शाश्वत शर्मा- -
राजावादी हिन्दुवादी एकथरि नेताहरु अहिले औधि खुशी देखिन्छन् । जनआन्दोलनबाट नै कोठे बैठक, फोस्रो आश्वासन, दिवास्वप्नमा लीन यी नेताजीहरु केही समयदेखि आँधीबेहरीको रुपमा आएका राजतन्त्र पुनस्र्थापना र हिन्दुराष्ट्र कायम गर्ने आन्दोलनले दिनप्रतिदिन जरा गाडेपछि यी आफूलाई खाँटी राजावादी बताउनेहरुको पारा सय डिग्रीभन्दा माथि चढेको छ । साथै अहिलेकै संविधान राजतन्त्र होइन कि पञ्चायतकालीन सक्रिय राजतन्त्रको पुनस्र्थापना भइसकेको छ, तिनको हाउभाउ कटाक्ष हेर्दा त्यस्तै देखिइसकेको छ । केही हजारको शान्तिपूर्ण जुलूसले गर्दा मात्र पनि दिउँसै सपना देख्नेहरुलाई अझ झन भारत र चीन पनि नेपालमा राजतन्त्रकै पक्षमा उभिएका छन् भनेर यू ट्यूव च्यानलहरुमा पी खरेल, डा. सुरेन्द्र केसीहरुको मुखारविन्दबाट पटक पटक आएपछि यिनको भुइँमा खुट्टा नै देखिन्न ।
अर्थात गणतान्त्रिक शासन व्यवस्था र यो शासन व्यवस्थाका नेताहरु असफल भएपछि मात्र राजतन्त्र पुनस्र्थापना हुनसक्ने ठानेर बसेका यिनीहरुले गणतन्त्रको स्थापना भएपछिको करीव १५ वर्षसम्म माखो पनि मारेनन् । कोठे बैठक र जी हजूरीमा नै दिन बित्यो । आन्दोलन, सभा, जागरुक अभियानहरुलाई हिम्मत भएन भएन । राजतन्त्रको उपादेयता, हिन्दुधर्मको महत्वका बारेमा आफ्नै नाममा लेख रचना छापेर निकाल्ने हुतीसमेत देखिएन । अब गणतन्त्र पूर्ण रुपमा असफल भइसकेपछि, नेताहरु असक्षम, भ्रष्ट शिद्ध भइसकेपछि र उत्तेजित जनताले आफ्नो आवेगलाई सडकमा पोखन थालेपछि यी कथित राजतनत्तवादीहरुलाई पनि केही गरौं भन्ने साहस आएको देखिन्छ । नत्र भने विभिन्न किसिमका बाबाहरु, ज्योतिषीहरुकहाँ ताल न बेतालका भविष्यवाणी ठाउँ कुठाउँ पु¥याएर आफ्नो दायित्व पूरा गरिरहेकाहरुलाई निश्चय पनि खाइसकेको कुराले पखाला चल्थ्यो । खाएको त्यही पचाउन मात्र पनि अनेक गर्ने कुतत्वहरु थिए । भारतका तत्कालीन प्रधानमन्त्री डा.मनमोहन सिंह, कांग्रेस आई अध्यक्ष सोनिया गान्धीदेखि अहिलेका प्रधानमन्त्री मोदी अनि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसम्मले नेपालमा राजतन्त्र पुनस्र्थापना गराइदिने भए भनेर आफूलाई समेत झुक्याएर देख्दा, सुन्दा यिनलाई जनतामाथि अलिकति पनि विश्वास र भरोसा छैन भन्ने लाग्छ । नेकपाका अध्यक्ष प्रचण्डले हालै गरेको मुम्वइृ भ्रमणका बेलामा त्यहाँका राज्यपाल भगत सिंह कोशियारीले नभेटेको कुरालाइ यिनले राजतन्त्र पुनस्र्थापनासँग जोडेर हेर्छन् । के भन्ने ?
अहिले भारतीय प्रम मोदीका निकट भनेर प्रचारित भारतका पूर्व सैन्य अधिकारी सम्मिति ‘हिन्दु चेतना टिम’ले नेपालमा हिन्दुराष्ट्रका लागि भइरहेको आन्दोलनलाई सहयोग गर्ने घोषणा गरेको भनेर महामण्डलेश्वर राजावादीहरु फुरुङ्ग परेका छन् । उक्त टिमको अभियानबारे जानकारी दिदै मोदीनिकट भनेर प्रचारित भारतीय सेनाका पूर्व मेजर जनरल जीपी बख्सीले ‘हामी नेपाललाई हिन्दूराष्ट्र बनाउनका लागि सहयोग गर्छौं’ भनेर अनेक खालका प्रचार भइरहेका छन् । जानकारहरुका अनुसार यहाँका राजनीतिक दलहरुले भारतको तलुवा चाटुन्जेल यी बख्सी नेपालको राजतन्त्र भारतका लागि घातक शिद्ध हुन्छ भनेर डुक्रदै हिड्थे । गणतन्त्र र यी भ्रष्ट नेताहरुलाई भारतले संरक्षण दिनुपर्छ भन्ने मान्यता यिनको रहेको थिो तर अब नेपालको वामपन्थी सरकार चीनपरस्त भएको र नयाँ नक्सा प्रकरणपछि यी बख्शीहरुलाई नेपाल हिन्दुराष्ट्रका साथै राजतन्त्रको याद आउन थालेको छ । नेपालका राजतन्त्र र हिन्दुवादी जति खुशी भए पनि सीमापारिका यी बख्सीहरुले कसरी र कुन तरिकाले राजतन्त्र र हिन्दुराष्ट्रका लागि मद्दत गर्ने सक्छन् ? तिनको उद्देश्य के के हुन् ? यिनको नेपालमा हैसियत के ? भारतीयले नेपालमा खुलेआम हस्तक्षेप गर्छौं भन्दैछन् । निश्चय नै यो गणतान्त्रिक व्यवस्था असफल भइसक्यो, संविधान दुर्घटनामा परिसक्यो, नेपाली नेपालीबीच बिभाजनका रेखा कोरिइसक्यो । यो शासन व्यवस्था छिटो जानुपर्छ । यसको लागि नेपाली राजावादी, हिन्दुवादी र स्वाधीनतावादी जाग्न थालेका छन् । यहाँ कुनै ब्वाँसालाई न्यायाधीश बन्ने छुट छैन ।
मात्र प्रश्न नेतृत्वको छ । राजावादी र हिन्दुवादीहरु झण्डै ३ दर्जन संघहरुमार्फत सक्रिय छन्, तिनमा एकता छैन । एकले अर्कोलाई आलोचना गरिरहेका छन् । जुन दुर्भाग्यपूर्ण घटना पनि हो । राप्रपाले नेतृत्व लिन तैयार छौं भने पनि यी संघसंगठनहरुले विश्वास गर्न सकेका छैनन् । स्पष्ट कुरो के हो भने हिन्दुवादी र राजतन्त्रवादीहरु स्वाधीनतावादीहरुसहित एकढिक्का नभएसम्म अर्को परिवर्तन सम्भव छैन । सबैले विश्वास गर्नसक्ने एउटा नेता त देखिनैपर्छ । पारीबाट होइन, आफैले परिवर्तन गर्न सक्छौं भन्ने विश्वास राखौं । आपसको स्वार्थ र टकराव छाडौं । संघीयताको खारेजी, राजतन्त्र र हिन्दुराष्ट्रको पुनस्र्थापना तवमात्र सम्भव छ । जबसम्म राजतन्त्र र हिन्दुवादीहरु कोठाबाट निस्कदैनन्, एक भएर निस्कदैनन् र सडक आन्दोलनमा समाहित हुँदैनन्, ढुङ्गा हानेर र चौतर्फी घेरावन्दी गरेर ल्याइएको यो गणतन्त्र जाँदैन । हामीले खोजेको राजतन्त्र र अन्य राजनीतिक शक्तिसमेत अटाउने लोकतान्त्रिक व्यवस्था हो ।