धर्मरत्न श्रेष्ठ- -
लोकतन्त्र आयो भनेर हौसिनेहरु हाँस्न थालेका छन् । हाँस्नका लागि अव सिस्नोपानीले देखाउने हास्यव्यङ्गका लागि तिहार पर्खनु पर्दैन । मदनकृष्ण, हरिवंश आचार्यले देखाउने कुनै हाँस्य टेलिश्रृंखला पनि कुर्नु पर्दैन ।
नयाँ नेपाल बनाउँछु भन्नेहरुले दिनहुँ हाँस्यव्यङ्ग देखाइरहेका छन् । फरक यत्ति छ कि यो राजनीतिक हास्यकला हो, मुख्य कलाकारहरुमा प्रधानमन्त्री केपी ओली, उनका प्रतिपक्षी पूर्व प्रधानमन्त्रीद्वय प्रचण्ड र माधव कुमार नेपाल रहेका छन् । तिनका पछि पछि लाग्ने, नारा लगाउँदै ताली पिट्नेहरुमा तिनका कार्यकर्ताहरु छन् । यिनलाई अन्धभक्तहरु भन्दा फरक पर्दैन । कारण यिनीहरु होनहार भएर पनि यस्ता हास्य कलाकार नेताका पछाडि आँखा चिम्लेर समर्थक बनेका छन् ।
प्रचण्ड भन्छन्– ओलीले हारिसके । वैशाख सम्ममा यिनी जाने भनेको सडकमै हो । ओली सर्वसत्तावादी कलाकार हुन्, यिनको कलाको काम सकियो । माधव नेपाल भन्छन्– ओली नैतिकहीन हुन्, यिनको बोलीको ठेगान छैन ।
ओली के कम ? ओलीले जवाफ दिए– दोस्रो श्रेणीको अध्यक्ष बन्न पाएकै थियो, किन आत्तिएका हुन् कुन्नी । कति पुड्के हुन मन लागेको हो ? माधव नेपाल त पुड्केका कार्यकर्ता मात्र हुन् । तिनमा त नेतामा हुने कुनै गुण नै छैन ।
केपी ओलीका होनहार कार्यकर्ताहरुले सडकमा नारा लगाएका छन्– बोली अलि पिरो हो, केपी ओली हिरो हो । दुई तिहाइ बहुमत दिने जनता यी तीन नेताको भाषणकला सुनेर चकित छन् । हाँस्नु कि रुनुको स्थितिमा पुगेका छन् ।
डा.बाबुराम भट्टराईले चुपचाप रहेको प्रतिपक्षी नेपाली कांग्रेस र सत्ताधारी दुई खेमामा बिभक्त नेकपालाई सुझाव दिएका छन्– ओलीलाई फाल्नुपर्छ । जीवनभर निरंकुश राणातन्त्र र राजतन्त्र विरूद्ध लडेका बिपीले एउटा विशिष्ठ अवस्थामा वाध्य भएर अपनाएको राजासँग ’मेलमिलाप’को असफल कार्यनीतिलाई नेकाले सर्वकालिक रूपमा मनाउनु गलत हो । १२ बुँदे समझदारीदेखि गणतन्त्रसम्मको यात्रालाई मनाउने र अहिले ओली प्रतिगमनविरूद्ध दरोसँग उभिने नीति लिनु नेपाली कांग्रेसका लागि हितकर हुनेछ । राप्रपा त कस्सिएर राजतन्त्र र हिन्दुराष्ट्र फर्काउन कम्मर कसेर लागेकै छ । राप्रपाले बुझेको छ, यो नारा लगाइएन भने आगामी कुनै पनि चुनावमा जित्न सकिन्न । आम चुनावमा पछारिएको पीडा बिर्सेको छैन ।
मधेशवादी पनि छ । आफैमा हराइरहेको छ । बाबुरामलाई भित्र्याएर जनता समाजवादी बनेकाहरुको आगामी चुनावमा दाल गल्नेवाला छैन । मधेशवादीहरु जसरी पनि सत्तामा जाने र लुट्ने दाउपेचमा लागिरहेकै छन् ।्
अर्थात् राजनीतिक हास्य नाटक जोडतोडले चलेको छ । यो अवस्था आइसक्दा पनि देशभक्तहरु गफैमा सिमित छन् । यही मौका हो, यिनलाई परास्त गर्ने भनेर देशभक्तहरु किन बुझिरहेका छैनन् । यस्ता हास्य नाटक हेरेर बस्दा यिनै कलाकारले देशलाई अरु रसातल पु¥याउन सक्छन् भन्ने हेक्का नराख्नु दुर्भाग्य हो ।्
नयाँ नेपाल, नयाँ नेपाल भन्दाभन्दै देश अर्को पचास वर्ष पछाडि धकेलियो । यस्तै हास्यरसमा अलमलिने र यिनै कलाकारहरुलाई नेपालको छातीमा नाच्न दिइरहने हो भने समृद्ध नेपाल र सुखी नेपाली होइन, घरका न घाटका हुनेछौं ।