शाश्वत शर्मा- -
राजसंस्थाको पुनस्र्थापना भएन भने नेपाल बाँच्दैन । अधिकांश नेपालीले अनुभव गरेको सत्य यही हो । राजतन्त्र हुँदा मुलुकमित्रै केही राजनीतिक विवाद थिए । त्यो पनि शासन प्रणालीका सम्बन्धमा । अहिले विदेशीको खेलमैदान नै बन्यो नेपाल । स्वतन्त्र रहनुपर्ने संवैधानिक, सुरक्षा र न्यायनिरूपण निकायहरू समेत.राजनीतिक रङमा देखिन्छन् । विदेशी दबाब र प्रभावबाट हरेक निकाय बिटुलिएका छन् । राष्ट्रको अभिावक भनेर चिनिने राष्ट्रपतिको पदसमेत राजनीतिमा मुछिएको छ । अझ स्पष्ट रूपमा भननुपर्दा जनताको आफ्नो भन्ने कोही भएन । जनताको अभिभावक कोही हुन चाहेनन् । देश र जनताप्रतिको दायित्वबाट सबै च्यूत भएका छन् । हरेक दिन राजनीतिक किचलो, सधैंजसो गम्भीर विवाद, एकपछि अर्को गर्दै मुलुकलाई भड्खालोमा हाल्ने गतिविधि । यस्ता अराजकतामा कतिञ्जेल मुलुक यसरी चल्छ ?
अदालतकोपरमादेशबाट गठन भएको देउवाको सरकार ७० दिनसम्म पनि अन्यौलमा छ । ५ मन्त्रीले देश चलाएका छन् । कारण उही मन्त्रालयको हानाथाप । विभिन्न दबाब र प्रभावबाट तत्कालीन केपी ओली नेतृत्वको सरकारलाई बिस्थापन गर्न सफल भएता पनि व्यक्तिगत, गूटगत र पार्टीगत स्वार्थका कारण मन्त्रिमण्डलले आकार नै लिन पाएन । विज्ञ भन्छन्– नेपालमा कसैले सक्दैन । हिजो अंग्रेज, भोटलाई हराएका नेपालीका अगाडि भारत, अमेरिका सबै फेल हुन्छन् । किनभने यहाँका नेता र जनता उस्तै छन् । अझ बोली र व्यवहार ठेगान नभएका यहाँका नेताहरू तिनका पछुवा जनताका अगाडि अहिले अमेरिकाजस्तो महाशक्तिसमेत हार खानु परेको छ । ०७२ सालको नाकावन्दीमा भारतका प्रम नरेन्द्र मोदीले हार खाए भने अहिले अमेरिका सकसमा छ । एमसिसीका कारण नेपालमा अमेरिकालाई बदनाम गराइएको छ । आफूहरू सहयोग लिने भनेर स्वीकार्छन् अनि कार्यकर्तालाई विरोधमा भड्काउँछन् । नेपाली दल र नेताहरू परिपक्व भइसकेका छैनन् ।
हुन पनि हो, उपल्लो तहमा एमसिसीलाई संंसदबाट अनुमोदन गर्नु प¥यो भनेर एक अर्काकहाँ दौडादौड गर्छन् तर सडकमा चाहिं आफ्ना भातृसंगठन र निकाय र कार्यकर्तालाई राष्ट्रघात भयो भनेर उफार्छन् । यस्तो स्थिति छ राजनीतिको, कसैले सक्ला त ? स्रोतहरू भन्छन्– एमसिसी पास गराउन एकथरिले त एडभान्ससमेत लिइसकेका छन् । तर पनि संसदमा टेबुल समेत हुन सकेको छैन । कारण उही राजनीतिक, कूटनीतिक आचरणसमेत थाहा नभएका भ्रष्ट नेताहरूले गर्दा हो । अझ रोचक कुरा त के छ भने अहिले एमसिसीको महाविरोधी देखिने अनि राष्ट्रभक्त भनेर प्रचार पाएका माओवादीका अध्यक्ष प्रचउण्डले एमसिसीकी उपाध्यक्ष फातिमा सुमारसँगको भेटमा आफू माथि अमेरिकाले लगाएको आतंककारीको बिल्ला पूर्णरूपले खारेज गरिदिनुपर्ने र साथै दुबई वा सिंगापुरस्थित बैंकहरूमारहेको खातामाथि फेडरल ब्यूरो अफ इन्भेष्टिगेशनले लगाएको प्रतिवन्ध खुल्ला गर्नुपर्ने शर्त राखेको समाचार व्यापक फैलिरहेको छ । अर्थात यदि यो फैलिएको समाचार पूर्ण रूपमा सही हो भने प्रचण्डले एमसिसीलाई आफू बच्ने हतियारका रूपमा प्रयोग गर्न खोजेका रहेछन् भनेर बुझ्नुपर्छ । बाहिर गरिएको विरोध त खोक्रो रहेछ । यस्ता खुराफातीसँग कसले सक्ने ? प्रचण्डका कार्यकर्ताले कहाँबाट बुझ्ने ? विहान दिउँसो साँझमात्र होइन, घण्टा घण्टामा कुरा फरक हुने यहाँका नेताहरूको चोखिने एउटै हतियार छ, आफ्ना पक्षमा थुपारिएका कार्यकर्ता । तिनकै समर्थन र विरोध देखाएर आफूहरू पानीमाथिको ओभानो हुने गर्छन् नेताहरू । समर्थन वा विरोध जे गर्नुपरे पनि त्यसै अनुसारको प्लेकार्ड लिएर माइतीघर मण्डलामा उभ्याइदिए पनि भयो, अलि चर्कै गर्नु परेमा उग्र नारावाजी गराए पनि भयो । अनि जो नेपालमा जुनसुकै कारणले आउन लागेको विदेशी प्रतिनिधि तिनै कार्यकर्ताको नारावाजी, कालो झण्डा हेर्छन्, कुरा सुन्छन् र फर्कन्छन् । यता बुझेको बैना पच । अहिले यही भइरहेको छ । पुरै नेतामाथि आश्रित भएपछि जनताको व्यवहार यस्तै देखिने गर्छ । नेताहरू कार्यकर्ता यसैगरी परिचालित गरिरहेछन् । नाकावन्दीका बेलामा कालोबजारमा सामान किनेर खुशी हुने जनता यिनै हुन् । जसरी होस्, चाहेको सामान पाइयो भने खुशी हुन्थे । अर्का विश्लेषक भन्छन्– हिजो बहादुर देखाएर शत्रुलाई घुँडा टेकाउँथ्यो भने आज धोखा दिएर विदेशीलाई असफल पारिरहेका छौं । हिजो पुर्खाहरू वीर थिए, आज हाम्रा नेताहरू द्रव्यपिचास छन् । राष्ट्रघाती छन्, धोखा दिन्छन् । हतियार भएर प्रयोग भइरहेका छन् । यसैबाट विदेशी हार खाएर फर्किनु परेको हो । यसकारण देशको इज्जत र मान प्रतिष्ठाका लागि पनि राजसंस्था पुनस्र्थापना हुन जरूरी भयो । अन्यथा नेपाली ओज यसैगरी घट्नेछ ।