देवी काफ्ले-- -
हाम्रो समाजमा तीज महिलाहरूले मनाउने एउटा महत्वपूर्ण पर्व हो । यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो । सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात आफ्नो श्रीमानको घरमा बसी बाँकी जीवन विताउनु पर्नेहुन्छ । यसरी आफू जन्मेको घर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन विताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा महत्वपूर्ण अवसरको रूपमा तीजपर्वको गहन महत्व रहेको छ । तीजमा महिलाहरूलाई मीठा मीठा भोजनका परिकारहरू खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ । महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ । तीजमा विवाहिता महिलाहरू आफ्नो लोग्नेको दीर्घायुको कामना गर्दै बर्त बसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहिताहरू सुयोग्य वरको आशा राखी बर्त बस्छन् । यो समयमा तीजको ब्रतकथा सुन्ने र पूजा लगाई ब्राह्मण ब्राह्मणीहरूलाई दानदक्षिणा गर्ने चलन रहेको छ ।
तीज हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइन्छ । अघिल्लो रात अर्थात् द्वितीयाका दिन दर खाइन्छ । तीजका दिन व्रत बसिन्छ । चौथीका दिन स्नान गरी व्रतको पारण गरेर खाना खाइन्छ भने तीजको तेस्रो दिन अर्थात् ऋषिपञ्चमीका दिन व्रतालु महिलाहरूले ३६५ वटा दतिवनले दाँत माझेर माटो लेपन गरी स्नान गर्छन् । अपमार्ग लेपनले छालामा हुने एलर्जी हटाउँछ । पञ्चमीका दिन अरून्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि तथा वशिष्ठ ऋषिको पूजा गरी हलोले नजोतेको, विशेष गरि तिजलाई नै लक्षित गरेर कोदालोले खनेर रोपेको धानबाट बनाइएको चामल वा अन्नको भात र एक सुइरे भएर उम्रने कर्कलो आदिको तरकारी वा एकदलीय अन्न मात्र खाइन्छ । यो दिन श्रीमानले पकाएको भोजन खाए आपसी आत्मीयता एवं सद्भाव बढ्ने विश्वास छ ।
तीजमा प्रयोग हुने गहना र पहिरनको पनि आफ्नै महत्व छ । तीजका दिन महिलाले लगाउने रातो साडी सुख, समृद्धि एवं साहसको प्रतीक मानिन्छ । रातो रंगले महिलालाई एक किसिमको शक्ति प्रदान गर्ने धार्मिक विश्वास छ । पोतेले शान्ति र आनन्द प्रदान गर्छ भने रातो टीका सौभाग्यको प्रतीक हो । हृदय स्वच्छ भए मनोकांक्षा पूर्ण हुने धार्मिक विश्वास तीजको व्रतमा अन्तरनिहित छ ।
आजकल तीज धार्मिक महत्व र चाडको रूपमा भन्दा पनि अरूलाई देखाउन, गरगहना प्रदर्शन गर्न अनि हैसियत मापन गर्नका लागि जस्तो देखिन थालेको छ । पार्टी प्यालेसको जमघट, वाइन र बियर मासुको खानपान, महंगा साडी र सुनका झरिझट्टै गहनाको प्रदर्शनले हाम्रो मौलिक तिज कता गुम हुन पुग्यो कुन्नी ? हाम्रा आमा फुपुहरूले गाएका मौलिक गीतहरू सुन्दा आधुनिकतामा आँच आएको जस्तो गरि मुन्नी बदनाम हुइ, डार्लिङ तेरे लिएमा रमाउनुले तिजको रौनकता, भित्री मनमा बसेको मौलिक संस्कार सकिदै गउको छ । तीज अझ भड्किलो हुदैछ । मेरो आशय हिजो जस्तै घरमा पिडित भएर बस्नुपर्छ, माइती लिन आए मात्रै जानुपर्छ, पिडाहरू संगालेर राखेर माइतीमा मात्रै पोख्नुपर्छ भन्ने होइन । आधुनिक युगमा समय अनुसार परिवर्तन हुनै पर्छ तर परिवर्तनका नाममा देखावटी चाड मनाएर कसरी चाडको महत्व रह्यो र ?
समानताका नाराहरू, महिलाहरूका समान अवसर, आर्थिक समानता बढि नै छलफलमा आएका छन् । पार्टी प्यालेसमा महंगा कपडाहरू, झपक्कै गरगहना लगाएर पोइला जान पाम भन्ने गित बजाएर बियरको तालमा सम्पन्न नारी नाचिरहेकी छन् भने अर्कोतिर अर्की महिला च्यातिएको लुंगी बेरेर पसिना पुछ्दै तिनै खाएर नाचेका महिलाले फालेको फोहोर सोहोर्दै र जुठा भाँडा उठाउँदै हुन्छिन् । यस्ता दृश्यले समानताका बिषयलाई गिज्याउँदैन र ? त्यस्तै जमघट, पार्टी, गरगहनाको रहरले कैयौं नरनारी ऋणले घरबारबिहिन भएका छन् । कतिका घरबार बिग्रेका छन् । चाडलाई देखावटी बनाइएको छ ।
व्रत बस्ने लुगा, गरगहना देखाउन कि मन रमाउन ? व्रत बस्ने धार्मिक आस्थाका कारण कि देखाउन ?
केही कामकाजी महिलाहरूलाई सांच्चै नै फुर्सद छैन । चाडवाड पनि मान्नुपर्यो अफिसियल काम पनि गर्नुपर्यो उनिहरूले दर खान जान पनि समय मिलाउनु पर्छ । उता श्रमिक महिला हुन्छिन् दिनभर काम नगरे बेलुका चुल्हो जल्दैन,अनि तीज त उनको पनि चाड होला!उनलाई पनि मन लाग्ला तर न उनको हैसियत गाउंभरिका साथीलाई बोलाएर खुवाउने हुन्छ न त आफुलाई कसैले बोलाउँछ । चित्त दुखाउनु र आफैलाइ धिक्कार्नु बाहेक उनको चाडमा नयाँ केही हुदैन ।
हुनेले खाने हो लाउने हो, तर नहुनेलाई असर नपर्ने गरी । छ भनेर देखाउन जरूरत छैन । चाडलाई चाड जस्तै बनाउँ । अलिकति मौलिकतालाई बचाउँ । हामीमा आत्मियता छ भने रूखासुखा खानपानले पनि त खुशीसाथ चाड बिदा गर्न सकिन्छ ।
बन्धनका नेल तोड्छौं भन्ने दिदीबहिनीहरू अझ पनि सुनका नेलमा आफुखुशि जकडिएको देख्दा उदेक लाग्छ । साउन महिना लाग्न नभ्याउंदै भारतिय चुराले पतसको आयु बढाउन छनकछनक गरेर आफैले नेल लगाउने, तिजको एकमहिना अगाडि देखि शरीरभरि झुण्ड्याउन मिल्ने ठाउँ बाँकी नराखेर नेलमा जकडिने अनि कुन मुक्तिलाई हो बोलाउने ? अझैपनि हामी नेपाली महिलाले हाम्रो अर्थतन्त्रलाई कति असर पारेका छौं एकपल्ट गहन भएर हेर्नुछ । महिलाले लगाएका वस्तुसँग मेरो गुनासो छैन तर ती वस्तुसँग आफुलाई दाँजेर अस्तित्व जोखिममा पार्ने निरीह दिदीबहिनीसँग बेसरी गुनासो छ ।
तीज हामं्रो मौलिक चाड हो । आज सबै जातजाति, धर्मका महिलाले यो पर्व खुशि साथ मनाएको देखिन्छ । धार्मिक सहिष्णुता सायद यहि हो । तीज हामी नेपाली महिलाका लागि महत्वपूर्ण चाड पनि हो, यसले हाम्रा खुशि, बेदना, पीडा, असन्तुष्टि सबै सार्वजनिक ठाउँमा पोख्न अवसर दिन्छ र त्यो एउटा सन्चार पनि हो जसका कारण समाजका यथार्थतालाई उजागर गरिदिन्छ । तीज मिलन हो । तीज आत्मियताको कडि हो । तीज हाम्रा पुर्खाहरू सम्झाउने माध्याम हो । समाजको ऐना हो । यस्तो चाडलाई हामी किन बिकृतिको रूपमा पुर्याउने ?
तीजलाई सबैले खुशिसाथ मान्न सक्ने चाड बनाऔं न । भड्किलो बनाएर कसैलाई खुशी कसैलाई दुखी किन बनाउने ? साथी, आफन्त घरमा जमघट गरौं । मौलिक रूपमा मनाऔं । शुभकामना ।