स्वयम्भुनाथ कार्की---
नेपालको अस्तित्व राजसंस्थामा छ भन्ने सोच राख्नेबाट यी र यस्ता कुराहरु आलेखका विषयबस्तु बन्न हुँदैन थियो, तर राष्ट्र भन्दा ठूलो अर्को केही छैन । राष्ट्र कै अवयवहरु हुन राजा, जनता अनि भूगोल । अवयवको निमित्त सिंगो राष्ट्र उपेक्षा गर्न सकिदैन । जनता जागरुक छन्, परिवर्तन खोज्दैछन्, यो सत्य हो । तर कस्तो परिवर्तन भन्नेमा अन्योल भएको हो, वैकल्पिक शक्ति नदेख्दाको निराशा हो । अनेकौ संगठन तथा समुह छन जो अहिलेको दुराअवस्थाको चित्रण गर्दछन तर विकल्पको रुपमा केही पेश गर्दैनन ।
वर्तमान प्रणालीले आजित भएर जनता विकल्प खोज्दैछन्, तर विकल्पको रुपमा प्रस्तुत हुन पर्ने शक्ति भने आफुलाई शक्ति प्रदान गर्नसक्ने सर्वसाधारणसंगको सिधा सम्पर्क छोडेर अन्यत्र हेर्देछ । आफ्नै साथमा भएको कस्तुरी खोज्न मृग फन्फनी घुमेजस्तो ।
सवैलाई थाहा छ घर बलियो बनाउन जग बलियो बनाउनु पर्छ, देश बलियो बनाउन जनता वलियो बनाउनु पर्छ । विदेश त जो वलियो छ त्यसलाई समर्थन गर्ने गर्दछ, मनले नभए पनि । राष्ट्रनिर्माताले त्यसै भनेका हैनन् ‘प्रजा मोटा भए दरवार बलियो हुन्छ’ । मोटाको अर्थ यहाँ कसैले पनि शाररिक मोटाई भन्ने लगाउदैन । यो त गौरव गर्नु पर्ने कुरा हो कि ६३ तिरको त्यो ऋणत्मक लोकप्रियता एकातिर । यत्रा बर्षको गद्धिबाट निर्वासन पछि पनि जनताले नछोडेको आस्था अर्कौतिर । जनता घोक्रो फुकाएर नारा लगाउदैछन ‘राजा आउ देश बचाउ’ । के यो लोकप्रियता हैन र , के यो आस्थाको मुल्य छैन र ?
‘राजा’ महेन्द्रले सेनाको बलमा १७ सालको कदम चालेको भन्ने भ्रम छरिएको छ । भन्न त यहाँसम्म पनि भनिन्छ कि यो कदम नेहरुको सहमतीमा चालिएको थियो । पत्याउनेहरुको कमी पनि छैन । हुनत ‘प्रचण्ड’ भन्ने मान्छे निर्मल निवासमा वस्छसम्म पनि भनियो । अनौठो कुरा त के छ भने त्यही निर्मल निवासबाट गएर गद्धि सम्हालेर प्रचण्डको मेहेनतले गद्धिच्यूत हुँदा पनि प्रचण्ड उनैबाट परिचालित भन्नेहरु छन् ।
राजा महेन्द्रले त आफु विरुद्धको यो हल्ला असरहिन बनाए सर्वसाधारण जनतासंग सिधा सम्वन्ध राखेर अनि पञ्चायत मार्पmत जनतालाई मुल प्रवाहमा ल्याएर । त्यसैले उनि विरुद्धको यो हल्ला पत्याउनेहरुमा हल्ला चलाउनेहरु कै झोले, भजनेहरु मात्र रहे । हो कालान्तरमा राजकाज प्रति अरुची भएका र राजकाजको अनुभव नभएका तर सर्वसाधारणसँग दुरी राख्ने उत्तराधिकारीहरुका कारणले स्थिति त्यो रहेन । पृथ्वीनारायण शाहले नेपाल एकिकरण गरेर ‘अपराध’ गरेका थिए भन्ने साहस गर्नेहरु पनि पैदा भएका छन । यस्तै भन्नेहरु नेपालको शासनबाट, ठूला संचारगृहबाट अनि कथित बुद्धिजीविबाट अभिनन्दित तथा पुरष्कृत हुँदैछन् ।
देशको दुरावस्थाले धेरै समय पर्खिन सक्दैन, नश्वर शरिरमा उमेरको असर पर्दै जान्छ । बुभ्mनु पर्ने कुरा के भने जव हरेक ठाउँमा ‘राजा’को चर्चा विकल्पको रुपमा हुन थाल्छ कुनै आन्दोलन नै चाहिन्न । कुनै विदेशी शक्तिले कोपभाजन बनाउने हिम्मत नै गर्दैन साथ आपैm दिन्छ माग्नै पर्दैन । त्यसैले अन्तिम पटक ‘राजा आउ देश बचाउ’ नारा लगाउनेहरुले ‘राजा हामीसँग आउ, मिलेर देश बचाउँ’ भन्ने नारा लगाउनु पर्ने भएको छ । हुनसक्छ अप्राप्य वस्तु भै रहने चाहानाको खोल तोडेर यो कुरा कानमा पुगोस ।
हाम्रा पुर्खाले जोडेको र जोगाएको यो देश सदा संरक्षित होस्, सदा सम्बृद्धिको बाटोमा अघि बढोस् मेरो मूल चाहना र कामना यही नै हो’ भन्ने अभिव्यक्तिको मान राख्ने हो भने सर्वसाधारण जनतासंग प्रत्यक्ष संवाद कायम गर्नुको कुनै विकल्प छैन, न देशमा न विदेशमा । अझै यी कुरामा ध्यान नदिने हो भने जनता पनि एकोहोरो मायाले थाकेर आस्था नै विसाउन पर्ने हो कि भन्ने सोचमा नपुगुन । त्यसले कसैको हित गर्दैन । ‘राष्ट्रियता, सार्वभौमिकता र राष्ट्रिय एकता कायम गर्न हामी सबै एक जुट हुनु परेको छ’ भन्ने अभिव्यक्तिपूर्व नै जनता एकजुट हुन चाहेकै हो तर मियोको उपस्थिति चाहियो ।