Advertisement Banner
Advertisement Banner

२७ शनिबार, असार २०८३20th June 2026, 4:50:23 am

नारीलाई सेक्सबस्तुमात्र सोच्ने मानसिक रोग हटाऔं

२६ सोमबार , आश्विन २०७७६ बर्ष अगाडि

— अधिवक्ता गंगा दहाल ---
अझै पनि महिला तथा बालबालिका माथी हुने अमानवीय बर्बर हिंसाहरु रोकिएनन् । कानुनका दफा उप दफाले हिंस्रकलाई छुदै छोएन । दिन प्रतिदिन हिंसाका एउटा न एउटा घटना समाचार माध्यमबाट सुन्नमा आइरहेका छन् ।  यो २१औ शताब्दिमा पनि एउटी निर्दोष महिलालाइ बोक्सीको आरोपमा मलमुत्र खुवाउदै निर्घात कुटपिट गरिन्छ । काहीं काहीं त  महिलाको कपाल मुण्डन गरि दिसा खुवाइ कुटपिट गरि शक्त घाइते बनाइयो भन्ने समाचार सुनियो । यदि महिलाले अपराध नै गरेको भएता पनि प्रहरी प्रशासन छ । न्याय निसाफका लागी  अदालत छ तर त्यसो भएन । 
रौतहटमा रेखा देवी ठाकुरले दाइजो नल्याएको निहुमा मृत्यु वरण गर्नुप¥यो । यस्तै हो भने हिंसा मुक्त समाज कहिले हुने ? के हुदैछ समाजमा ?? यसरी  अप्रत्यासित रुपमा हिंसा बढेको विभिन्न समाचार माध्यमबाट तथ्यांक आइरहेको देखिन्छ । चैत्र २१ देखि साउन ३ गते सम्ममा १ हजार ४ सय ६३ महिला हिंसामा परेर प्रहरीमा उजुरी दर्ता भए भने चैत्र ११ गते देखी साउन १० गते सम्म ७ सय १७ जना बलात्कृत भए । २ सय भन्दा बढी बलात्कार प्रयास भएको सुन्नमा आएका छन् ।  
अब यो तथ्यांकले देखाए अनुसार घरेलु हिंसा बलात्कार निर्मूल पार्न समाज, समाजका  हरेक सचेत ब्यक्ति कडाइका साथ पीडित मैत्री हुन अत्यन्त जरुरी छ नत्र भने हिंसा बढेर जाने संकेत देखिन्छ । घरेलु हिंसा, बलात्कार, हत्या, राष्ट्र संघका अनुसार २० प्रतिशतले वृद्धि भएको छ । भनेपछि हरेक ब्यक्तिमा चेतनाको स्तर कति सम्म छ भन्ने कुराको मापन गर्नुपर्ने हुन आउँछ  । समाजमा यहीँ गतिमा हिंसा बढ्नु भनेको मानव अधिकार कर्मी, संघसंस्था र मानव अधिकारको देखादेखी धज्जी उडेको छ ।
अर्कोतिर बालबालिका तथा महिला सामुहिक श्रृखलाबध्द बलात्कारको सिकार भैरहेका छन् । हुँदाहुँदै हाडनाता भित्रको हिंसाले त सबैको मन मस्तिष्क गलेको छ । प्रश्न खडा भएको छ को माथी बिश्वास गर्ने ? आफ्नै घरपरिवारमा बलात्कारका घटना ? जो संरक्षक उही भक्षक ? योभन्दा ठूलो सामाजिक बिकृति अरु के हुनसक्छ ? मान्छे यतिसम्म गिर्न सक्छ ? पशुवत सोच मान्छेमा आउन थालेको कारण के हो ? समाजशास्त्रीहरुले यसबारेमा बोल्न र उपाय सुझाउन जरुरी । कानुन र सरकारले पनि यस्ता घटनामा विशेष कडाइका साथ पेश आउनैपर्छ । जंगलराज चल्न सक्दैन ।
हत्या, बलात्कार र अनेकथरिका महिला हिंसा बढेकोले सर्बोच्च अदालतले यो महामारीको  समयमा सहज रुपमा न्यायका ब्यवस्था मिलाउन आदेश दिएको छ । तर पीडितको त्यहाँसम्म सहज पहुँच पुग्छ कि पुग्दैन, पीडितलाई न्यायिक निकायसम्म सहज रुपमा पहुँच पु¥याउन ब्यक्ति र समाजको भूमिका अबका दिनमा महत्वपूर्ण रहन्छ । न्यायपूर्ण समाजको परिकल्पना गर्ने हो भने कानुनसम्म सबैको सहज पहुँचका लागि सबैले गम्भीर भएर सोच्ने बेला आइसकेको छ ।
छन त महिला माथि हिंसा बढनुमा केही कारणहरु छन् । महिला पुरुष बीच असमानता भेदभावपूर्ण कानुन, महिला र पुरुष बीचको शक्तिको असमानता, शिक्षाको कमी, आर्थिक रुपमा पुरुष वा परिवारप्रति परनिर्भर रहनु, महिला प्रतिको पितृसत्तात्मक सोच, यौन असन्तुष्टिका बारेमा श्रीमान श्रीमती बीच कुराकानी नहुनु, महिला स्वयम  हिंसाका बारेमा बोल्न नचाहानु ।
र, बालकदेखि बृद्ध महिलासम्मको बलात्कार हुनु, सामुहिक बलात्कार नै हुनुका पनि अनेक कारण छन् । ती कारण भनेको मानसिक बिकृति हो । जबसम्म पुरुषमा मानसिक बिकृतिको कारण खोजिदैन, तवसम्म यो बलात्कार रोक्न सम्भव छैन ।
र, कानुनले बलात्कारी र हिंसा बढाउनेलाई कडा कारवाही नगर्नु र कानुनका छिद्र खोजेर र घटनालाई पञ्चायती मिलापत्र गराएर छोपछाप पार्नुले पनि बलात्कारीको उत्साह बढेर गएको हुनुपर्छ । जोसुकै होस्, बलात्कारी बलात्कारी नै हो र बलात्कारीलाई कुनै पनि पहुँचवाला व्यक्तिको संरक्षणमा कारवाही नगर्ने प्रवृत्तिको अन्त हुनैपर्छ । हिंसा र बलात्कारीलाई कडा कारवाही गर्ने हो भने बलात्कार र हिंसाका घटनामा न्यूनिकरण सम्भव छ ।
बलात्कार र हिंसा रोक्नका लागि हरेक सचेत व्यक्तिले संचेतना बढाउनै पर्छ । नारी सेक्स बस्तु मात्र हो भन्ने मानसिक रोगको उपचार जरुरी छ ।