शिव सिग्देल- -
दार्चुला व्यास गाउँपालिकामा तुईनबाट तर्दै गर्दा तुइन नै काटेर जय सिंह धामी को हत्या गर्ने हत्यारा यिनै रहेछन् । यिनले तुइन छिनाल्ने ह्याक्सोसमेत प्रमाण स्वरूप सार्वजनिक भइसकेको छ । तैपनि सरकार बोलेन ।
यो सरकार केपी ओलीको सर्वसत्तावादी चरित्रविरूद्ध बिद्रोह गरेर बनेको ५ दलीय मोर्चाको सरकार हो । यो सरकार असफल हुनुको अर्थ आगामी निर्वाचनसम्म पनि पर्नेछ । जनताले ओलीलाई पचाएनन्, जनताविरोधी, देश विरोधी कुनै सरकारलाई पनि जनताले पचाउने छैनन् भन्ने हेक्का राख्नैपर्छ ।
प्रधानमन्त्री देउवाको असफलता अथवा मनलागीतन्त्रको दोष पाँचै नेताले बेहोर्नुपर्छ । देउवा, प्रचण्ड, माधव नेपाल, उपेन्द्र यादव र जनमोर्चा पनि भागीदार हुनेछन् । यसकारण यो सरकारलाई लोसे हुने, गलत काम गर्ने, हनिमुन मनाउने कुनै सुविधा छैन । नेपाल र नेपाली संकटमा छन्, हरेक संकटसँग जुध्ने वाचा गरेर आएपछि जुध्नैपर्छ ।
त्यसै पनि कोरोनासँग जुध्नका लागि सरकारले सक्रियता देखाएको छैन । सुरूकै ३ हप्तामा सरकारप्रति जनाक्रोश बढेर गएको छ । त्यसमाथि दार्चुलाको व्यासमा तुइन काटेर नेपालीको हत्या भएको छ । यो हत्या गौतम गोविन्द पछिको हत्या हो । गौतमको हत्या हुँदा पनि देउवा प्रधानमन्त्री थिए, उनले भारतसँग सोध्न र क्षतिपूर्ति लिन सकेनन् । सरकारबाटै १० लाख दिएर शहीद घोषणा गरिदिए । हरेक पार्टी चुपचाप भारतीय ज्यादतिलाई सहेर बसे । यसपल्ट एसएसबीले तुइन नै काटेर नेपालमाथि हिटलरी ज्यादति थोपरेको छ । न सरकार बोल्न सक्यो, न संसदमा व्यापक बहस गरेर भारतलाई खबरदारी गर्ने साहस नै देखाइयो ।
तत्काल सरकारले भारतीय राजदूत बोलाएर यसबारे खरी घस्नुपर्छ, दिल्लीलाई यो अपराधिकरण रोक भनेर सन्देश दिनुपर्छ । ढाडमा हाड छ भने प्रजातान्त्रिक पार्टीका सभापति देउवाले भारतीय प्रधानमन्त्रीसँग सिधा कुरा गरेर यो सम्बन्ध चिस्याउने कार्य किन भनेर सोध्न सक्नुपर्छ । अन्यथा खतरा बढ्छ ।