देवी काफ्ले- - - -
देशभरका अस्पतालहरूमा पर्याप्त मात्रामा अक्सिजन छैन । डाक्टर छैनन् ।नर्स छैनन् । औषधी छैन । एम्बुलेन्स छैन । केहिले उपचार पाए पनि कतिपय राम्रो उपचार नपाएर कुकुर मराई मरिरहेकाछन् । मरेका मान्छेको लास ब्यवस्थापन गर्न उस्तै गाह्रो छ । मिनट मिनटका एम्बुलेन्सको साईरन, हेलिकप्टरको आवाजले मुटु थरथर हुन्छ । फोनका घन्टी सुन्ने क्षमता ह्रास भैरहेको छ । समाचार सुन्दा भोलिको सुर्योदय देख्न पाईएला जस्तो लाग्दैन । सामाजिक सन्जाल त मृतकप्रति दिइएका श्रद्धाञ्जली दर्ता गर्ने सक्रिय पन्जीकरण शाखाजस्तो लाग्न थालेको छ ।
यता कोभिडको त्रासले लकडाउन गर्नै पर्ने बाध्यता उता भोकमरी झन् ठूलो महामारीको रूपमा छ । दैनिक मजदुरी गरेर खानेहरूको काम ठप्प छ बिहान बेलुका चुल्हो बाल्ने उपाय नास्ति भैसक्यो । साना खुद्रा व्यापार गरि जहान पाल्नेहरूको बिचल्ली भैसक्यो । बिचल्ली हुनेहरूको हुँदैछ उँभो लाग्नेहरू पनि त लाग्दैछन् । बिद्यार्थीको पढाइ अलमल गोत्र भएको छ ।आर्थिकोपार्जनका बाटाहरू सुकिरहेका छन् । तर हाम्रो सरकार कता मस्त छ खोजी गरेका छौं हामीले ?
अहिले यो बिपत्तिमा सरकार कता छ, खोजौं । कतै देखिन्न सरकार ।
विपक्षी देखिनु पर्ने हो, विपक्षी पनि देखिन्न । सरकार र विपक्षीहरू त शीतल निवास, सर्वोच्च अदालततिर पो वादी प्रतिवादी बनेका छन् ।
जनता मर्ने, जनताका प्रतिनिधिहरू मुद्दा मामिलामा व्यस्त रहने । योभन्दा दुर्भाग्यको समाचार के हुनसक्छ ?
सरकार सिंहदरवार र वालुवाटारको गेट बाहिर कोरोना राखेर मस्त रोधि लाएर बसेको छ । सरकार बाटो चोक मैदानमा जुलुस प्रदर्शन गर्न ब्यस्त छ । आमसभा गरि हाम्रा पक्षमा यति मान्छे छन् भनेर गन्ती लगाउन ब्यस्त छ । सरकार आफ्ना आसेपासेलाई ठाउँ दिन मन्त्रीमण्डल हेरफेर गर्दै बसिरहेको छ । सरकार सत्ता टिकाउने खेल खेल्दै छ । अब गोल हान्छ हामी ताली बजाएर बसौं ।
धन्न आज देशका केहि युवाहरू देश बिदेशबाट सहयोग मागेर आफ्नो ज्यानको बाजी लगाएर नागरिक सहयोगमा जुटिरहेका छन् र नागरिकको घाउमा मलम लागेको छ । कोहि रक्तदान गरिरहेका छन् । कोहि अक्सिजनको ब्यवस्थापन गरिरहेका छन् । कोहि एम्बुलेन्स, गाडीको ब्यावस्था गरि बिरामी ओसारपसार गर्दैछन् ।कोहि भोको पेट भएकालाई खाना खुवाईरहेका छन् । आफुले सकेको सम्भव भएका जहाँ जे हुन्छ सहजीकरण गरिरहेका छन् । यो निस्वार्थ सेवा र सहयोगका लागि ती युवाहरू प्रति नमन ।
सरकारले कामै नगरेको भने होइन गरेकै छ ती कामहरू स्वास्थ्य सामग्री खरिदमा समेत घोटालामा मुछिनु, सामान खरिदका लागि उपप्रधानमन्त्रीकै छोरालाई टेण्डर पर्नु जस्ता रहे । जे नै भए पनि अहिले जतासुकै हारगुहार गरेको छ भ्याक्सिनका लागि भारतको लगाईसके अब चिन र अमेरिकाको भ्याक्सिनले केहीलाई पुग्ला । अझ दुईचार देशसंग हारगुहार गरेपछि त किन नपुग्ला र ? नागरिकको स्वास्थ्यलाई प्रमुखतामा राखेर गरेको यो कामलाई खुलेर प्रशंसा गरिन्छ । गर्नुपर्छ । सरकार अलिकति दूरदर्शिता देखाएको भए यो महाबिपत्तीबाट नोक्सान थोरै हुन्थ्यो होला । अझैपनि दुरदर्शिता नदेखाउने हो भने बालबालिकालाई निकै जोखिम को अवस्था आउँदैछ भनिरहेका छन् जानकारहरू । सरकार!अब त दुनो सोझिएको हो भने नागरिकलाई हेर्ने हो कि ?
सरकारले यस्तो बिपत्तिको बेला बजेट ल्यायो । सिंहदरवार,बालुवाटारबाट दिने निर्देशन कम छैन । कसैले सोधिहाल्यो भने कोरोना सोरोना छैन नेपालीको ईम्युनिटी पावर टन्नै छ बेसार खाए हुन्छ भनेर बहुलट्ठी पाराका जवाफ दिने, हस्पिटलमा बेडहरू खाली छन् मन्त्रालयले औषधी गर्ने हो र ? भनेर ओठे जवाफ दिने मन्त्री हुदासम्म के चाहियो र ? तर बेड नपाएका बिरामी, उपचार नपाएर मृत्यु अंगालेका मृतकका परिवार, उपचार गर्दागर्दै कुटाई खाने डाक्टर र नर्सलाई सोधम् त हस्पिटलको अवस्था के छ भनेर ?
कोभिडको सन्त्रास त छंदैछ अब भोकमरीले मर्ने अवस्था आईसक्यो सरकार कुर्सीको खेल सकियो भने यता ध्यान दिने कि ? सरकार चुनाव घोषणा भएको छ, जनता बाँचे भोट पक्का पाउंछौ सत्ताको सतरन्जमा जति पनि दाउ लगाउन सकौला अहिले महाराज होइन साधारण नागरिकको पीडा हेर । हामी नै बांचेनौ भने तिम्रा पदहरू खाली रहनेछन्, आसेपासे हुने छैनन्, बालुवाटार र सिंहदरवारमा मात्रै राज गरेर बस्ने दिन नआओस् । सरकार कहिलेसम्म शकुनीका चालमात्रै चलेर धृतराष्ट बन्छौ ? अब त बाहिर निस्क ।