धर्मरत्न श्रेष्ठ - -
महाविपतले त्रासदी फैलाइसक्यो । महाविपतलाई कसरी टार्ने, कसरी बाँच्ने र बचाउने भन्ने सोच यो पद्धतिमा देखिएन । पद्धति हाँक्ने नेताहरू महाविपतसँग होइन, सत्ता परिवर्तनका लागि पो सक्रिय देखिएका छन् । केन्द्रमा प्रधानमन्त्री फाल्ने, संघमा सांसद किनबेच, लुकाउने, छकाउने, जबरजस्ती गर्नेमात्र होइन, गुण्डा, डनलाई मन्त्री बनाएर भए पनि सत्ता टिकाउने खेल जारी छ ।
जनता औषधि, उपचार, रोजगारी, खाना नपाएर मरिरहेका छन् । अस्पतालमा शैया छैन, उपचार थेग्न नसकिने भयो भनेर सरकार टकटकिएको छ । यही दिन देख्नका लागि जनताले लोकतन्त्र ल्याएका थिए ? जनताको ज्यान तलमाथि पर्न थालिसक्यो, जनता धमाधम उपचार नपाएर मर्न थालिसके । यहाँसम्म कि अक्सिजनको अभाव छ, खोप छैन, अन्य स्वास्थ्य उपकरण पनि नपाइने भइसक्यो । धनीमानी र प्रभावशालीको उपचार भइरहेको छ, आमनागरिकले अकालमा ज्यान गुमाउनु पर्ने बाध्यात्मक अवस्था छ । जनतालाई यसरी मर... भनेर छाड्न मिल्छ ?
जनतासँग कर उठाइरहने । सरकार र संघका नाममा कार्यकर्ता पालिरहने र खरिद, विकासका नाममा भ्रष्टाचार गरिरहने । यतिबेला जनता उपचार उपचार भनेर चिच्याइरहदा सरकारले सकिन्न भनेर हात उठाएको छ ।
यो अवस्थामा सरकारले तमाम बजेट जनस्वास्थ्यमा लगाउनु पर्छ । हुने खानेहरूले उपचार र हुँदा खानेका लागि सहयोग गर्नुपर्छ । जसले जे सक्छ, जहाँबाट सक्छ, उसले योगदान दिनुपर्छ । सौताको रिसले पोइको काखमा सु गर्ने जस्तो काम गरिरहेका छन् पार्टीहरूले । जनताप्रतिको दायित्व हरेक पार्टीको उत्तिकै छ । सरकार असफल भयो भनेर पार्टी र नेताहरूले सुख पाउनेछैनन् । जति जनता अकालमा, उपचार नपाएर, अक्सिजन नपाएर मरिरहेका छन्, ती सबैको हिसावकिताव हुन्छ, त्यसको मूल्य हरेक नेताले चुकाउनुपर्छ । भन्नलाई जनताप्रति जिम्मेवार, जननेता भनेर नाक फुलाउने, जनतालाई पर्दा बेवास्ता गर्ने ? यो सरकारको मात्र होइन, यो पद्धति, लोकनेता, लोकतन्त्र र सबै राजनीति गर्नेहरूको असफलता हो ।
जनतलो के बिगारे ? भनेजति कर तिरिरहेका छन् । जनताले तिरेको करलाई चौरासी व्यञ्जन बनाएर खानेहरूले आज जनताको उपचारका लागि के गरे ? किन जनताले खोप पाइरहेका छैनन् ? किन जनता बिरामी हुँदा अस्पतालमा बेड छैन ? अक्सिजनको व्यवस्थासम्म गर्न सकेन सरकारले । सरकारले सकेन भने सरकारको हातमा हात मिलाएर तमाम राजनीतिक दल, नेताहरूले सघाउनु पर्छ । देशका धनाध्ये बर्ग, सबै तह र तप्काका पैसावालहरूले सघाउनु पर्छ । एकदिन सबै मर्छन्, कोरोना संक्रमणले धनाध्येलाई माया गर्दैन । आगोको काम खरानी बनाउनु हो । यो यथार्थ बुझेर असफल ओली सरकारको असफलतामा रमाउनु भन्दा सबैले यो महाविपतलाई टारौं, त्यसपछि ओली अथवा कुने पनि नेताको हिसाव हुनसक्छ ?
लोकतन्त्र किन ल्याइयो ? चुनाव किन भयो ? चुनावी सरकार र संसद किन गठन गरियो ? ७ प्रदेश र ७ सय ६३ सरकार किन गठन गरियो ? यी सबै जनताका लागि हो, लोकतन्त्रका लागि हो भने लोक र लोकतन्त्र बचाउन यी सबै निकायहरूले आआफ्ना कर्तव्यको पालना गर्न किन उदासीन देखिन्छन् ?
लोकको दुःख, भोक, महामारी, संकटमा सरकारले हात उठायो, जनप्रतिनिधि र पार्टीहरू चुपचाप बसेका छन् । राजनीतिक दलहरू यस्तो विपतमा पनि राजनीति बगारिरहेका छन्, षडयन्त्र र सरकार फेर्ने कार्यमा लागेका छन् भने योभन्दा गएगुज्रेको अधर्मी राजनीति अर्को हुनसक्दैन । यो राजनीतिक आतंक हो ।