Advertisement Banner
Advertisement Banner

०२ शनिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

सेनाको सतर्कता जरुरी

२२ सोमबार , असार २०७७६ बर्ष अगाडि

बरिष्ठ अधिवक्ता शिव सिग्देल--
जनताले स्पष्ट बहुमतका साथ स्थिर सरकरको जिम्मेवारी नेकपालाई दिएका हुन् । समृद्ध नेपाल र सुखी नेपालीका लागि काम गर्ने योभन्दा राम्रो समय र शक्ति अरु हुनसक्दैन । मौका पाएको नेकपाले साँढे दुई वर्षमै मौका चुकायो, देशलाई भ्रष्टाचारमयबाट अव राजनीतिक अराजकतातिर धकेलिसकेको छ ।
खास कारण नेकपाभित्रका शीर्ष नेताहरुमा सत्ताप्रतिको लालसा हो । केपी ओलीले मात्र मनलागी गरे, सत्तालाई भ्रष्टाचारमय बनाएर देशलाई असफलतामा धकेले, अव केपी ओलीले पार्टी र सत्ता दुबैतिरबाट राजीनामा दिनुपर्छ भन्ने सत्तारुढ दलभित्रैको ओली इतर पक्षको माँग छ । उनीहरु जसरी पनि प्रधानमन्त्री र पार्टी अध्यक्षबाट केपी ओलीलाई पन्छाउन चाहन्छन् र चारैतिरबाट घेराबन्दीमा पारेका देखिन्छ । तर केपी ओलीले यो घेराबन्दीबाट उम्कनका लागि आफूले गर्नसक्ने सबै तरिकाहरु अपनाएर भए पनि पदमा बसिरहने र घेराबन्दी गर्नेहरुलाई परास्त गर्न कम्मर कसेर लागेका छन् । यसका लागि प्रधानमन्त्रीले आफ्नो पक्षमा ढल्केकी राष्ट्रपतिलाई समेत साथमा लिएर अघि बढेको देखिन्छ ।
नेकपाको सचिवालय बैठक र स्थायी समितिको बैठकमा अल्पमतमा परिसकेका प्रधानमन्त्रीले सरकारको नेतृत्वमा हुने विशेषाधिकारको अस्त्र प्रयोग गर्नसक्ने अनुमान गरिएको छ । यसैका लागि झापाकी एक महिला अघि सारेर नेकपा एमालेका नाममा पार्टी दर्ताका लागि निवेदनसमेत दिन लगाएका छन् ।
यद्यपि अधिवेशनबाट अध्यक्ष चुनिएकाले अध्यक्षबाट ओलीलाई निकाल्न सम्भव देखिदैन । सरकारबाट राजीनामा गराउन ओलीले मानेका छैनन् र बाध्य बनाइयो भने ४० प्रतिशत सदस्यका साथमा पार्टी फुटाउने र कांग्रेस, मधेशवादीको समर्थनमा मिलिजुली सरकार चलाउन सक्ने स्थिति पनि कायमै छ । यसबाहेक प्रधानमन्त्रीले मध्यावधि चुनावको घोषणा पनि गर्न सक्छन्, र, कोरोना अथवा कारण अनेक छन्, ती नाममा आपातकालको पनि घोषणा गर्न सक्छन्, प्रधानमन्त्री ओली प्रचण्ड, माधव नेपाल,  झलनाथ खनाल, नारायणकाजीको दबाबमा राजीनामा दिइहाल्छन् भनेर पत्याउन मुस्किल छ ।
प्रधानमन्त्री ओलीले हामी सबै सल्लाहकार, संरक्षक बनेर बसौं, युवापुस्तालाई नेतृत्व हस्तान्तरण गरौं भन्दा प्रचण्ड र माधव नेपालले नमान्दा स्थिति झन चर्केर गएको छ ।
अर्थात अराजकता बढ्यो । विदेशी चलखेल र दबाब पनि बढेको छ । यो अवस्थामा नेपाली सेना सतर्क र सचेत हुन जरुरी छ । राजनीतिमा निष्ठा नभएकाले र देशभक्तिको अभावका कारणले जस्तोसुकै संक्रमण पनि आउनसक्ने भएकाले पनि सेना सतर्क हुन आवश्यक भएको हो । नेपाली सेनाको दुरुपयोग हुनहुन्न र सेनाले देशका लागि आफूलाई केन्द्रित गर्नुपर्छ । देशको स्वार्थ नै सेनाको एकमात्र उद्देश्य हुनुपर्छ । राजनीति जे होस्, सेना अटल हुनुपर्छ ।