पत्याउने ?
भारतमै ख्याति कमाएका खड्गबहादुर
सन १९२६ मा डोटीका खड्गबहादुर सिंह बिष्ट कलकत्तामा एलएलवी बढ्दै थिए । एकदिन कलेज जाँदा अग्लो घरको झ्यालबाट फालिएको एउटा कागजको चिर्कटो उनका अगाडि झ्¥यो । बिष्टले त्यसलाई खोले, लेखिएको थियो– मेरो नाम मायाँदेवी राजकुमारी मैयाँ हो, मेरा घरमालिक हीरालाल अग्रवालले मलाई धेरैपल्ट बलात्कार गरे, मलाई बचाउनुप¥यो । बिष्टले प्रहरी गुहारे, घूस खाएर प्रहरीले वास्ता गरेन । सातौं दिन विष्ट हीरालालको घरमा गएर उनलाई काटिदिए । मुद्दा चल्यो, अदालतमा विष्टले बयान दिए– महिलाको इज्जत बचाउनु मेरो धर्म हो, मैले काटेको हुँ । यस मामिलामा अंग्रेज शासकका श्रीमतीहरूले समेत बिष्टको साथ दिएका थिए, उनको सजाय कम भयो र यो मामिलाबारे राजकुमारी मैयाँ विशेषाङ्कसमेत कलकत्ताबाट प्रकाशित भएको थियो ।
आज खड्गबहादुर बिष्टहरू देशमा छैनन् । स्वाधीनता मरेको छ राजनीतिमा । राजनीति बाइफाला भएपछि प्रशासन पनि बिग्रने रहेछ ।
कति पवित्र नाम छ बागमती । बागमतीको किनारमा जानेलाई थाहा हुन्छ, बागमती कति गनाउँछ ? कति फोहर बग्छ बागमतीमा । यो बागमती फोहर भएको होइन, राजनीति फोहरी भएको हो । राजनीति गनाएको हो । राजनीति कुहिएको हो । अझै नेताहरू भन्छन्, उनीहरू पवित्र छन् । नेपाली चेलीहरू कंगोसम्म पुगेर इज्जत बेचिरहेका छन् । जे छ त्यही बेच्ने हो भन्दै योनकर्मी महिलाहरू देशैभरि, विदेशैभरि पुगेका छ्न । लोकतन्त्रले देशको शान्ति र सम्बद्र्धन ग¥यो कि गुमायो ? लोकतन्त्र लयमय कि भयमय भयो ?