Advertisement Banner
Advertisement Banner

०२ शनिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

वेद जयन्ति अर्थात् जनैपूर्णिमा

२७ सोमबार , श्रावण २०७६७ बर्ष अगाडि

लीला अधिकारी, चितवन -
हिन्दुहरुले मनाउने विभिन्न धार्मिक तथा साँस्कृतिक चाडहरु मध्ये रक्षा बन्धन एउटा पवित्रा चाड हो । यो चाड श्रावण शुक्ल पूर्णिमाको दिन मनाईन्छ । यसै दिन महर्षि यज्ञ बल्लवयले आदित्य ब्रह्म (सूर्य) बाट वेद प्राप्त गरेका थिए । अतः यस दिनलाई वेद जयन्तीको रुपमा पनि चिनिन्छ । यसै दिनलाई जनै पूर्णिमा पनि भनिन्छ । 
नयाँ यज्ञोपवित तथा रक्षा बन्धन धारणा गरी यस पर्वलाई धुमधामका साथ मनाइन्छ । वैदिक सनातन वर्णाश्रमधर्म मान्ने तागाघारी  जातीहरुले अघिल्लो दिन देखि नै चोखोनितो गरी एक छाक खाने, त्यस दिन विहानै नित्यस्नान प्रात ः सन्ध्योपासना गरी सम्भव भए मध्यान्हमा नदी तलाउमा गई सम्भव नभए घरकै पवित्र जलले उपामार्ग, गाईको गोबर तथा चोखो स्थानको माटो कुशपानी आदि लगाई विधिपूर्वक श्रावणी निमित्तक मध्यान्ह स्थान, सन्ध्योपसना आदि सम्पन्न गर्दछन् । त्यसपछि जौ, तिल, कुश साथमा लिई अविछिन्न वंश परम्परा जोगाएका उपाध्याक वैदिक ब्राह्मणहरुमा गुरु थापी विधिपूर्वक आफ्ना शाखाका वेद वेदांगको पाठ गर्दछन् वा सुन्छन् । त्यस पछि आ–आफ्नो गोत्र, प्रवर र ऋषिगणहरुको तथा वर्तमान समयका अरुन्धतिसहित सप्तषिमण्डलको विधिपूर्वक पूजा गरी ऋषित र्पणी, यज्ञोपवीताभिमन्त्रणा (जनै मन्त्रने काम) गर्दछन् । यसरी मन्त्रिएको जनै वर्षभरिको लागि आवश्यक पर्ने जति सबैले घरमा राख्दछन् । र मन्त्रेको पवित्र धागो जसलाई रक्षाबन्धन वा रक्षा सूत्र पनि भनिन्छ । त्यसैले गुरु वा भान्जा ज्वाईहरुबाट अरुले ग्रहण गर्दछन् । 
हिन्दुधर्मका वैदिकगन्य अनुसार जनैलाई ब्रह्मसूत्र अर्थात् वेदोत्वकर्म सम्पादन गर्ने र वेदाध्ययन गर्ने अधिकार प्राप्तिका लागि धारणा गर्न मन्त्रिएको धागो भन्ने बुझिन्छ । शिखामा मध्ये एउटा जनैका शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को जनैका शिखामा रहेका तीन डोरालाई कर्म, उपासना र ज्ञानका प्रतिकहरुको योग मानिन्छ । 
जनैमा प्रयुक्त हुने नै डोरा तीन ग्रन्थी वा शिखाहरुले ईश्वरीय ज्ञान र जीवनचक्र बारे वास्तविक रहस्य बुझ्ने कुरामा मागर्दशन गर्न सहयोग गर्छन् । यी कामहरु गर्दा व्यक्ति, देवगण, ऋषिगण र पितृगणबाट मुक्त हुने धार्मिक विश्वास छ । दानवी शक्तिबाट रक्षित हुनका लागि रक्षाबन्दन बाध्ने गरिन्छ । जनै पूर्णिमाको दिन बाँधिएको रक्षा बन्धन गाई तिहारको दिन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपछि वैतरणी सजिलै पार हुने जनविश्वास छ । 
पौराणिक कथा अनुसार देवराज इन्द्र र दैत्यराज बतासुरका साथ १२ वर्षसम्म भयंकर युद्ध चलेको थियो । त्यस युद्धमा असुरहरुले देवतामाथि विजय प्राप्त गरेका थिए । पराजित देवगणहरु एक संस्कार विहिन भएर जीवनयापन गर्न लागे । यसरी गौरविहिन जीवनदेखि देवराज इन्द्र बाँच्नु भन्दा मर्नु नै श्रेयस्कर सम्झेर असुरसँग अन्तिम युद्ध गर्ने संकल्प लिन्छन् । त्यो दिन श्रावणशुक्ल चतुर्दशीको दिन थियो । अतः देवगण वृहस्पत्तिले अघिल्लो दिन इन्द्रको कल्याण विजय कामना होस् भनी श्रावणमासको पूर्णिमाका शुभ महत्वमा इन्द्रलाई रक्षाबन्धन बाँधेर बल प्रदान गरेका थिए । त्यसैले आज पनि ब्राह्मण वा आचार्य गुरुहरुले शिष्य यजमानहरुलाई येन बद्धो बलिः राज दानवेन्द्रो महावलः । तेन त्वां प्रतिबध्नामि रक्ष मा चल मा चल । अर्थात् जुन रक्षा सुत्रले अत्यन्त बलशाली राजा बली बाँधिएपछि सारा देवगण सुरक्षित भए । म त्यही रक्षा सुत्रले बाँधि तिमीहरुलाई सुरक्षित गर्दछु । तत्पश्चात् इन्द्राणीले इन्द्रको दाहिने हातमा रक्षा सूत्र बाँध्नु हुन्छ । त्यो कुन रक्षासूत्र थियो । जुन रक्षा सूत्र बाँध्नाले देवराज इन्द्र विजय बने । वास्तवमा त्यो पवित्रताको रक्षासूत्र थियो जसको भावर्थ यदि मानिसले आफ्नो असुरीकृतिहरुमा माथि विजय प्राप्त गर्न चाहन्छ भने आफ्ना धर्मपत्नीसँग पनि रक्षासूत्र अवश्य बाध्नु पर्दछ । मन, वचन र कर्मलाई पवित्र बनाउनु पर्दछ । एक अन्य शास्त्र तथा अनुसार जब यमदुतले आफ्नी बहिनी यमुनासँग राखी बाध्ने समयमा भनेको हुन्छ कि जसले यस पवित्रताको राखी बधाउँछ र ऊ यमदूतको सजाय वा भयबाट मुक्त हुन सक्दछ । रक्षा बन्धन एक धार्मिक उत्सव पनि हो जसको सम्बन्ध जीवनमा श्रेष्ठता तथा निर्विकारीता सँग छ । यसकारण यस पर्वलाई विश्वतोडक पर्व पनि भनिन्छ । रक्षा बन्धन मर्यादा र आत्मनिग्रहद्धारा मृत्युमाथि विजय प्राप्त गर्ने पर्व हो । रक्षा सूत्रको बन्धन र टीक यस उत्सवको प्रमुख विधान हो । सूत्र आत्माको मर्यादा र समयंको प्रतिक हो । र टीका आत्मस्वरुप स्थितिमा स्थित हुने प्रति हो । सूत्र कुनै पनि वस्तुलाई अविछिन्न गर्ने वस्तु हो । सुनियोजित एवं सुव्यवस्थित वस्तु एक सूत्रमा ग्रथित मानिन्छ । रक्षा बन्धनको सही अर्थ आफू आत्मस्थितिमा अचल, अडोल भएर पवित्रताको पालना गर्नु हो भने किनकी पवित्रताद्धारा नै मृत्युमाथि विजय प्राप्त गर्न सकिन्छ ।
यस दिन थरिथरिका गुडागुडी भिजाएर टुसा उम्रेपछि क्वाटी बनाई खाने चलन पनि छ । यसरी क्वाटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षाका कारणा चिसो भएको मौसममा शरीरमा ताप संचार हुने विश्वास गरिन्छ । विशेष गरी नेवार समुदायमा यस दिनलाई गुन्हु पुन्ही भनी मनाइने परम्परा छ । विभिन्न प्रकारका स्वरहरुबाट वर्षा र खेतीको कामबाट कृषकहरुलाई जानकारी दिने भ्यागुताहरुले गठेमंगलका दिन नरभंक्षी घण्टासुरलाई बाटो भुलाई धापमा पु¥याईदिएकोले त्यस दिन भ्यागुताको पनि पूजा गरिने प्रचलन छ । 
तराई क्षेत्रमा यो पर्व अगलै प्रकारले मनाइन्छ  । यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई पवित्र धागो रक्षा बन्धन (राखी) बाधेर टिका लगाई मिठाईहरु खुवाउछन् भने दाजुभाइले दिदीबहिनीलाई उपहार दक्षिणा दिने प्रचलन छ । यसैगरी दाजुभाइले दिदीबहिनीको रक्षा गर्ने वचन दिन्छन् । यसरी तराई क्षेत्रमा रक्षा बन्धनलाई दिदीबहिनी र दाजुभाइको सफल जीवनको कामना गरी आपसी मायाको चाडका रुपमा पनि लिइन्छ ।