Advertisement Banner
Advertisement Banner

०२ शनिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

यो एकता खलबलिनु हुन्न

०१ सोमबार , असार २०७७६ बर्ष अगाडि

बरिष्ठ अधिवक्ता शिव सिग्देल -
नक्सा र निसान छाप संसदबाट पारित भयो, राष्ट्रियसभाबाट पारित हुने औपचारिकता बाँकी छ । लिपुलेक, लिम्पियाधुरा, कालापानी नेपाली भूभाग हुन्, नेपाली नक्सामा समेटिए, निसान छापमा समेटियो, २०७७ जेठ ३१ गतेको दिन अपूर्व राष्ट्रिय एकताको बल देखिएको दिन हो । आमनागरिकले यस्तै यस्तै खालका देशवादी कामहरु खोजेका हुन्, देशघाती काम गरेकाले नेताहरुप्रति घृणा फैलिएको हो । जे होस्, सत्तापक्ष विपक्षको संसदमा एकता, आमनागरिकको सडकमा ऐक्यवद्धता, नेपाली राष्ट्रवाद एकपल्ट फेरि एकै ढिक्को भएको छ । हामी सबैलाई बधाई छ ।
तर संबिधान  र नागरिकता ऐन २०६३ मा संशोधन गर्ने प्रस्तावहरु संसदमा पेश भएका छन् । ती प्रस्तावहरु लेनदेनका आधारमा पारित हुनुहुन्न । देशको हित र नागरिकको अपेक्षामा व्यापक छलफल गरेरमात्र पारित हुनुपर्छ । अन्यथा विदेशी नागरिकको चापलाई नेपाली राजनीतिले धान्न सक्नेछैन र सरिता गिरीजस्ता नेपालघातक तत्वहरुले विदेशीको ओकालत गरिरहने छन् ।
हामीलाई नेपाललाई कमजोर बनाउने सरिता गिरीजस्ता चरित्र चाहिएको छैन । मानवीय रुपमा महिलाप्रति सम्मान छ, देशघातक रणनीति बोकेकी छिन्, उनको त्यो चरित्र पाच्य छैन ।
भारतले फिजीमा त्यसै महेन्द्रप्रसादहरु जन्माएको होइन । नागरिक चाप बढाएर बैधानिक रुपमै फिजीको शासनको कमान दिल्लीले लिन सफल भएको हो । हिजोसम्म पनि मधेशी दलहरुमाथि अनेक शंका थियो, किनकि उनीहरु भारतको हितमा बोल्थे, बहुल राष्ट्रवाद भन्थे, मधेश अलग गर्ने कुरा पनि गरेकै हुन् । तर उपेन्द्र यादव, राजेन्द्र महतोहरुले नेपाली भूगोल यथावत कायम राख्ने प्रस्तावमा संसदमा उभिएर जुन प्रकारले हामी पनि नेपाली हौं, नेपाली एकता हाम्रो पनि चाहना हो, नेपाल पहिलो प्राथमिकता भनेर बोले, सही गरेर नेपालको पक्षमा उभिए, त्यो ऐतिहासिक घटना हो । सरिता गिरीभन्दा भिन्न मत हो । नेपाल बोक्न सक्छन्, बोकेका छन् मधेसी जनताले भन्ने प्रमाण पनि हो । यो घटनाले नेपालको राष्ट्रियता, स्वाधीनता र सार्वभौमिकतालाई अझ बलियो बनाइदिएको छ ।
हिजोसम्म जुन पीडा थियो, अव रहेन । मधेशी पनि मूलधारमा आए, उनीहरुले पनि नेपालीत्व जगाए । नेपाली एकताबाट विदेशीलाई पेट पोले पोलोस्, नेपालले आश्वस्तताको श्वास फरेको छ । यो माटोको प्रश्न हो, नेपाली माटो प्रत्येक नेपालीलाई दुख्नुपर्छ, माटोप्रति गौरव हुनुपर्छ, त्यो देखियो । अव जनतामा विश्वास भयो, देशमा एकता छ, यो एकता खलबलिनु हुन्न ।