दार्जिलिङका होनहार सशक्त नेता बिमल गुरुङका साथमा सम्झना र सम्मानका लागि खिचेको थिएँ यो फोटो । यो फोटोले सम्झना ताजा भइरहन्छ ।
देशभक्ति के हो ? मलाई बिमल गुरुङको यो फोटोले चिमोटिरहन्छ ।
मैत्रीपूर्ण भेटवार्ता । आपसी हितका विषयमा कुराकानी भइसकेपछि उहाँले नेपालको अवस्थाबारे बोल्दै भन्नुभयो– नेपालको मुकुट खोसिएकोले विश्वमा नेपालीको विश्वास र प्रभाव गिर्दो छ । मुकुटबिना नेपालका नेताले केही गर्न नसक्ने रहेछन् भन्ने देखियो । मुकुटको छत्रछायाँमा नेपालले शीर उँचो बनाउन सक्छ ।...
२०६३ साल वैशाख ११ गतेको संसद पुनस्र्थापनादेखि २०६५ साल जेठ १५ गते गणतन्त्र कार्यान्वयनसम्मका घटनाक्रमलाई विश्वले नै नियाल्यो । प्रचण्ड र प्रजातन्त्रवादी नेताहरु विश्व समाचार बनिरहे । त्यसपछिका १४ वर्ष अर्थात अहिलेसम्मका ती अग्रगमनकारी नेताहरुको पश्चगमनकारी क्रियाकलापले उनीहरुको अक्षमता, सत्तालोलुपता र भ्रष्टीकरण चरित्रले मित्र बिमल गुरुङले जे प्रतिक्रिया व्यक्त गर्नुभएको थियो, हामी त्यही बिन्दुमा आइपुगेका छौं । ‘मुकुटबिना नेपालका नेताले केही गर्न नसक्ने रहेछन्...’ प्रमाणित नै भयो । मुकुट चरित्र र इमान पनि हो ।
मैले देखे भोगेको राजनीतिक परिदृश्य–
नेपालको राजनीतिक परिदृश्य जे छ, त्यो कहालीलाग्दो देखिन्छ । पारदर्शिता कहीँ पनि छैन । जता हेरे पनि जालझेल र अनैतिक, अनियमिततामात्र देखिन्छ । अहिलेको राजनीतिक र संवैधानिक राज्यव्यवस्थामा भ्रष्टाचारको सवालमा पक्ष र विपक्ष देखिँदैन÷देखिएको छैन, बाँडफाँडमा नै व्यस्त छन् सबै । यही हो सुशासन ?
अवसर तथा लाभलाई बिक्री गर्ने काम जिम्मेवारपक्षबाट भइरहेको छ । राज्यका हरेक अंगलाई दोहन गर्ने, राज्यका स्रोत साधन र जनताको भावनालाई दोहन गरेर व्यक्तिगत प्रगति, पारिवारिक समृद्धिमा मात्र केन्द्रित भइरहेको छर्लङ्ग छ । तर पनि, नेताहरू स्वच्छ भएको स्वाङ्ग पारिरहेका छन्।
नेताहरु मिलेर नेताहरुकै लागि नेताहरुले सँगसँगै भ्रष्टाचार गर्ने व्यवस्थालाई नै संघीय लोकतान्त्रिक ब्यवस्था नामाकरण गरिएको रहेछ जस्तो भान हुन्छ । यो ब्यवस्थामा न नेपाली माटोको सुगन्ध छ, न त नेपाली जनताको भावनाको प्रतिनिधित्व नै । उच्चतम आचरणमा चलाउनुपर्ने लोकतन्त्रको यति गम्भीर अपमान । – प्रेमसागर पौडेल