शाश्वत शर्मा - -
लोकतन्त्र भागशान्ति जय नेपाल पो बनाए नेताहरुले । सबैले भाग खोज्न थाले, गुणको बदला गुण भन्न थाले । यही कडीमा गजेन्द्र हमाल, जो गैरसांसद हुन्, चर्चित नेतासमेत होइनन्, तिनले मन्त्रिमण्डलमा ‘परमादेश’को गुण तिर्दा मन्त्रीपद पड्काए । अब यही पद्धति बस्दा भोलि अन्य संस्थाहरुले पनि भाग खोजे भने यो देशको हालत के होला ? बाघले मान्छेको रगत चाखिसकेपछि अरु जनावरतिर आँखा नै लगाउँदैन । यस्तो चरित्रले लोकतन्त्रको सुदूरभविष्य के
होला ? देशकै भविष्य कता जाला ? देशभक्तहरु चिन्ता गर्न थालेका छन् ।
प्रचण्ड, देउवा, माधव नेपालहरु आफै विवादमा छन् र पनि गजेन्द्र हमाल पुराना कांग्रेसी भएकाले मन्त्री बनाइएको प्रष्टिकरण दिंदै हिडेका छन् । आमधारणा छ, यो गुणको बदला गुण तिरेकै हो । अर्थात पूर्व ओली सरकारलाई बिस्थापन गरेर देउवाको सरकार, त्यो पनि मिति तोकेरै परमादेश दिएकाले र विद्युत प्राधिकरणका कार्यकारीमा कुलमान घिसिङ्को मुद्दामा सत्ताले चाहेअनुसारको आदेश गरेकाले गजेन्द्र कोटामा परेको मानिदैछ । यसरी सडककालाई सत्तामा पु¥याउन लोकतन्त्रलाई मजाक बनाउँदै जाने हो भने जनादेशको मूल्य नै के बाँकी रहला र ? मुलुक अन्धकारमा जाकिने निश्चित छ । हिजो पञ्चायतलाई तानाशाही भनियो, बहुदल कालरात्रि भइहाल्यो, पूर्व ओली सरकारलाई प्रतिगामी भनियो, अहिलेको पाँचदलीय मोर्चा सरकारचाहिं कसरी अग्रगमनकारी, लोकतान्त्रिक भयो त ?
चुनाव हुन्छ, लोकतन्त्र भनिन्छ, संसद पनि छ, संविधान र संवैधानिक निकायहरु पनि छन् । प्रशासन पनि छ । तर छैन त नैतिक आचरण छैन । सरकार बनाउन र ढाल्न कहिले कुन निकाय अघि सर्छ, कहिले कुन ? कहिले जनप्रतिनिधि, कहिले न्यायालय प्रमुख त कहिले परमादेशले प्रधानमन्त्री बनाउने गर्छ । सिद्धान्त मिलोस् कि नमिलोस्, स्वार्थ मिल्यो भने माओवादी कांग्रेससँग, कांग्रेस एमालेसँग, मधेशका दल जोसँग पनि मिल्छन् र स्वार्थमा धक्का लाग्यो कि मारामार गर्छन् । अक्षम दल, नेताका कारणले लोकतन्त्र गाईजात्रे तमासा बनेको छ ।
दुईपल्ट संविधानसभाको निर्वाचन गरेर र ८ वर्ष लगाएर जारी हुन नसकेको संविधान फास्ट ट्य्राकबाट जारी गरियो । जारी गरिनासाथ सुरु भएको विरोध, हरेक संविधान दिवसमा संविधानलाई आगो लगाउने काम भइरहेकै छ । अहिले स्वार्थ पूर्ति गर्न अध्यादेश ल्याइयो, पूर्ति हुनासाथ फिर्ता लिइयो र ताजा उदाहरण गजेन्द्र हमालमार्फत जुन अभ्यास गरियो, त्यो एकदमै खतरनाक र हानिकारक छ । आज कांग्रेसको कलेवरमा हमाल उद्योगमन्त्री बने, भोलि सरकार मातहतको अर्को कुनै शक्ति अघिस¥यो भने के होला, नहोला ? गलत अभ्यास गरेर मुलुकलाई भड्खालोमा हाले वर्तमान नेतृत्वले पंक्तिले ।
जनता दसैं मान्न आतूर छन् । ऋण खोजेरै भए पनि मीठो मसिनो खाने, राम्रो लगाउने धूनमा छन् । अस्ती अस्तीसम्म चनाखो रहेका नेपाली दसैंमा भुलेका देखिन्छन् । सत्ताधारीहरुले जेसुकै गरुन्, यिनलाई मतलव छैन । संसद सदस्य नै नभएको व्यक्ति वा पार्टीमा निस्कृय व्यक्ति, अझ कतिले त बिर्सिसकेका व्यक्ति अमूक शक्तिमा बसेकाको जेठान भएकै कारण उद्योग मन्त्री बन्छ भने सक्रिय कांग्रेसी नेता, कार्यकर्ताहरु कस्ता रहेछन् ? पार्टीका सभापति, देशका प्रधानमन्त्रीले जे गर्दा पनि चूप बस्ने कसरी प्रजातान्त्रिक कार्यकर्ता हुनसक्छन् ? एउटा शेखर कोइरालाले यो गलत भयो भनेर के हुन्छ, कता छन् क्याडरबेस कार्यकर्ताहरु ? देउवाको कोपभाजनमा परिएला, आफूले कतै नियुक्ती नपाइएला भनेर चूप लाग्ने पनि प्रजातान्त्रिक हुन्छन् ? कांग्रेस पार्टीका लागि काम गर्ने, खट्नेहरु गजेन्द्र हमाललाई सहन्छन्, स्वीकार्छन्, असंवैधानिक कर्म मान्छन् भने यिनले कांग्रेसलाई चरित्रवान पार्टी बनाउन मद्दत गरिरहेका छन् कि कांग्रेस सिध्याउन ? कस्तो मुलुक, कस्ता नेता, कस्ता सरकार प्रमुख, कस्ता होनहार युवा कार्यकर्ताहरु ?
कति अनौठा जनता ? जे पनि सहन्छन् । आफ्नो मतको दुरुपयोग सहने पनि जनता हुन्छन् र ? गणतन्त्र, लोकतन्त्रका नाममा मनलागीतन्त्र चलाए पनि चूप लाग्ने ? सबैलाई थाहा छ, गजेन्द्र हमाल कसको भागको कोटामा मन्त्री भए ? कोटा सिस्टम चलाउनेहरु भन्छन्– यो लोकतन्त्र हो । संविधानको कार्यान्वयन भइरहेको छ । काशी काश्मिर अजव नेपाल भनेको यही हो ।
अब त जनता उठ । आफ्नो मतको इज्जत खोज । यो भाँडतन्त्र हो । यो माफियातन्त्र भो । यस्ता अनैतिक क्रियाकलापलाई रोक्न अझै जनता नउठ्ने ? यी त फाइदा हुन्छ भने मुलुकनै सिध्याउन पनि अघि सर्छन् ।
जनता सार्वभौम, स्वाधीन नागरिक हुन् भने अब उठ्नुपर्छ ।