इन्दु तोदी , धरान ---
प्रजातन्त्र ल्याउंछौं , निरंकुशताको अन्त्य गरी छाड्छौं भनी अग्लो ठाउँ चढेर जोशिलो भाषण खुब छाँट्ने ! मान्छे त मान्छे कुकुरलाई पनि पत्यारै लाग्ने ! तपाईं जनता देशका मालिक बन्ने ! आउनुस्, सबै मिली देशलाई स्वर्गाम्मे बनाएरै छाड्ने ! घिउ भात खाने अनि रेशम कपास लाउने, लौ त्यसैले हाँसी हाँसी तपाईं प्राण दिनुस् , हामी तपाईंलाईं सुन्दर शान्त नेपाल दिने ! अन्याय,पिड़ा नामको बिरालो त छेउमै पर्न न दिने ! खुशियाली नाऊ गरेकी चेली त तपाईंसंगै घरजम गरी बस्ने ! छोराछोरी उच्च शिक्षा पढ्ने , अनि ठूला ठूला अफिसर बन्ने , कोही हाकिम कोही सरकारी जागिर खाने , यस्तै चट्ट रसिला र स्वादिला सपना देख्नु भाको र देखाइएको थियो हैन र ! प्रजातंत्र को नाममा ! कस्तो पो होला प्रजातन्त्र भनेको त ए बा ! ए !! यस्तै पो हुंदो रै छ ! प्रजातन्त्र भनेको त ! खै दिनहूँ तैं छाड़ र मै खाऊं नत्र भागबन्डा लाएर भए पनि खाऊँ, तर जसरी भए पनि खाऊँ ! झारेर हुन्छ की मारेर हुन्छ, सरकार मा एक पटक जाऊँ त्यस पछि त हुन्छ सब आफ्नै दाऊ । भाइबहिनी , इष्टमित्र नातागोता ले पार्नु पर्छ कुर्सी जती सब भरिभराऊ। बल्ल तल्ल पारेको मौका, सके सम्म खाऊँ, डकार आए पछि पनि खाऊँ। देशको मोल भाऊ कहिले बाहिर त कहिले भित्रै गरेर आऊँ । यति छिटो देश विकास गरेर अहिले आफ्नै सोह्रपुस्ते बन्दोबस्त चैं अनि गरी सक्नु कहिले ! रुँदै गरोस् श्रीमती छोरा छोरी जो सुकै शहीदका भोकैले , पिल्सि राखोस् जनता निमुखा देशका अभावैले , बिदेशिनु परोस् जती नै दिदी बहिनी दाजु भाइहरुलाई पठाएर टाढा टाढा पेटैले, उसुल्नु पर्ने छ सोझासाझा जनतासित कर बाक्लै दरले , मबाट दर्रो केही होला भन्ने भर भने पटक्कै न पर जसरी भए नि अटाई न अटाई भूंड़ी मेरो टन्नै गर, पहिला एउटा भर्नु पर्ने अब थुप्रै ईनार भर बुझी राखौं है ,सोझासाझा जनताका लागी घर घर चलेको यही नै हो प्रजातन्त्र को सुहाउँदो , स्वाद को लहर !!! हैन र ?