अधिवक्ता गंगा दहाल–
युवा प्रेमी प्रेमिकाको जस्तो फूलको आदानप्रदानबाट सुरु भएको थियो, एमाले र माओवादीको एकीकरण र दुबैले भनेका थिए, नेकपाका हामी दुई पाइलट । अब नेकपा ५० वर्ष शासन गर्छ । नयाँ नेपाल बनाएर देखाउने छ भनेर समृद्ध नेपाल, सुखी नेपालको सपना देखाएकै हो ।
खुब हौसिएका थिए एमाले र नेकपा माओवादीले एकीकरणको न्वारानबाट नयाँ ना नेकपा पाउँदा । हौसला बुलन्द थियो । प्रचण्ड र माधव नेपालको प्रस्ताव र समर्थनबाट केपी ओली प्रधानमन्त्री बन्नुभयो । नेकपाको झण्डै दुई तिहाइको शासनभार सुरु भयो । देशै नेकपाकरण अर्थात सूर्यमय बनेकै हो ।
सत्ता, शक्ति र प्रभावका कारणले यी दुई पाइलटबीच बिस्तारै फाटो बढ्दै गयो । प्रेम पातलिदै गयो । मानौं, एकदोस्रालाई दिएको फूल ओइलायो ।
फूल ओइलाएपछि मुर्झाउँछ र सकिन्छ । यी दुईको प्रेम पनि झरेर टिपेको फूल थियो शायद, मुर्झाउँदै गयो र सकियो । यी दुईबीच अब फूल बाँकी रहेन । बाँकी छ त काँडा बाँकी छ । त्यही काँडाले एक अर्कोलाई घोच्न थालेका छन् । कसले बढी घोच्ने, मारामार पो सुरु भयो । पार्टी कार्यालयभित्रको मतभिन्नता, प्रेसमा पुग्यो, प्रेसबाट टीभीहुँदै सडकमा छताछुल्ल पोखिन थालेका छन् । स्थिति यस्तो आएको छ कि कसले कसको राजनीति सिध्याइदिने ?
प्रेम बिग्रियो भने मान्छे पागल हुन्छ भन्थे । राजनीतिक प्रेम, त्यो पनि बुढा नेताहरुको राजनीति प्रेम बिग्रिएर महाभारत युद्धमा परिणत भएको छ ।
जनयुद्धबाट लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेका यी दुई नेताले देशलाई एउटा सुन्दर, सुखी भविष्य देलान् भन्ने विश्वास यतिबेला तुहिसकेको छ । कार्यकर्तापंक्ति दुबै खेमामा बिभाजन हुनपुगेका छन् । यिनेका यो युद्धको बाछिटाले अन्ततोगत्वा गरीब नेपाली र नेपाल राष्ट्र रक्तरञ्जित हुने त होइन ? आशंका र संशय बढ्दै गएको छ । यिनलाई तह लगाउन संविधानले सकेको देखिएन ।