Advertisement Banner
Advertisement Banner

२७ शनिबार, असार २०८३20th June 2026, 4:50:23 am

दशैं दशा नबनोस्

१० सोमबार , कार्तिक २०७७६ बर्ष अगाडि

गंगा दहाल –
दशै न त धेरै जाडो न त धेरै गर्मी यस्तो मौसममा मनाइने हिन्दुहरुको महान चाड हो । यो शरद ऋतुमा पर्दछ । दशै बिशेष शक्ति र सत्यको विजयको प्रतीकको रुपमा मनाइन्छ । महिसासुर, रक्तबिज, शुम्भ, निशुम्भ आदि नाम गरेका राक्षसहरुलाई बध गरी देवताहरुलाई रक्षा गरेको हुनाले दशैमा नारी शक्ति स्वरुप शक्ति देवी दुर्गा भवानीको बिशेष आराधना गरि मनाइन्छ । 
दशैमा देवी दुर्गाको पुजा आराधना गरे पछि सुख शान्ति मिल्छ भन्ने परम्परा छ । त्यसैले घर घरमा दुर्गा भवानीको स्वरुप स्थापना गर्दै पूजा आराधना गरि आफू भन्दा जेष्ठ पाका मान्यजनबाट टीका, नौ दिनसम्म उमारेको जमरा ग्रहण गरि आशीर्वाद लिने मान्यजनको आदर गर्ने, छरिएर रहेका परिवारजन एकै ठाउँमा भेला भै खानपिन गरि खुशी बाड्दै मनाइन्छ । यसरी दशैं मनाउनु भनेको पारिवारिक सौहाद्रता र भेट गर्ने राम्रो अवसर पनि हो ।
तर अहिले समाजको बिकास क्रममा चाड्बाड मनाउँदै गर्दा कहिँ कतै बिकृति बिसङति पनि भित्रिदै आएको पाइन्छ । अर्काको देखासिकी गरि भोज भत्तेर गरि मनाउनै पर्ने, देखाउनै भए पनि गहना र राम्रा लुगा लगाउनै पर्ने, पाहुनाको सत्कार गर्दा जाड रक्सी नभै नहुने, जुवातास कौडा खेली सम्पत्ति सिध्याइ परिवारको बिचल्ली गराउने, प्रचलन बढेर गएको पाइन्छ । अर्कोतिर चाडमा हुनेले मोज मस्ति गर्ने नहुनेको घरमा चुलो पनि नबल्ने, बिहान बेलुकाको छाक टार्न मुस्किल हुने भयो भने यस्तो रमाइलो चाडको कुनै अर्थ हुँदैन । चाड भनेको सबैले गक्ष अनुसार मनाउन पाउनु पर्छ । असमानता बढाउनु द्वन्द्व बढाउनु हो ।
हाँसीखुशी सबैले दशै मनाउँ । दशैं सन्दर्भलाई जोड्दै नारी शक्तिको अर्को एउटा प्रसङ्ग पनि जोड्न मन लाग्यो । जहाँ नारीको सम्मान हुन्छ, त्यहाँ देवाताहरु खुशी हुन्छन् भन्ने जुन भनाई छ, यस भनाइलाई हेर्दा जंगली ढुङ्गे युग देखिनै मातृ शक्तिको सम्मान गरेको पाइन्छ । त्यतिबेला अर्थात जंगली युगमा समाजको नेतृत्व महिलाहरुले नै गर्दथे भन्ने बुझिन्छ । त्यो समयमा महिलाहरु आदरणीय सम्मानित थिएरे । यसरी समाजमा नारी नेतृत्वलाई सम्मान गर्ने पूजा गर्ने प्रचलन निरन्तर रुपमा कायम रहदै आयो । त्यही परिणाम अहिलेसम्म  देवी, भवानी, दुर्गा पूजा गरि मनाएको भनी नारी शक्तिको सम्मान गरेको पाइन्छ ।
समाजमा नारी हिंसाका अनेक रुपहरु विकास भएर गएका छन् । यसलाई रोक्नका लागि समेत दशैंको महत्व बुझ्न सकिन्छ, बुझाउन सकिन्छ । बडादशैंले नारीशक्तिको सम्मान गर्ने र समाजले नारी शक्तिको बोध गर्न सक्यो भने सभ्यताको विकासमा बढ्दो नारी हिंसा मत्थर भएर जानेथियो । हामी २१औं शताब्दीमा त पुग्यौं तर नारी शक्तिलाई आत्मसात गर्न सकिरहेका छैनौं, सबैमा चेतना भया ।