Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

कृष्णलालको मकैको खेती पढ्ने समय यही हो

१८ सोमबार , आश्विन २०७८३ बर्ष अगाडि

राजन कार्की - - - -
युक्लिड ः महान् गणितज्ञ हुन् । युक्लिड एक दिन साध्य पढाउँदै थिए, एकजना होनहार विद्यार्थीले प्रश्न ग¥यो– गणित र साध्यबीच के सम्बन्ध छ ? साध्य पढेर के लाभ हुन्छ ?
युक्लिडले त्यो विद्यार्थीलाई पैसा दिए र भने– जो शिक्षामा कम, धन कमाउनमा बढी चासो राख्छ, उसले पढ्नु बेकार छ । तिमी घर जाउ ।
यो सुनेर शिष्यको आँखा खुल्यो र उसले गुरूको चरण पक्रेर माफी माग्यो ।
लोकतन्त्रका गुरू जनता हुन् । जनताले अब सिकाउनु प¥यो– जनमत, जनबल लिएका नेताहरू खाली पैसा र सुखमात्र खोजिरहेका छन् भने तिनले राजनीति गर्नु बेकार छ । राजनीतिलाई व्यापार व्यवसाय बनाउनेहरूलाई सर्वसाधारणले युक्लिड बनेर घोक्रेठ्याक लगाउने हिम्मत गर्नुपर्छ । चाणक्यले राजनीतिलाई उत्तम समाजसेवा भनेका छन्, लोकनायकको मुखुण्डाधारीहरूले राजनीतिलाई गैंडा मार्ने खाग व्यापार बनाइदिए ।
जी एस गिद्वानीले टिपु सुल्तान उपन्यास लेखेर गद्दार भनेको कति बिषालु हुन्छ, गद्दार विषले न मानवतालाई बाँकी राख्छ, न देशभक्तिलाई भनेर उल्लेख गरेका छन् । जसरी तत्कालीन मैसुर साम्राज्य हात पार्न अंग्रेजहरूले हैदर अलीजस्ता गद्धार तैयार पारेर प्रयोग गरेको थियो, १९७५ मा सिक्किम हजम गर्न भारतले लेण्डुपेहरूलाई उक्साएर उपयोग गरेको थियो, नेपालमा विदेशीहरूले गद्धार तैयार गरेर देशभक्त र देशभक्ति, राष्ट्रियता र राष्ट्रिय एकतालाई षडयन्त्रको भुमरीमा पारिदिएका छन् । टिपु सुल्तान बहादुर थिए तर गद्दारका कारण सफाया हुनुप¥यो । दरवार हत्याकाण्ड गरेर गणतन्त्र ल्याउने र चलाउन नसक्नेहरूको कालखण्डमा गद्दारहरूको जगजगी लीला जारी छ ।
संसद र सत्तामा नैतिक अडान र जनताप्रति जवाफदेही बन्न नसकेका विषालु सर्पहरू छन्, जो नैतिकता डसेर अनैतिकताको आतङ्क मच्चाउँछन् । सर्वसाधाणलाई दिग्भ्रमित पारेर जब्बर राष्ट्रियताको जग हल्लाउने दुस्साहस गरी रहेछन् ।
नेपाली जनसमुदाय सेक्सपियरको नाटकका सिजर हुन्, जसलाई धोखेवाज ब्रुटस बनेका नेताहरूले भ्रमित पारेर भोट लिइरहेछन्, सत्तामा बसेर काखमा राखी राखी जनहितको कत्लेआम गरिरहेका छन् । गद्दारहरूको जगजगी छ, नागरिक उकुसमुकुस हुटहुटीमा छन्, छटपटी फैलिएको छ । शासन कुशासन्, शासक दुस्शासन बनेर देश र निर्मला पन्तजस्ता अनेक अबोध बालिकालाई बलात्कार गरिरहेका छन् ।
१९०३ मा कोतपर्व गरेर जङ्गेको उदय भएको थियो, जसलाई फाल्न २००७ सालसम्मको १०४ वर्ष लाग्यो । हिन्दुराष्ट्र र राजतन्त्र सफाया गरेर २०७२ सालमा फास्ट ट्य्राकबाट घोषणा गरिएको संविधानले अर्को जङ्गे जन्मायो । त्यो इतिहासको जङ्गेभन्दा यो वर्तमानको अजङ्गे झन डरलाग्दो छ । बढी भयभित पार्ने खालको छ ।
मान्छे काटेको कोतपर्वभन्दा डरलाग्दो थियो मान्छे गिडेको झापा विद्रोह । त्योभन्दा धेरै गुणा बढी त्रासदीपूर्ण हो जनयुद्ध । १७ हजारको बली चढाएर आएको लोकतन्त्र झुल्के घामजसरी मुस्कुराउनुपर्ने थियो, जय जयकारको आरतीगान सुनिनुपर्ने हो । लोकतन्त्र, गणतन्त्र र संविधान दिवस सेना र प्रहरीले घेरा हालेर बचाउनु, मनाउनुपर्ने अबस्थामा पुगिसक्यो । परिवर्तन पूर्णे भनेको औंशी आएछ । कालोरातले तर्साउन थाल्यो ।
अहिले जगजगी तस्करको छ, माफियाको छ, शासन र समाज विरोधीको छ । ३८ क्विण्टल सुन भित्रिने एयरपोर्टमा वैदेशिक रोजगारीबाट फर्केकाले बुढा आमाबाउलाई, केटाकेटीलाई ल्याएको एकथान मोवाइल, चकलेटमा समेत रोक लगाइन्छ । लोकको साना साना खुशी लुट्न हुन्छ कि हुन्न लोकतन्त्रले ? ३३ किलो सुन डकारेर ज्यानमारालाई जेलबाट सिधै संसदको सभासद् बनाउने, ज्यानमारालाई निर्वाचन आयोगमा उभ्याउने, सांसदको शपथ खुवाउने पद्धति लोकतन्त्र हो कि जोकतन्त्र ?
प्रधानमन्त्रीको सरकारी निवासमा वंशावलीको दोहोरी चल्यो, पार्टी कार्यालयका बैठक चलिरहेका छन्, राष्ट्रपति निवासमा तीजको उच्छृङ्खल नाचगान पनि देखियो । नागरिक भोको पेटले आफ्नै नेताको सानसौकतको प्रदर्शन हेरेर कहिले रून्चे हाँसो हाँस्छ, कहिले भक्कानिएर रून्छ । लोकमाथि कति भयानक अत्याचार हो यो ?
सत्ताले, कानुनले अपराध, अत्याचार लुकारहेको छ । यो सबै देखेका बोल्नसक्ने कोही मौन छन्, आम नागरिक बोल्छन्– नेपालको कानुन, पार्टी नेताहरू नै जानुन् ।
देशका शासकहरू, ठेकेदारको कोठामा मार्सी चामलको मेजमानी खान जान्छन् । न्याय चाहियो भन्नेहरूमाथि पार्टीका अरिङ्गाल जाइलाग्छन् । सबैले देखेको सत्य भनेको – संसद, मन्त्रिमण्डल भ्रष्टहरूको क्लव हो । पार्टीहरू जनबिरोधीहरू लुक्ने गुँड हो । कम्युनिष्ट धर्म मान्छन्, छठ पूजा गर्छन्, शिवरात्रि मनाउँछन्, मच्छेन्द्रनाथको जात्रामा पनि पुग्छन्, पशुपति दर्शन पनि गर्छन्, ११ किलो सुन हिनामिना गरेर पशुपतिनाथमा जलारी पनि चढाउँछ । र, इसाईको होलीवाइनको आचमन गरेर वाइबललाई पवित्र ठान्छन् । अग्रगमनको यो कुन चरण हो, अबशरवादको यो कुन स्वाङ हो ? यस्ता नेताहरूको कर्मकाण्डी भनाइमा हामी धर्मनिरपेक्षता बोकिरहेका छौं ।
अचम्म, पूर्वीय संस्कृति भएको नेपालमा भ्यालेन्टाइन डेका लागि भारतबाट ५ करोडको गुलाफ आयात हुँदो रहेछ । तिहार र दशैंमा १५ करोडको कलकत्ते फूल आउने  रहेछ । तिज भनेको सुन ढल्काउने र सारी टल्काएर भड्किलो नाच देखाउने नाइट क्लवको नाचजस्तो भयो । हिन्दुराष्ट्र धर्मनिरपेक्ष भएकाले अब कण्डम दिवस मनाउने रे ! लोकतन्त्र बिछट्टै पश्चिमाकरण भएर गयो । यस्तै हो भने धर्म, संस्कृति र संस्कारको बिनासलीला यही पुस्ताले देखिरहेका छ । भावी पुस्तालाई सुम्पने संस्कार यही हो ? 
२०७७ सालमा तथ्याङ्क सार्वजनिक भयो, नेपालमा ६५.५ प्रतिशत नागरिक किसान रहेछन् । कृषिप्रधान देशमा मासिक ७ सय करोडको चामलदेखि कोदोसम्म, सब्जीदेखि मकैसम्म आयात हुन्छ, निर्यात जम्मा ११ करोडको कृषिजन्य उत्पादन । गतवर्ष चीनबाट २५ करोडको गुन्द्रुक, कोरियाबाट ५ करोडको छाङ् आयात भयो । लोकतन्त्रले कृषि र उद्यमलाई कुन प्राथमिकता दियो, सरकारकै तथ्य र तथ्याङ्क आफै बोल्छ ।
कम्युनिष्टहरू हरेक वर्ष फागुन १ गते ‘जनआन्दोलन र जनयुद्धका शहीदहरूप्रति श्रद्धाञ्जली’ कार्यक्रम राखेर रातो दिवस मनाउँछन् । अनाहकमा मार्ने यिनै, तिनलाई शहीद भनेर क्रान्तिकारी पूजा गर्ने पनि यिनै । क्रान्ति किन गरियो, प्राप्ति के भयो ? प्रष्ट पार्न नसक्ने पनि यिनै । यी कस्ता क्रान्तिकारी हुन्, जो विदेशीलाई काँधमा राखेर स्वदेशी पीडितलाई सपना बाँड्छन् । योभन्दा भययुक्त लोक नामको शासन के हुन्छ ?
नाङ्गै नुहाएर कट्टु लगाउने बेलामा रूमालले बेरे झैं वीपी जयन्ती मनाउने नेपाली कांग्रेसमा वीपीको नीति भनेको हिङ् बाँधेको टालोमात्र बाँकी छ । जय राष्ट्रवाद भन्ने राप्रपासँग मुखमा राजतन्त्र र हिन्दुराष्ट्र छ, व्यवहारमा धर्मनिरपेक्ष गणतान्त्रिक संविधानप्रति निष्ठा देखिन्छ । राजतन्त्र र हिन्दुराष्ट्र भन्नेहरूको मौखिक मन्त्रजप कर्मकाण्डी मात्र हो भनेर किन नभन्ने ? अरू पार्टीको हालत पनि स्वार्थन्धतामा डुबेको छ ।
हातमा शक्ति भएका बेलामा जम्मुमन्त्री बन्ने र सडकमा खगारिएर चिसो लागेपछि जिम्मुपानी खानेहरूको चालामाला बाँचुन्जेल पितृ नहेर्ने, मरेपछि पिण्ड लडाउने जस्तै हो । अझ तीतो शब्दमा भन्ने हो भने बाघको मुखबाट भुसुना धपाउँछु भनेर स्यालले तरवार चलाएजस्तो गरिरहेछन् । बुद्धि हुनेले बेलैमा नीतिमा उभिन्छन्, नीति त्याग्दैनन् ।
इतिहाससिद्ध उदाहरण हो– हिक्मत राखेर लड्नेका खुट्टामा विजय हुन्छ ।
जुलियस सिजरले भनेका थिए– हामीले डराउने भयसँग मात्र हो । सर्वसाधारण अहिले पनि नेताकै हिंसात्मक भयका कारण मुटु ढक्क फुलाएर बाँचेका छन् । 
सत्य निरूपण तथा मेलमिलाप आयोगमा ६३ हजार ७ सय १८ र बेपत्ता आयोगमा ३ हजार २ सय २३ उजुरी परेको ५ वर्ष भइसक्यो । यी दुवै आयोग कामै गर्दैनन्, कारण उजुरीकर्ताबाट क्षमादान दिलाउने र राज्यकोषबाट पीडितलाई क्षतिपूर्ति दिने प्रस्तावमा राजनीतिक सहमतिको प्रयास गरिरहेका छन्– पीडकहरू, शासकहरू । कानुनी राज्य नारा हो, पीडकले दण्ड र पीडितले न्याय पाउने कुरा भाषणमात्र हुन् त ? हाम्रा धोती फुस्केका थिङ्क टेङ्क र दिमाग खुस्केका बुद्धिजीवीहरू आकाशतिर हेरिरहेका छन् ।
परिवर्तित शासन सत्ता अन्धकार हो, किन बुझ्दैनौं ? पातक र घातक छरपस्ट देखिन्छ, धर्म ढुङ्गाको देवदेवीमा रोइरहेको छ, हामी भाङ् खाएझैं लठ्ठिरहेका छौं ।
समयले असन्तुष्टिलाई आक्रोशमा बदल्छ, जनआन्दोलन हुनु थियो भयो । आन्दोलनले अनेक आन्दोलनकारीलाई सत्तामा, एउटा सत्ताधारीलाई नागार्जुनमा पु¥यायो । यसपछि भयो के त ? लोकले विजयोत्सव मनाउनै पाएनन् । जनताको घृणाले अगुवा पङ्क्तिको मुहार कुहिगन्धे देखिन्छ । कम्युनिष्टका हेडमाष्टर मोहनविक्रम सिंहसमेत यो शासनले थरिथरिका विदेशी अतिक्रमण गराएर देश सिध्याउन लाग्यो भन्ने चिन्ता प्रकट गरिरहेका छन् । लोकतन्त्रका नायकहरू आँखा चिम्लेर राष्ट्रघात गर्न छाड्दैनन् ।
देशका नीतिकार, संसद–सत्ताका नेतृत्व तहलाई सुपथ र सित्तैमा एउटा सुझाव छ– कृष्णलालको मकैको खेती पढिदिनोस् । डम्बर शमशेर थापाले पद्म शमशेरलाई चिठी लेखेर भनेका थिए– प्रजातन्त्रको बाढीले राणा शासन बगाउन सक्छ ।
त्यो इतिहास पढे विवेकको बिर्को खुल्नेछ । देशको कल्याण हुनेछ । केही नहुँदाको धीरता, सबै हुँदाको सनक सकिनेछ । लोकतन्त्र यति धेरै बिष्मातसूचक हुने छैन ।
यो समयको खबरदारी हो ।