प्रचण्डको ८ पृष्ठ लामो पत्रको जवाफ दिँदै प्रधानमन्त्री तथा अध्यक्ष ओलीले १० पेज लामो पत्र लेखेर सोधका छन्– नेतृत्व हस्तान्तरणको बाटो छाडेर चलखेल, गुटबाजी किन ? मलाई घेराबन्दी गर्ने, सरकारलाई काम नै गर्न नदिने, यो के भइरहेको छ ?
के विगतमा पनि प्रधानमन्त्रीको हातखुट्टा बाँध्ने र घेराबन्दी गरिएको थियो र ? थोरै नै होला, सरकारले गरेका सकारात्मक काम सरकारमा रहनेले मात्रै प्रचार गर्ने, पार्टीपंक्तिलाई मौन राखिएको थियो र ? सरकारले गरेका राम्रा कामको समर्थनमा कोही बोल्न नहुने, केही चर्चा भएमा कसैको देवत्वकरण भन्दै ईष्र्या गर्ने काम किन भइरहेको छ ? सरकार लोकप्रिय हुँदा नै पार्टी बलियो हुने होइन र ? सोचौं पार्टी एकीकरणपछिको यति लामो अवधिसम्म पनि हाम्रो पार्टी एउटै पार्टीभन्दा संयुक्त मोर्चाजस्तो किन छ ? एकतापछि हाम्रो सरकार एउटा पार्टीको सरकारभन्दा संयुक्त सरकारजस्तो किन छ ? यस्तो संक्रमण अन्त्य गर्न ढिला भएन ? यसका लागि नेतृत्व तहका कमरेडहरूको सामूहिक प्रयास आवश्यक पर्दैन ?