अधिवक्ता गंगा दहाल–
मानव सभ्यतादेखि लिएर अहिले यो मुलुकमा जति पनि परिवर्तनहरू भएका छन्, तत् तत् परिवर्तनहरूमा अत्यन्त ठूलो भूमिका महिलाहरूको पनि छ भन्नमा अत्युक्ति नहोला । पुरूषसरह महिला पनि विद्रोहमा उत्रिएकै हुन् । आजको यो परिवर्तनका लागि हिजो पुरूष सरह महिला पनि गिरफ्तार भए, चिसा छोडीमा रात बिताए, कैयौं महिला घाइते भए, कयौंले मृत्यु बरण गरि सहिद भए, जेल नेल सबै भोगे तर पनि महिलामाथि अन्याय घटेन, विभेद घटेन । महिलालाई निर्णायक तहमा र पदमा जानबाट विभेद भएकै छ । महिलालाई पुरूषभन्दा असक्षम मानिने सोचमा कुनै परिवर्तन आएको आभाष कसैले पाएनन् ।
पुरूष सोच गलत छ । महिलालाई हेर्ने समाजको दृष्टिकोणमा पूर्णरूपमा परिवर्तन आउन सकेको छैन । मुलुक परिवर्तन गर्न महिला शक्तिको भूमिका कम छैन यो कस्ले देख्ने ? बोलीलाई व्यबहारमा ढाल्न कति गाह्रो पर्ने रहेछ । म चुनौतीका साथ भन्छु, यदि महिलाले पुरूष सरह समय पाउने हो भने के गर्दैनन् होला ? जस्तोसुकै समस्यालाई पार लाउन सक्छन् । बुद्धि लगाएर होस् या विवेकले महिलाले अहिले पनि समयलाई ब्यबस्थापन गरेरै चुलो चौैको देखी विभिन्न निकाय सरकारी गैरसरकारी प्रशासन संगठन खेलमैदान राजनीति हरेक स्थानमा आफ्नो भुमिका इमानदार संयमताका साथ निभाएका छन् । महिला कमजोर छैनन्, महिलालाई कमजोर ठान्ने सोच कमजोर हो भन्ने लाग्छ ।
त्यसैले म भन्छु महिलालाई महिलाको उदेश्यमा पुग्न प्रेरित गर्नको लागी अबको राजनैतिक माहोल महिला मैत्री हुनुपर्छ । यदि राजनीतिमा माथी केन्द्र देखि स्थानीय तहसम्म अनि हरेक निर्णायक स्थानमा र निर्णायक भूमिका देखि कार्यान्वयनको पाटो समेतमा महिलालाई अधिकार दिने हो भने अहिलेको जुन अन्योलको परिस्थिति आउने थिएन जस्तो लाग्छ, स्वभावैले महिला संयम कोमल समझदार इमान्दार धर्यवान भएको कारणले । त्यसले पनि अब महिलाहरू जुन जुन आस्था बोकेका भए पनि आम महिलाको हक अधिकारका लागी सबै महिला एक जुट हुने वातावरण बनाउँदै अघि बढ्नु पर्छ किनभने महिला माथिका विभेद पूर्ण रूपमा अन्त्य गराउनु छ । महिला मुक्तिका लागि महिला अग्रसर हुनुपर्छ ।
महिला अग्रसर नहुने हो भने महिलालाई कमजोर ठान्ने, महिलालाई दोस्रो दर्जामा राख्ने राजनीतिक र सामाजिक सोचमा परिवर्तन आउने छैन । यही कारण हो, राज्यका निर्णायक तहसम्म महिलालाई असक्षम मानिएको छ ।
हुन त सभामुखदेखि राष्ट्रपति, प्रधानन्यायाधीश महिला भए । एकाध अवसरले पुग्दैन, हरेक समय हरेक स्थानमा महिलाले समान अवसर पाउनुपर्छ । महिलालाई आर्थिक क्षमता अभिबृध्दी गरि नेतृत्व तहमा पु¥याउनु छ । महिलाले सवल बन्नुपर्छ, सवल बनाउनु पर्छ, कमजोर छु भन्ने मानसिकताको अन्त्य गर्नु छ । त्यसैले आम महिला एकजुट हुनै पर्छ । जो जुन आस्थाका भए पनि सबै महिलाका समस्या एउटै हुन भनेर अघि बढ्नु अबको महिला आन्दोलन हो । महिला अधिकारका कुरा सुनाएर मात्र केहि हुन्न । यस पटकको नारी दिवसले नयाँ आयाम ल्याओस् । अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना आम नारीलाई ।