शाश्वत शर्मा- -
चर्चा कांग्रेस महाधिवेशनको छ । शेरबहादुर देउवा जो सभापति छन्, गिरिजापुत्री सुजाता कोइरालासम्मले सभापति पदको पत्याशी भनेर प्रचार गरिरहेका छन् । अब चर्चामा त शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह पनि रहेका छन् । ती सबैभन्दा माथि रामचन्द्र पौडेल रहेका छन् । उता महामन्त्रीमा गगन थापाको दावी छ । हाल कृष्णप्रसाद सिटौलाको क्याम्पमा रहेका भनिएका गगन सभापति को हुन्छ थाहा छैन तर महामन्त्री म हुँ भनिरहेछन् । कांग्रेसभित्रकै केही तल्ला र मध्यम नेताहरू चाहिं गगन र पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको चर्चा कनेक्शनका कारण यिनको गञ्जाइस नभएको टिप्पणी गर्छन् । गगनका बारेमा त आउँदो चुनावमा बरू कम्युनिष्टसँग साँठगाँठ गरेर भए पनि हराउनु पर्छ भन्ने सनसनी पो सुनिन्छ ।
यतिबेला कांग्रेसले जुन नीति लियो, खासगरी गिरिजाले तत्कालीन माओवादीलार्य शान्ति प्रकृयामा ल्याउनका लागि, त्यसले कांग्रेसलाई एकदमै नोक्सान पुग्यो । अब विधान परिवर्तन गरेर भए पनि पुरानै बीपी नीतिमा जानुपर्छ भन्ने माग भित्रभित्रै बढेको छ । भनिन्छ, उपल्ला दर्जाका नेताहरूलाई यस्ता मागले गर्द हम्मे हम्मे पर्दो छ । केही नेताहरूले त अनौपचारिक रूपमा विभिन्न माध्यमबाट आफू संवैधानिक राजतन्त्र र हिन्दुराष्ट्रको पक्षमा पुगेको प्रचार पनि थालेका छन् । खासगरी रामचन्द्र पौडेल पक्षीय प्रचारमाध्यमहरू यस कुरामा जोडतोडले लागिपरेका छन् । त्यसो त प्रकाशमानले पनि केही समयअघि पूर्वराजासँग आफूले कुनै होटलमा भेटेको खुलासा गरेर आफूलाई प्रष्ट्याएका थिए । अर्थात अधिवेशन सरे पनि हुनैपर्छ र चुनावमा राजा र हिन्दुराष्ट्रबिना जित्न नसकिने पक्का निधो सबैले गरिसकेका छन् ।
त्यसो त शेखर कोइराला, शशांक कोइरालाहरूले यी विषयमा ढुलमुले चरित्र देखाएको त उहिलेदेखि हो । हिन्दुधर्ममात्र भनेर शेखर शशांकले पार्टीभित्रका नेता कार्यकर्तालाइ अझै पनि आफूतिर आकर्षित गरिरहेकै छन् । यदाकदा शेखरको विचार यस्तै आउनुलाई धेरैले दिल्ली कनेक्शन भनेका छन् । शशांक कहिले हिन्दु र राजाको कुरा गर्ने, कहिले इतिहासको विषय भइसक्यो भन्ने, उनी द्विविधामा देखिन्छन् । यसकारण बीपीवादीलाई समेत शशांक शंकास्पद लाग्छन् । केही विश्लेषकहरूका अनुसार अन्य पार्टी र कांग्रेसीहरूमा भारतको आरएसएस, कांग्रेस आई, सीआइए अनि चिनिया कनेक्शन रहेको छ । यहीकारण यिनको जिब्रो लरबराउने गरेको हो ।
अझ युरोपियन युनियनसँग आवद्ध भएका कांग्रेसीहरू त अहिलेकै शासन व्यवस्थालाइृ अझ सुदृढ गर्नुपर्ने विचार राख्छन् । उनीहरूको लगाव इसाईकरणसँग छ । रिमोट बनेर चल्नेहरूको हालत यस्तै हुन्छ । विधान एकातिर, नैतिकता अर्कोतिर र पार्टीको निर्देशन अर्कैतिर । यही हालत कांग्रेसभित्र । अन्य ठूला दलमा पनि ढलपल यस्तै छ । केही समय अघि प्रचण्डले नै राजाको समयमा कत्रो शान थियो, अहिले केही पनि छैन भन्नुको कारण पनि बाह्य दबाब र आफ्नो बचाव नै हुनुपर्छ । तिनीहरूले अझ साउन १५ गते देखि प्रचण्ड र देउवा बीचको लगानगाँठो र यो सरकारको औचित्य सकियो भन्ने चावी पनि सार्वजनिक भइरहेको छ । यो ५ दलीय मोर्चा भनिएको सरकारको साझा न्यूनतम कार्यक्रममा एमसीसीको कुरा उठान नहुनुले देउवा सरकारको औचित्य समाप्त भयो भनिदैछ । यसपछि सभामुखले एमसीसी टेबुल गर्ने तैयारी थालेका बताइन्छ । कुलमानलाई विद्युत प्राधिकरणमा ल्याइनु र उनी एमसीसीको बोर्ड मेम्मर बन्नुले पनि धेरै संकेत गरेको छ ।
तर टिप्पणीकारहरूका अनुसार चिनियाँ पक्ष हावी भएकाले साझा कार्यक्रममा एमसीसी परेको छैन तथापि कार्यरूपमा प्राथमिकतामा पारिएको छ । भन्नुनै पर्दा हाम्रा नेताजीहरू बहुतै चतुर छन् । जनतालाई घुमाउँछन्, विदेशी मालिकलाई पनि घुमाउन खोज्छन् । अर्कातिर विदेशीबाट दानदातव्य, आशीर्वादबाट सत्तासीन पनि हुनैपरेको छ । समय हेरेर बोल्नुपरेको छ । अस्थिर नेताका कारण अराजकता बढेर गएको हो । हिजो जनयुद्ध र जनआन्दोलन गर्दा विदेशीसँग लिएको सहयोगको पैंचो तिर्नुपर्ने बाध्यता छ भने अर्कोतिर आफ्नो हित पनि हेर्नुपर्ने विचित्रको अवस्था छ । अब हेर्नुछ, पचास हजार दस्तुर निर्वाचन आयोगमा बुझाएर कोरोना देखाउँदै अझै केही समय पछाडि सारिएको महाधिवेशन कसरी अगाडि बढ्छ ? उता एमालेको माधव समूह अझै फुट्न वा मिल्न सकेको छैन । सरकारमा सहभागी हुन नसक्ने हलो न मुङ्ग्रो माधव गुट पिछलग्गु बनेको कांग्रेस सरकार अगाडि बढ्छ कि प्रचण्डले भनेझैं अल्पमतमा पर्छ । अल्पमतमा प¥यो भने देउवासमेत मध्यावधि चुनावकै घोषणा गर्नुको विकल्प रहनेछैन । गाईजात्रे राजनीति रोचक र चाखलाग्दो मोडमा पुगिसकेको छ । तर एउटा कुरा चाहिं पक्का के हो भने, यदि कांग्रेसले आफ्नो पार्टी बचाउने हो भने वामपन्थी सिद्धान्त र गठबन्धनबाट आफूलाई बाहिर लानैपर्छ । हिन्दुराष्ट्र र राजतन्त्रको बीपी नीतिमा प्रवेश गर्नैपर्छ ।