Advertisement Banner
Advertisement Banner

२२ बिहिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

बिप्लव लुटेराहरु हुन् भने ओली सरकार महात्माको टोली हो ?

११ सोमबार , चैत्र २०७५८ बर्ष अगाडि

धर्मरत्न श्रेष्ठ -
विप्लव माओवादीमाथि प्रधानमन्त्रीले लुटपाट मच्चाउँदै हिड्ने लुटेराहरुको संज्ञा दिएका छन् । ओली सरकारले नै विप्लव माओवादीको राजनीतिमाथि प्रतिवन्ध लगाएका छन् । विप्लव माओवादी देशभक्त हो । उसले देश बिखण्डनको कुनै पनि नारा लगाएको छैन । यतिमात्र होइन, देशमा सुशासन हुनुपर्छ, भ्रष्ट, लुटेराहरुलाई ठेगान लगाउनु पर्छ भन्ने त्यो समूहको अभियान छ ।
हो, विचार फरक छ । देश बनाउने अलगधार छ । देश टुक्य्राउने विप्लव माओवादीभित्र कुनै सोच संकेतसम्म छैन । विचारयुद्ध पनि गर्न नपाइने ? ओली सरकारको हाँमा हाँ मिलाए ऊ लोकतन्त्रवादी हुने, ओली सरकारले देशव्यापी मच्चाएको लुटतन्त्रलाई लोकतन्त्र माने लोकतन्त्रवादी हुने, भिन्न विचार राखे अथवा देशलाई कुशासनबाट मुक्त पार्ने नयाँ मार्ग लिए ऊमाथि प्रतिवन्ध नै लगाएर अराष्ट्रिय तत्वको छाप लगाउने ओली नेकपाको यो कस्तो राजनीति हो ?
अछामतिर सेना परिचालन नै गरेर ओली सरकारले आतंक मच्चाएका खबर आएका छन् । विप्लव माओवादीले चन्दा उठाएर केही अतिवादी क्रियाकलाप गरेको होला, राज्यलाई कर नतिर्ने र कर उठाउन नसक्ने कमिशनधारी सरकारलाई खबरदार गर्न बम बिस्फोट गरेको होला, निश्चय नै धनजनको क्षति हुनपुगेको छ, यस्तो काम विप्लवले गर्नुहुन्नथ्यो, उसले जिम्मेवारी पनि लिएको छ । तर, विप्लव माओवादीलाई बाध्य पारेको सरकारले नै हो । सरकार निस्प्रभावी भएपछि खबरदार गर्ने त कोही चाहियो नि ? नागरिक समाज, बुद्धिजीवी, पत्रकार, संचेतन बर्गलाई पार्टी पार्टीको कित्तामा बिभाजन गरेर बोल्न नसक्ने बनाएपछि र प्रतिपक्ष सन्निपात लागेको बिरामीजस्तो भएपछि कसैले त सरकारलाई नकामबाट रोक्न र सुकामतिर लाग्न प्रेरित गर्ने शक्ति त चाहियो चाहियो ।
वर्तमान नेपालमा त्यो शक्ति भनेको विप्लव माओवादी नै हो । अतिवाद सर्वत्र बर्जयत् । विप्लव माओवादीले अतिवादलाई नियन्त्रण गरेर राज्यको अतिवादलाई खबरदारी गर्नैपर्छ । त्यो जिम्मेवारी विप्लव माओवादीले पनि पूरा नगर्ने हो भने प्रधानमन्त्रीले सेना परिचालन गर्नसक्ने कानुन बनाएर अर्को हिट्लर जन्मने सुरसार हुनथालिसकेको छ । दुई तिहाइको हिटलरलाई रोक्ने विप्लव माओवादीमात्र हो ।
हो, प्रधानमन्त्रीले भनेजस्तो मूलधारको राजनीति गर्न पाइन्छ । देशव्यापी लुटपाट मच्चाउँदै हिड्ने छुट कसैलाई पनि छैन । त्यसो भए राज्यका सम्पूर्ण सञ्जालमा बसेर लुटपाट गर्न पाइन्छ कि पाइन्न ? पाइन्न भने ७ सय ६१ सरकार छन्, कुन सरकारमा भ्रष्टाचार, अनियमितता छैन ? यो लुटपाट होइन ? कि दुई तिहाइको सरकारका सञ्जालले जति लुटपाट गर्न पनि छुट हुन्छ ?
लोकतन्त्र लुटतन्त्र बनिसकेको छ । जनजनमा ‘लुट कान्छा लुट’ भन्ने गीतले लोकप्रियता पाइरहेको छ । यो गीत, लोकमा फैलिएको नैराश्यता र सरकारप्रतिको घृणाभाव देख्दा लाग्छ नेपालमा लोकतन्त्र होइन, लोकतन्त्रको नाममा जंगली शासन सुरु भएको छ । हाम्रो मान्छे भन्ने प्रवृत्तिले गर्दा नेकपा लोकप्रियताको शिखरबाट अलोकप्रियताको मैदानमा झरिसकेको छ । यही चाला हो भने केही महिनाभित्रै यो सरकार मैदानबाट खाल्डो, दलदलमा फस्ने निश्चित छ ।