शिव सिग्देल- -
छोरो बिरामी भयो । पीठ्यूमा छोरा र काखीमा कुखुराको भाले च्यापेर छोराको उपचार गर्न हिँडेकी आमाको तस्वीर हो यो । (युगद्रष्टा २थगनबमचबकतब– छोरालाई उपचार गर्न कुखुराको भाले बोकेर आमा हिंड्दै, उता ७२ करोड सर्प पाल्न भनेर रकम बुझ्नेलाई सरकारले उपचारको लागि ५० लाख रकम निकासा ! हाम्रो नेपालमा !) उत्कृष्ठ संंविधानको उत्कृष्ठ व्याख्या गर्ने सर्वोच्च अदालतले यो तस्वीर र सरकारको झलनाथ खनालजस्ता आर्थिक सक्षम व्यक्तिलाई कानुन विपरित उपचार खर्च दिने निर्णयका विरूद्धमा बोल्नुपर्छ कि पर्दैन ? विवेकशील कार्यकर्ता हरेक पार्टीमा छन्, तिनले यो तस्वीर हेरेर चुपचाप बसेका छन् । यो विषय चुपचाप बस्ने विषय हो कि विद्रोह बोल्ने ?
झलनाथ बिरामी भए, उनलाई दिल्ली लगियो । सरकारले उपचार खर्च एडभान्समा दियो र देउवा सरकार बनेपछि ३० लाख निकासा गरियो ।
यसरी उपचार खर्च नलिने वा नदिइएको पूर्व प्रधानमन्त्री मरीचमान सिंहलाई मात्र हो । अन्यथा सुशील कोइराला, डा.रामवरण यादव, कमरेड केपी ओली, सुजाता कोइराला, कमरेड नारायण काजी, गोविन्दराज जोशी, तुल्सी गिरी, खुमबहादुरखड्का, देवेन्द्रराज कणेल, महेन्द्र राय यादव, परमानन्द झा, लोकेन्द्रबहादुर चन्ददेखि साना ठूला राजनीतिक प्रभावशाली व्यक्तिहरू धेरैले उपचार खर्च लिएका छन् ।
गृह मन्त्रालयले ०४६ सालदेखि कुन कुन नेताले के कति उपचार खर्च लिए, गृह मन्त्रालयले आर्थिक सहायता, चन्दा पुरस्कारका नाममा कुन कुन राजनीतिक नेताको सिफारिसमा कुन कुन पार्टीका कसकसलाई हजारौंदेखि लाखौंसम्म राज्यकोष बाँडियो ? यसको स्वेतपत्र प्रकाशित गर्न किन कुनै दल वा युवाहरू माग गरिरहेका छैनन् ? यो पद्धति लोकतन्त्र हो भने लोकलाई यसरी गिज्याउनु उचित होइन ।
हरेक राजनीतिक नेता आर्थिक रूपमा सक्षम भइसकेका छन् । ०४६ साल अघि जो गरीब कोटीमा थिए, तिनको आर्थिक स्तर राजनीति गरेकै कारण सुध्रिसकेको छ । यहाँसम्म कि बुटवलको तिनाउ खोलामा बालुवा चाल्ने सुकुम्वासी कमरेड विष्णु पौडेलको नाम अहिले पनि सुकुम्वासीको सूचीमा छ । तर उनी दरवारजस्तो महलमा बस्छन् र वालुवाटारको ललिता निवास जग्गा प्रकरणमा ८ आना जग्गाका धनी देखिएको छ । यद्यपि उनले त्यो जग्गा लिन्न भनेर छुट पाएका छन् । कानुन र राज्यले झलनाथ खनाल अथवा विष्णु पौडेलजस्ता हजारौं प्रभावशाली व्यक्तिहरूका लागि यस्ता गरीबहरूको गाँस, बास, कपास लुटिखान छुट कसरी दिनसक्छ ?