अधिवक्ता गंगा दहाल–
महिलालाई होच्याउने कमजोर बनाउने काम संस्कारकै रूपमा बिकास हुँदै अहिलेको अवस्था सम्म आइपुगेकै हो । महिलाको शक्तिलाई तल खसाल्ने काम महिलाका कामलाई कामै नमान्ने संस्कार हिजो पनि थियो, आज पनि नभएका होइनन्, छदैछ । महिलालाई हेप्नै पर्छ भन्ने संस्कार मस्तिष्कमा जतिसुकै पढेलेखेका घर घराना र समाजमै पनि जरा गाढेरै बसेको छ, लिसो झैं टास्सिएकै छ । यो कसैको दोष होइन समाजको भनौं या सोचको संस्कार संरचना नै यस्तै बन्दै आयो । हुन त हिजो भन्दा आज केही परिवर्तन नभएको चाहिँ होइन । केही मात्रामा परिवर्तन भएको पनि छ । हुने क्रम पनि जारी छ । यो सबै चेतनाको प्रतिफल हो । तर, पितृ सत्तात्मक सोच परिवर्तन गर्न महिला जातिले ठूलै धक्का दिनुपर्ने छ । यसका लागि महिलाहरूमा मनोबल बढ्नैपर्छ । महिलाले नै नेतृत्व लिन अग्रसर हुनैपर्छ ।
मेरि आमाले भोगेको स्थिति मैले भोग्नु परेको छैन । मैले भोगेको स्थिति मेरी छोरीले भोग्नु नपर्ला । विकासको क्रममा अझ समय लाग्ला । यस्मा आशावादी हुनुको विकल्प छैन । हिजो देखिनै पुरूषले महिलाई मात्र नभएर महिलाले महिलालाई हेप्ने संस्कार पनि छदैछ । यो संकार २१औं सताब्दिमा आएर पनि हराउन सकेको छैन । बिकास क्रममा तरिका मात्र अलि फरक छन् त्यति मात्र हो । आज पनि महिलाको आर्थिक सामाजिक राजनैतिक क्षेत्रमा समान सहभागिता केही कानुनी रूपमा भएता पनि ब्यबहारिक रूपमा पूर्णता पाउन सकेको छैन । उनीहरूको निर्णायक नेतृत्व स्वीकार नगर्दा देशको समग्र बिकास क्रममा बाधा अवरोध भएको छ भन्ने कुरामा कस्ले विश्वास गर्ने ? भ्रष्टाचार बढ्दै गइरहेका छन् । हत्या हिंसा बलात्कार बढ्दै गहिरहेका छन् । नगण्य रूपमा महिला नेतृत्व तहमा छन्, त्यसको प्रभाव पनि नगण्य रूपमा नै छ । अहिले मुलुकमा महिलाका बिबिध समस्याको अन्त गर्न राज्यलाई ठूलो चुनौती नभएको होइन । आम समस्या महिलाको मात्र समस्या होइन यो समस्या घर, परिवार, समाज र राज्य सँग जोडिएको समस्या हो भन्ने कुरा बुझ्न अत्यन्त जरूरी छ । नीतिनिर्माताहरूलाई बुझाउने महिलाले नै हो । पितृसत्ताले बुझाउन चाहिरहेको छैन ।
प्रत्येक मानिस महिला होस् या पुरूष सम्माजमा आएपछि सम्मानपूर्बक बाँच्न पाउनु पर्छ । यो अधिकार मानव भएका कारण पाउने अधिकार हो । महिला होस् या पुरूष जात जाति कालो, गोरो, धनी, गरिव जो जे जस्तो भए पनि विभेद हुनुहँुदैन । मानव अधिकार सबैका लागी बराबर हुनुपर्छ । समानताको यो अधिकार कसैले दया माया गरेर दिने कुरा पनि होइन । जन्मसिद्ध अधिकार हो । हुन त हो तर के गर्नु समाजमा त्यस्तो छैन विभेद कुनै न कुनै रूपमा कायमै छ । चाहे नेतृत्व तहमा होस् या अरू कुनै स्थितिमा समाजलाई पुरूष नै चाहिन्छ ।
अबका दिनमा महिलाहरूको जीवन स्तर प्रतिष्ठालाई सुधार्न महिला र पुरूषबीच महिला–महिला बीच हुने विभेद अन्त गर्न सोचमा परिवर्तन ल्याउन बिचार विश्लेषण गर्न जरूरी हुन्छ । विश्लेषण गरेर मात्र हुँदैन साथसाथै बैकल्पिक उपायहरू के के छन् खोनी गर्नैपर्छ । यदि साँच्चै महिलालाई समाजले समान रूपमा हेर्न चाहेकै हो भने महिलालाई पुरूष सरह स्थापित गर्न चाहेको हो भने, महिला मुक्तिका लागि बिगुल बजाउने बेला यही हो । महिला माथि हुने गरेका हिंसा र गरिबीका विरूद्धमा कडाइका साथ राज्य लाग्नुपर्छ । हामी लाग्नुपर्छ । प्रत्येक महिलाका अवस्था मसिनो गरि केलाउनु पर्छ ।