राजन कार्की - -
७० वर्षको प्रजातान्त्रिक अभ्यासपछि पनि राजा महेन्द्र र वीपी कोइरालामात्र राजनेताका रूपमा चर्चित छन् । सकारात्मक, नकारात्मक जस्तो होस्, चर्चा यी दुईको छ र नेपाल रहेसम्म रहिरहनेछ किनकि आज पनि विश्लेषणको निथार यही छ– यी दुई १० वर्ष मिल्न सकेको भए नेपाल यसरी रक्षान भएर सड्नुपर्ने थिएन ।
वीपीले मान्ने राजतन्त्रलाई मात्र हो, राजाले मान्ने वीपीलाई मात्र । एकदोस्रालाई सम्मान गर्थे, वीपी राजाका भान्सामा पुग्थे, महारानीले तरकारी काटेको ठाउँमा पनि पुग्थे । तर एकदोस्राप्रति आकाशजमीनको भिन्नता थियो । वीपी प्रजातन्त्रवादी, महेन्द्र राष्ट्रवादी । नदीका दुई किनारजसरी बाँचे, मिल्न सकेनन् । यद्यपि वीपीले जीवनभरि राजतन्त्रको गर्धनसँग गर्धन जोडिरहे, राजाले वीपीलाई सम्मान र सहयोग गरिरहे ।
वीपी बिते, वीपीका शाश्वत नीतिहरू बिलाए । वीपीका उत्तराधिकारीहरूले वीपी धारणालाई कम्युनिष्टको चुलोचौको, चकचकीमा सेलाए । कांग्रेस छ, गुट र फुटमा छ ।
राजतन्त्र फालियो । किन फालियो, कसैलाई थाहा छैन । हिन्दुधर्म हटाएको इसाईको डलर दवावले हो । कम्युनिष्टको उग्र भाषणबाजीमा फालियो । राजतन्त्रवादी छन्, कोठे आक्रोश र ओठे जय जयकारमा छन् । कांग्रेस छ, वीपी नीतिमा छैन ।
वीपी थिए र राजतन्त्र थियो । राजतन्त्र थियो र कांग्रेस थियो । प्रजातन्त्र र राष्ट्रवाद ज्यूँदो थियो र दुवै थिए । आज न समाजबाद छ, न राष्ट्रवाद । राजनीति छ,, सुतेको छ कि उठेको छ ? राजनीति बहादुर हो कि बगरको बुहारी झार ?
राष्ट्रवादी राजतन्त्र र प्रजातान्त्रिक कांग्रेस– राजतन्त्र मारियो, कांग्रेस ब्रह्मनालमा घिटीघिटी अवस्थामा छ । यी दुवै बौरिनसक्ने सहमतिमा हो । सहमति हुन रोक्ने देशी विदेशी शक्तिहरू छन्, जो गणतन्त्रको तगारो तेस्र्याएर दोबाटोमा उभिएका छन् ।
कम्युनिष्ट छन्, राजतन्त्रको विरोध गर्छन्, प्रजातन्त्रलाई सर्वहारावादी समाजवादको जामा पहि¥याएर ‘पुग्ने एकदलीय शासनमै हो’ भन्ने स्कूलिङ गरिरहेका छन् । कम्युनिष्ट सत्ताको भाङ्मा लठ्ठिएर प्रजातन्त्रको चीरहरण गरिरहेका छन् । बरू महाभारतमा कतै कतै दुर्योधन हच्किएको देखियो, लोकतन्त्रलाई नङ्ग्याउन र नाङ्गिन कम्युनिष्टले कुनै कसर बाँकी राखेनन् । कम्युनिष्टका चरित्रमा नीति र अनीतिमा कुनै भिन्नता देखिन्न । राष्ट्रवादको मन्त्र जपेर राष्ट्रमाथि बलात्कार गर्नु कमरेडी कमाल हो । संसद, सिंहदरवार र शीतल निवास कथित सांसदका लागि पिउन, हल्लिन जाने मनमौजीहरूको दोहोरी साँझ हो ।
यसकारण त ७० वर्षमा न अर्को राष्ट्रवादी महेन्द्र जन्मे, न प्रजातन्त्रवादी वीपी । अर्को मदन भण्डारी र मनमोहन पनि जन्मेनन् । राष्ट्रवाद र प्रजातन्त्र दुबै, सामुहिक बलात्कृत भएकी नारी, मानसिक सन्तुलन बिग्रेर बीच बजारमा असरल्ल हिडिरहेकी बहुलाइजस्ती अवस्थामा छ । आमाको यो कन्तबिजोग, सम्हाल्ने सन्तानहरू किन देख्दैनन् ?
शासन चारकोसे झाडी भयो, पशुजस्ता डाँकाहरूको राज निर्बाध चलिरहेकै छ ।
राणा शासन । एरिगा ल्युस्टाग राज सेविका नर्स । उनले समेत त्रिभुवनको दूत बनेर साथ दिइन् । कारण एरिगाले राजाको निरीहता र जनताको बिजोगबाट ग्लानीवोध गरेकी थिइन् । स्वयम् राजा त्रिभुवनले नर्सलाई भनेका थिए– असली राजा श्री ३ हुन् । म नाममात्रको श्री ५ हुँ । म कैदी श्री ५, कैदी राजा । ताला मारिएको पाँच पाँच ढोकाबाट म थुनिएको छु । इतिहासकारहरू भन्छन्– राजाले तिनै नर्सका माध्यमबाट राणालाई सर्प, राजदूतलाई चरा र चिठीलाई फूलको सांकेतिक भाषामा जनतासँग सम्पर्क स्थापित गरेका थिए । यही सम्पर्कले २००७ साल ल्यायो । जहाँ इच्छा त्यहाँ उपाय भनेको यही हो ।
नेपाल कुन बिमारीले थलियो ? कुनै योजनाकार भन्दैनन् । कुनै नागरिक समाज वा बुद्धिजीवी बोल्दैनन् । थाहा नभएर होइन, उनीहरूभित्र आत्मसम्मान मरिसक्यो । सबैभन्दा डरलाग्दो रोग विश्वासको संकट हो । आत्मविश्वास नभएकाहरूको रस्तीबस्ती बन्यो शासन राजनीति । नेताहरूमा विवेक बाँकी भए देखिन्थ्यो, छैन ।
विश्वासको ऐना फुटेको छ । फुटेको ऐनामा सग्लो अनुहार देखिन्न । ऐनाका टुक्राहरू बिझेको, टुक्रा ऐनाले काटेर घावैघाउ भएको र रगताम्मे मुलुकको नाम हो नेपाल । जहाँ राष्ट्रवाद र प्रजातन्त्र दुवै आमने सामने दशधारा रोइरहेका छन् ।
राष्ट्रनिर्मातामा विवाद छ । परिवर्तनमा बिबाद छ । पद्धतिमा विवाद छ । मूल कानुन संविधानमा विवाद छ । विवादै विवादले भरिएको मुलुक क्षतविक्षत नभए के हुन्छ ?
कुनै प्रधानमन्त्रीले मेरो देश महान् भन्यो ? नेपालप्रति गौरव गरेको सुनियो ? कोट टाईमाथि टोपी लगाउनु भनेको ठ्या कि मठ्याह भनेजस्तै हो । एउटा दक्षिणतिर ढल्क्यो भने अर्को उत्तरतिर ढल्किन्छ, तेस्रो पश्चिमतिर । यी तिनैथरिमा भएका अवसरवादी पसलेहरू लाभतिर पल्किन्छन् । राष्ट्रवाद र प्रजातन्त्र खिइएको यसैगरी हो ।
सहायकदेखि सचिवसम्म, नेतादेखि न्यायालयसम्म, पूजादेखि पुजारीसम्म, हकरदेखि बैंकरसम्म, इमेलदेखि सर्भरसम्म सबैतिर जोखिमै जोखिम छ । को प्रजातन्त्र–राष्ट्रवादतिर, को नगदवादतिर छ, थाहै हुन्न । हरेक नेता शङ्कास्पद छन् ।
शक्तिशाली हुनु भनेको विदेशीको एस म्यान हुनसक्ने योग्यता हो । सत्तामा पुग्ने योग्यता भनेको जेल परेको वर्षगन्ती, पार्टीलाई आर्थिक सहयोग गर्नु हो । संवैधानिक पदमा पुग्ने योग्यता बढाबढमा घुस दिनसक्ने क्षमता र न्यायाधीश हुने योग्यता लेनदेन मिलाउन जान्ने योग्यता हो । घुस दिन्छु, आदेश मान्छु भन्नुपर्ने भएपछि व्यक्ति भजन गुञ्जिने नै भयो । सुत्न र सुताउन सक्ने, खान र खुवाउन सक्ने सबै योग्य, बाँकी सबै अयोग्य । नेपाल बिग्रेको तीघ्रा देखाएर, नगद र नमस्कारतन्त्रले हो । सक्किगो नि ।
राणा शासनपछि अनेक परिवर्तन भए । २०१७ देखि २०२८ वीचमा बाहेक रचनाशील र सिर्जनाशील केही पनि हुन सकेन । राजा वीरेन्द्रले केही प्रयास गरे, ०४६ पछिका ३३ वर्ष खेर फालियो । लिक्वान यु र महाथिरको सम्झना धेरै पटक गरियो, देशका लागि हाम्रो त्यस्तो त्यागको अपेक्षा तपस्यामात्र भयो । सबै बलेको सत्ताको शिखामा पुतली झुम्मिएजसरी झुम्मिरहे, राजनेता बन्लान् भन्नेहरूले देश खरानी बनाइरहे । बेचिरहे ।
अहा हाम्रा नेता, महान् नेता, यस्ता पो नेता भन्न पाइएन ।
नेताले कहिले सोचेनन् आस्थाका मलामी बढाउने काम गर्नुपर्छ ।
दोष नागरिकको पनि छ । नागरिकले कस्तो नेता बनाउने भनेर कहिले सोचेनन् । अधर्मीलाई खादा, माला, अभिनन्दन, सिन्दुरे जात्रा गरी गरी अधर्म बढाउने नागरिक नै हुन् । यही देखेर कालीप्रसाद रिजालले गीत लेखे– मुटुमाथि ढुङ्गा राखी हास्नुप¥या छ ।
नेपाल निर्माताको सालिक फोड्ने अतिवादीले मकवानपुरमा आफ्नै नामको मार्ग नामकरण गरेर आफैले उद्घाटन गरे । यिनले कहिले विचार नै गरेनन्, रूसमा किन लेनिनको सालिक ढालेर अब्राहम लिंकनको सालिक ठड्याइयो ? इराकमा सद्दाम हुसेनको सालिक बनाउने कारिगरले आफ्नै कारिगरी भत्काए ।
अर्थात्् भ्रम चिरायु हुँदैन । ०४६ सालमा राजा वीरेन्द्रको पुतला दहन गर्नेहरू, ०५८ सालमा तिनै राजाको हत्या भएपछि टाउको मुडेर किरिया बसे । ०६३ को जनआन्दोलनमा घरघरबाट निस्केका नागरिकहरूको आज घरघरमै रूवावासी छ । नागरिकमा सामथ्र्य त अपार छ, सही समयमा सही निर्णय गर्न नसक्दा समय घर्केपछि पछुताउने गर्छन् ।
जसरी सन १९२२ पछि इटलीको मिलान सहरमा प्रधानमन्त्री बेनिटो मुसोलिनीको कार्यक्रममा माउरीको गोलोजसरी मानिसहरू जम्मा हुन्थे, त्यसैगरी भूमिगत प्रचण्ड सार्वजनिक हुँदा प्रचण्डलाई हेर्न नागरिकहरूको लावालस्कर लागेको देखिन्थ्यो । एक से एक विद्वान्हरू जता हे¥यो उतै प्रचण्ड प्रचण्ड देख्न थालेका थिए । प्रचण्डलाई ईश्वरीय देनजसरी देवत्वकरण गरियो । प्रचण्ड विश्व समाचार नै बनेका हुन् ।
त्यो चमक दिल्लीको ब्याट्री हुन्जेल रहेछ, सकियो निभ्यो । सात दिनको रामछायाँ भयो । विस्तार विस्तार अलोकप्रिय बन्दै गएका प्रचण्ड १५ वर्ष नहुँदै चरम अलोकप्रिय स्थितिमा पुगिसकेका छन् । हुन त नेपाली राजनीतिमा कुनै दल, नेता लोकप्रिय रहेनन् । मुसोलिनीका प्रशंसकहरूको होस खुलेपछि मुसोलिनी र उनकी प्रेमिकालाई वीच बाटोमा उल्टो झुन्ड्याउने उनलाई देवता मान्नेहरू नै थिए । जो त्यो बाटो हिड्थ्यो, तिनीहरू मुसोलिनीलाई थु थु थुकेर हिड्थे । जसरी १९७५ मा सिक्किम भारतमा मिलाउने राष्ट्रघाती लेण्डुप दोर्जीलाई सिक्किमेहरूले देख्यो कि थु थु थुकेका थिए ।
धुपौरेको धुपध्वाँर, आरतीगान सुनेर म ख्यातिको शिखरमा छु भन्ठान्नु आत्मरति हो । ती लखेटिन्छन्, जसरी तिनले अरूलाई लखेटेका थिए । नागरिकले प्रशंसा गर्ने केही ग¥यो, केही गर्छ कि भन्ने आशले हो । पूजा गर्ने उसको कीर्ति, अतुलनीय योगदानको हो । राजालाई लखेटेर पाएको अवसर खेर फाल्नु भनेको लखेटिने दिन नजिकिएको हो । लोकतन्त्रलाई पतनमार्ग बनाउनेहरूले आफ्नै अनुहार हेरून् ।
त्रेता युगमा राम वनवास गएका थिए, १४ वर्षमा फर्किए । राजा फालियो भन्ने दम्भ पाल्ने र राजनेता बनेर सुकर्म गर्न नसक्नेहरू नादान हुन् । तिनले देखेका छन्, सडकमा राजतन्त्रवादी निस्किन थाले त । यासिर अराफात हरहमेसा भन्ने गर्थे– हामी शून्यतामा महल होइन, प्यालेस्टाइन धर्तीमा झुपडी बनाउन चाहन्छौं । हाम्रा नेताहरूले पवित्र नेपाली धर्ती पाएका थिए, आफूलाई महल बनाए, जनताको झुपडी समेत आगो लगाए ।
१५ वर्षमै देखियो– लोकतन्त्रः ‘जितनी चावी भरी रामने, उतनी चली खिलौना ।’
बम, बन्दुक, पार्टी, शक्ति, अहंको गर्व, समयले कसरी नष्ट गरिदियो । शायद त्यसैले समय बलवान छ भनेको हुनुपर्छ । बुद्धि हुनेहरू समयको साँचोमा आफूलाई ढाल्छन् ।
आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्झना आइरहेको छ । देवकोटाले लेखेका थिए– ‘खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ ? आफू रित्याई अरूलाई दिनु जहाँ छ ।’
नेपालका सन्दर्भमा एक युगमा एक दिन ल्याउने हामी हौं भन्नेहरूले बेलायतका १९४० देखि ४५, १९५१ देखि १९५५ का प्रधानमन्त्री विन्सटन चर्चिल र उनका प्रशंसकको वार्तालाप पढ्न र बुझ्न जरूरी छ । गर्जने सिंह अर्थात् बिसौं शताब्दीका युगपुरूष विन्सटन चर्चिलले बोल्ने भनेपछि श्र्रोता र सहभागीहरूको व्यापक र उत्सुकतापूर्ण भीड हुने गथ्र्यो । एक दिनको विशेष कार्यक्रममा चर्चिलले बोल्नु थियो । ठूलो मैदानमा अटाइ नअटाई मान्छेहरू आएको देखेर प्रशंसकले प्रशंसा गरे– तपाईं साह्रै लोकप्रिय नेता हुनुहुन्छ । तपार्इंको भाषण सुन्नका लागि लाखौं मानिसहरू जम्मा भएका छन् ।
चर्चिल खिसिक्क हाँसे र प्रशंसाको प्रत्युत्तर दिए– यो भीडमा थोरै भाषण सुन्न र अत्यधिक मानिसहरू तमासा हेर्न आएका हुन् । यदि भोलि यही स्थानमा मलाई फाँसी दिने घोषणा गरियो भने योभन्दा ठूलो भीड देखेर तपाई अचम्मित नभए हुन्छ ।
वर्तमान नेपाली राजनीति त्यति बेलाको चर्चिलको प्रत्युत्तर जस्तो अवस्थामा छ ।
लिपुलेकतिरको सुरक्षा चौकीमा २५ जना सुरक्षाकर्मी खटाउने सरकार, नेताहरूको सुरक्षा गर्न गराउन १ सय २० जनासम्म सुरक्षाकर्मी खटाउन थालेको छ । नेता कति जनवादी रहेछन् भन्ने सवालको जवाफ खोजौं, राजनीतिभित्रको राजनीति बुझिनेछ ।
नित्सेले ईश्वर मरेको घोषणा गरेका थिए । नेपालमा जनतासँग डराउने जिवन्त नेताहरूको १४ वर्षदेखि मरेको जुनी देखिदै छ । घृणाको सागरमा नेता हुँ भन्नेहरूको देखावटी नौरथा नुहाउनेहरूको सुसारेको सुसे धन्दा नरोकिने हो भने हामीलाई आफ्नै अस्तित्व बचाउन हम्मे हम्मे पर्नेछ ।
सबैमा चेतना रहोस् ।