देवी काफ्ले - - -
अधिकारका धारा पढिन्छन्
औचित्यका पाठ पढाईन्छन्
गास, बास, कपासका
शाब्दिक पोका बितरण गरिन्छन्
शिक्षा र स्वास्थ्य निशुल्क
बितरण गरिन्छन् ।
राष्ट्रपति, प्रधानमन्त्री, शिक्षामन्त्रीबाट
सम्बोधन गरिन्छन् ।
दुईचार बालबालिको अभिभावकत्व
लिन्छन्
अनि भब्य बालदिवस हुन्छ ।
तर तर तर....
हाम्रो बालदिवस कहाँ, कसरी ?
हाम्रो बालदिवस ईट्टाभट्टाको धुलो, धुवा र ईट्टाको चाङसँग हुन्छ
महाशय !
हाम्रो बालदिवस होटल रेष्टुरेन्टका जुठा भाँडामा हुन्छ महाशय !
हाम्रो बालदिवस फर्निचर उद्योगको ठ्याकठ्याक ठुकठुकमा हुन्छ महाशय !
हाम्रो बालदिवस गाडीका ढोका ढ्यापढ्यापमा हुन्छ महाशय !
हाम्रो बालदिवस यौनदुराचारीको पन्जामा हुन्छ महाशय !
अनि हाम्रो बालदिवस खोलातिरको गिट्टीसँगै हुन्छ महाशय !
हामी कहिले खोक्रो पेट भरिदेउ भन्ने नारा लगाउँछौं ।
हामी कहिले पुरै शरीर ढाक्ने
टालो देउ भन्ने नारा लगाउंछौ ।
हामी कहिले एउटा सिटामोल देउ भन्ने नारा लगाउंछौं ।
हामी कहिले क ख सिक्न पाम भनेर नारा लगाउंछौं ।
हामी कहिले न्याय पाउं भनेर चिच्याउछौं ।
तर हाम्रा आवाज सुन्ने निकाय छैन
हाम्रो आवाज सुन्ने
सरकारको कान छैन
हाम्रा आवाज पैसासँग साटिन्छन्
हाम्रा आवाज
बन्दुकका गोलीले बन्द गराईन्छन्
सरकार !
अब हामीले कुन किताबका पानामा अधिकार खोजौं ?
अब हामीले कसका भाषणमा बालअधिकार खोजौं ?
हाम्रा अधिकारका भाषण बेचेर बिदेशी अनुदान कतिदिन खान्छौ ? कतिदिन खान्छौ ?
यो हो बाल दिवसको असलियत । नेपालमा बाल दिवस एनजिओ, आइएनजिओ र सरकारलाई आउँछ, प्रचार गर्छन् र बालबालिकाका अधिकारलाई लुट्छन्, पेट भर्छन् । कुनै बालबालिकाले नाना, खाना र छाना पाउने अवस्था छैन नेपालमा । बालबालिका हेपिन्छन्, बेचिन्छन्, लुटिन्छन् । बालअधिकार संविधानमा छ, कानुनमा छ, कितावमा छ । व्यवहारमा बालबालिकाका लागि केही पनि छैन ।
हरेक वर्ष नेपालमा बाल दिवस आउँछ र यसैगरी जान्छ ।
हरेक वर्ष बालबालिकाका नाममा सत्ताधारीले, डलरवादीले भोज भत्तेर खान्छन् र यसगरी जान्छ ।
हरेक वर्ष बाल दिवस आयो र गयो, कुनै बालबालिकाले केही पाएनन् ।
गत बर्ष बालदिवस कोभिडका कारण नारा जुलुसमा आएन सायद कोठे कार्यक्रममा मात्रै सिमित रह्यो र यस बर्ष पनि उस्तै समस्या रह्यो । बालदिवस मनाउनु र नमनाउनुले खासै फरक परेको मलाई लागेन । भन्न त २०६४ उता मनाइएका बालदिवसको खासै उपलब्धि केही रहेन भनिन्छ तर आज पनि बालदिवस मनाउनु कार्यक्रम देखाउनलाई मात्रै जस्तो लाग्छ । किनकी कालअधिकारको प्रत्याभूति बालबालिकाले महसुस कहाँ गरेका छन् खै ? देखिन्न ।
हालै एउटा तस्बिर सामाजिक सन्जालमा भाइरल भएको छ । मिडियामा व्यापक प्रचारप्रसार छ अन्तर्वार्ता छ ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले नवलपुर सिम्लेका छात्र धनकुमार मगरले अनलाइन कक्षाबाट पढ्न रूखमा टाँड (डेरा) बनाएका छन् ।
सरकार भ्यूटावर निर्माणमा मग्न छ । कोभिडका कारण बन्द भएको स्कुलहरू अनलाइन कक्षा चलाउएका त छन् तर त्यसबाट बालबालिकामा कति प्रभाव परेको छ त्यता कुरा, भाषणमा व्यापक ध्यान पु¥याए जस्तो गरेपनि भौतिक रूपमा प्रभावकारी योजना नभएकाले अलमल नै छ । यस्ता अधकल्चा ब्यावहारले बालबालिकाको अधिकारको बिषयमा सरकार गम्भीर देखिएको छैन । स्वास्थ्य, शिक्षा बालबालिकाका मौलिक अनि आधारभूत आवस्यकता हुन् । तर यता ध्यान कहिले र कसले पु¥याउने ?
यो वर्षको नारा ‘सामान्य अवस्था वा कोभिड महामारी बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने संकल्पका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रमका साथ मनाइएछ ।
बालबालिका देशका कर्णधार हुन् । उनिहरू स्वास्थ्य र सुगठित भयनन् भने भोलि देशले सक्षम नागरिकको अभाव बेहोर्न पर्छ पर्छ । आजको कोभिड महामारीको कहरमा दशैंको बेला सरकारले स्कुल भौतिक रूपमा खोल्न अनुमति दिएछ । शिक्षकलाई भ्याक्सिन पूर्ण रूपमा, कर्मचारीलाई भ्याक्सिन पूर्ण रूपमा दिएपछि बिद्यार्थीलाई कोभिड सर्दैन र ? बिना भ्याक्सिन बच्चालाई स्कुल उपस्थिति गराउँदा पालना गर्नुपर्ने कोभिड नियम पालना कति गर्न सक्छ बिद्यालयले ? स्कूलहरूमा साधनस्रोत छ छैन, सरकारको ध्यान पुगोस् ।
हरेक साल मनाइने बालदिवसले बालबालिकाको क्षेत्रमा नयाँ आयाम थपोस् । चाहना यही हो, तर सरकार संसदमा छ, अदालतमा छ, निर्वाचन आयोगमा छ, बालबालिकाको जीवनमा सरकार देखिन्न । आज पनि कैयौं बालबालिका पढ्नबाट बन्चित छन् । कारण आर्थिक कमजोरी हो । सरकारले सबै भन्दा धेरै लगानी शिक्षा र स्वास्थ्य मै गरेको प्रतिवेदन आउँछ तर ती बालबालिकाको तथ्यांक किन आउंदैन ? जो पढ्नबाट बन्चित छन् । स्कूल जान्छन्, गुणस्तरीय शिक्षा पाउन्नन् । कतिपय बालबालिका स्कूलमै लुटिन्छन् । आजपनि कैयन बालबालिका श्रम बेच्न बाध्यात्मक परिस्थितिमा छन् । होटल,फर्निचर उद्योग, वर्कसप, ईट्टाभट्ठा, गाडी लगायत घरायसी कामदारको रूपमा श्रम बिक्री गरिरहेका बालबालिकाहरूको लागि बालदिवसले केही सकारात्मक तथा सुधारात्मक अवस्था बोलिदियोस् ।
बालदिवस आओस्, बालदिवस जसरी आओस् । बालदिवस लुटराका लागि आएर बालबालिकाको विकास सम्भव छैन । यथार्थ रूपमा बालबालिकालाई छुनेगरी आओस् बालदिवस । बालदिवसका दिन बालबालिकाले देशै भरि रमाएको देख्न पाइयोस् । यस्तो बालदिवस नेपालमा कहिले आउला खोई ?