वरिष्ठ अधिवक्ता शिव सिग्देल - -
समाजवादी वीपीको कांग्रेस कहाँ छ भनेर खोजेको धेरै भयो, अहँ मैले कतै देखिन । तर पनि प्रजातन्त्रको विकल्प छैन र नेपाली कांग्रेस नै हो प्रजातन्त्रको बिडा उठाउने ।
वीपीको पार्टी नेपाली कांग्रेसको रूख काटियो होला, जरो बाँकी छ । जरो भएपछि पलाउन सक्छ । हरेक कांग्रेसीले ०४६ सालपछि के के गल्ती भए, के के कमजोरी रहे, के के सुधार हुनुपर्छ भनेर सोच्नु र बहस गर्न जरूरी छ । तबमात्र नेपाली कांग्रेस कांग्रेसजस्तो देखिएला ।
कांग्रेसले खोज्नुपर्छ, सम्झनुपर्छ वीपीलाई, गणेशमान सिंहलाई, सूर्यप्रसाद र सुवर्ण शमशेरहरूलाई । कुन तरिकाले कांग्रेस चलेको थियो, कांग्रेसका नीति, सिद्धान्त र निर्देशक सवालहरू के के थिए, आज कांग्रेस कहाँ छ ? यी सबैको उत्तर नखोजी कांग्रेस देखिनेछैन ।
मदन भण्डारीको जबज होस् कि मनमोहन सिंहको प्रजातान्त्रिक चोखो छवि, एमालेमा केही पनि छैन । एमालेमा जे छ, सत्ता स्वार्थ छ । आफूलाई कम्युनिष्ट भन्नेहरू हुनसम्मका पुँजीवादी बनेका छन् । शिक्षा, स्वास्थ्य र सुरक्षामा लगानी गर्न हुन्न भन्ने कम्युनिष्टहरू नामी लगानीकर्ता बनेका छन् र आइएनजीओ चलाउनेहरू पनि कम्युनिष्टहरू नै बढी छन् । कम्युनिष्टहरू नै राष्ट्रवाद खोकेर कहिले थाक्दैनन् । जनतालाई भ्रम छर्न कम्युनिष्टले जति कसैले जानेनन् ।
जनता समाजवादी भनौं कि राप्रपा, राष्ट्रिय जनमोर्चा अथवा ससाना दल, तिनमा व्यक्ति स्वार्थका सवालबाहेक केही पनि देखिदैनन् । भन्नलाई सबैले मह दलेको कुरा गर्छन्, ठूला ठूला भाषणबाजी पनि सुनिन्छ, तर कसैमा पनि असली देशभक्तिको व्यवहार देखिन्न, जबसम्म व्यवहारमा देशभक्तिपूर्ण र जनताप्रति जवाफदेहीता देखिन्न, तवसम्म ती नेता, ती दल खोक्रा हुन् भन्नुपर्छ । सत्य यही नै हो ।
भुरे टाकुरे पार्टीका गन्थन गर्नुभन्दा पनि यथार्थमा नेपालमा कांग्रेस छ कि कम्युनिष्ट छन् । यिनै दुई पार्टीमा राजनीति घुमिरहेको छ । यी दुबै पार्टीमा देखिएको समानता भनेको नेताहरूमा सत्तास्वार्थ र गुटबाजी नै हो । यी दुबै पार्टीले आफैलाई ऐनामा हेरेर सुध्रिने हो भने नेपालको राजनीतिमा दुई पार्टीभन्दा अरू हुनेछैनन् । जसपा अथवा राप्रपाले वैकल्पिक शक्ति बन्ने गुड्डी हाँके पनि राजनीतिको मियो कांग्रेस कम्युनिष्ट नै हुन् र यी दुबै पार्टीले आफ्ना विचार, सिद्धान्त र निष्ठा खोज्नेबेला यही हो ।