दीपायल, नेपाली सेनाका सुदूरपश्चिम पृतनापति उपरथि झंकरबहादुर कडायतले सामाजिक सेवाको राम्रो उदाहरण प्रस्तुत गरेका छन् । हामी ती पृतनापतिलाई धन्यवाद दिन्छौं । किन पनि उनलाई धन्यवाद छ भने नेपालमा कुनै नागरिकले कतिसम्मको दु:ख झेल्न सक्छ, दु:ख भनेको के हो, कसैलाई जान्न मन छ भने सुदूरपशिचम गए हुन्छ । सुदूरपश्चिम नेपालको अंश भएर पनि सबैभन्दा दुखित छ । पीडामा छ । संघीयता आएर पनि त्यो दु:खमा केही कमी आएको देखिदैन । विकास र आधुनिक सभ्यता सुदूरपश्चिममा कहिले पुग्ला ?समाचार छ, दुर्घटनामा घाइते भएका दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका नवीन विक उपचारका लागि हारगुहार गरेको थाहा पाएर सुदूरपश्चिम पृतनापति उपरथी झंकरबहादुर कडायतले आर्थिक सहयोग गरेका हुन् । घाइते बालक नवीनको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको र उपचारमा आर्थिक अभाव भएको समाचार प्रकाशन भएपछि पृतनापती तथा उपरथी झंकरबहादुर कडायतले उपचारका लागि दशहजार आर्थिक सहयोग पठाइदिएका हुन् ।
पृतनापति उपरथी कडायतले सुदूरपश्चिम पृतना मुख्यालयमा नवीनकी बृद्ध हजुरआमामार्फत दश हजार रुपयाँ दिनुभएको स्थानीय नागरिक टेकबहादुर कामीले खुलासा गरेका हुन् । बस दुर्घटनामा नवीनकी आमा शशी विकले ज्यान नै गुमाएकी थिइन् ।
डडेल्धुराको उग्रतारा मन्दिरमा मेला भरेर फर्किदै गरेको बस दुर्घटना हुँदा १८ जना अन्यले ज्यान गुमाएका थिए भने २८ घाइते छन् । घाइते बालक नवीनका बाबु गएको ५ वर्षदेखि घर परिवारबाट सम्पर्क विहीन छन् । भारतमा काम गर्न गएका हजारौं सम्पर्क विहीन हुने गरेका छन् । यससम्बन्धमा सरकारले कहिले पनि अनुसन्धान गरेन, चासोसमेत देखाएन । दु:खको पहाडले थिचेको छ सुदूरपश्चिमलाई । सुदूरपश्चिममा अन्याय बढी छ, तिनलाई राज्यले न्याय दिन जरुरी देखिन्छ ।


