देवी काफ्ले- -
फेरि आज बेशी चौतारामा माईक घन्किरहेका छन् ।चर्का नारा गुन्जीरहेका छन् । देश बिकासमा जोड दिनेछौं, देशलाई सिंगापुर बनाउछौं । हामी यो देशलाई स्वीट्जरल्यान्ड बनाउंछा, भोका नांगा कोहि हुने छैनन् । गाँस बाँस कपासको ब्यवस्था हुन्छ । गाउँमा गाडी गुड्नेछन् । चाइना रेल चढ्ने कि भारतिय रेल तपाईंको रोजाई हुनेछ । स्कुल, कलेजहरु खोलिनेछन् । शिक्षा निशुल्क हुनेछ । स्वास्थ्यचौकी, अस्पताल खुल्ने छन् । तपाईंहरु पनि डाक्टरसँग स्वास्थ्य परिक्षण गराउन पाउनुहुनेछ । सुत्केरी तथा अन्य अति बिरामीहरुले गाउँमै सेवा लिन पाउने छन् । अब सामन्त र हुनेखानेका दिन गए । तपाईं हाम्रा छोराछोरी हो डाक्टर हुने, प्रोफेसर हुने ।राज्य सन्चालन गर्ने, प्रशाशनिक काम गर्ने अर्थात् देशको बागडोर सम्हाल्ने जिम्मा तपाईं हाम्रो हो ।
हामी हाम्रा लागि लडेका हैनौं तपाईंहरुकै सन्ततिका लागि लडेका हौं । हाम्रो बलिदान खेर जान दिने छैनौं । आजपनि हाम्रा गाउंघर बेरोजगारी, भोकमरी,अशिक्षा,रोग,महामारीको चपेटामा छ । युवाहरु बैदेशिक रोजगारका निम्ति खाडी भासिएका छन् । लाख खर्चन सक्ने खाडीमा त्यो पनि नसक्ने भारतका विभिन्न शहरमा मजदुरी गर्न बिवस छन् ।हामी युवाका लागि स्वरोजगारका कार्यक्रम ल्याउने छौं । देशमै कृषिक्रान्ति गर्ने छौं । किसानहरुको उच्च सम्मान हुनेछ । किसान हाम्रा अन्नपूर्ण हुन् । उनीहरुको चौतर्फी सुबिधाका लागि अनुकुल वातावरण मिलाई कृषिजन्य उत्पादनको बृद्धिका लागि मलबिउ, सिंचाई, प्राबिधिक सबैको निशुल्क ब्यवस्था मिलाईने छ । कृषि बजारको ब्यवस्थापन गरिनेछ ।
भिमेको छोरो रत्नेले बारीको डिलमा बसेर दिनभरी भाषण सुन्यो । ऊ एकछिन स्वीट्जरल्यान्ड सयर गर्यो । सफासुन्दर बाटोघाटो,ब्यवस्थित शहर, मेट्रो रेल, मोनोरेल, समुन्द्र माथि, भित्रबाट पनि यात्रा गर्यो । फेरि नेपाल आयो । आफ्नो झुप्रो घर चिटिक्क बान्की मिलेको सबै सुबिधायुक्त थियो । उसको बाबाले कृषि फर्म चलाएका थिए । उत्पादन गरेका कृषिजन्य बस्तुहरु सरकारले नै उचित मूल्य तिरेर लग्यो । समयमा मल, बिउबिजन, सिंचाइको पनि राम्रो ब्यवस्था थियो । मनग्गे आम्दानी थियो । उसकी बहिनीले गाउकै स्कूलमा पढेर शिक्षक भैसकेकी थिई । भाइ छात्रवृत्तिमा एम बि बि एस पढ्दै छ ।
गाउँ झिलीमिली छ । बिजुली बत्ती शुद्ध खानेपानी,यातायातको सुबिधा,स्वच्छ वातावरण आजकल गाउँ छाड्नै मन नलाग्ने । रत्नेकी आमा बिरामी भईन् नजिकैको अस्पतालमा अप्रेशन भयो । उनी निको भईन् ।अब गाउंमा स्थानिय निकायको चुनाव हुने बेला आयो । रत्ने एउटा ईमान्दार, कर्मठ, मेहेनती युवा थियो । उसले आफ्नो कारखानामा करिब सयजना युवालाई रोजगारी दिएको छ । सामाजिक काम भनेपछि मरिहत्ते गर्छ । समाजका सबैजनाले उसलाई माया गर्छन् र यसपालीको नेतृत्व उसैलाई दिन खोजेका छन् । चुनाव आयो रत्नले पनि उमेदवारी दियो ।चुनाव जित्यो । अनि उसले पनि मन्चमा त्यसरी नै भाषण गर्दैथियो तालीको गड्गडाहटले झल्याँस्स भयो ।
अब रत्ने उठ्यो । सालसालै चुनाव, जब जितेर जान्छन् मुख नदेखाउने प्रवृत्तिले जनता आजित छन् । गाउका समस्या ज्यूँका त्युँ छन् । कानून सानाका लागि मात्र लागू हुन्छ । चुनावी खर्च भन्दै चन्दा उठाउने अनि सोझासाझा जनताको भोटलाई रक्सी, मासुभातमा खरिदबिक्री गर्ने ? अघिल्लो चुनावमा जितेर गए पछि के गर्यौ कामको विवरण देउ । मानेकी छोरीको बलात्कार पछि हत्या भयो अपराधी पत्ता लगायौ ? तिमीहरुले कटाएर बोकाएको काठसंगै पक्राउ परेको गुमानेलाई न्याय कसले दिने ? खहरे खोलाको पुल निर्माणमा हसुरेको कमिसनले आज हामी फड्के तरेर हिड्न बाध्य छौं । यस्ता सपना र कल्पनाका लड्डु बाँड्न सालैपिच्छे हाम्रा दैलामा नआउ भन्दै नेताको कठालो समात्यो । अहिले भनिएको चुनावमा यस्ता हजार रत्नेहरु जन्मनेछन् होशियार ।