Advertisement Banner
Advertisement Banner

२४ शनिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

सरकारलाई एक हप्ताको अल्टिमेटम

१६ शनिबार , फाल्गुण २०७११२ बर्ष अगाडि

यथास्थितिमा वार्तामा बस्दैनौं, होलीसम्म पर्खन्छौं। बहुमतीय प्रक्रिया स्थगन भए वार्तामा बस्छों, अन्यथा अर्को चरणको आन्दोलन घोषणा हुनेछ र त्यतिबेला वार्ताको सम्भाबना हुनेछैन, जिल्ला जिल्लाबाट विद्रोह सुरु हुनेछ। हामी पुरै सत्ता हातमा लिनेछौं। संविधानसभा क्रान्तिको परिणाम हो। यो परिणामलाई बहुमतले रोक्न खोजिए बिस्फोट हुनेछ। प्रचण्डले निकै कडा भाषण ठोके खुलामञ्चबाट। म जनताको अधिकारका लागिम मर्न तैयार छु, झुक्न तैयार छैन– शक्ति प्रदर्शन भनिएको फागुन १६ गते खुलामञ्चबाट यसै भने प्रचण्डले। कसले झुक्न भन्यो प्रचण्डलाई। प्रम सुशील कोइराला वार्ता गरौं भनिरहेका छन्। वार्तामा बस्नु भनेको झुक्नु हो र? खुलामञ्चबाट प्रचण्डले थक्क थक्क मानेर मनको बह पोखे– मैले कांग्रेस, एमालेसँग विश्वास गरेर सम्झौता गर्नु गल्ती गरेछु। तैपनि म मन्छु– शान्ति सम्झौता पालना नगर्ने जुन दुस्साहस कांग्रेस, एमालेले गरेका छन्, पालना नगरिए त्यो ठूलो भूल हुनेछ भन्ने चेतावनी दिन चाहन्छु। प्रचण्डको यो चेतावनीलाई विपक्षीले रुन्चे चेतावनी भनिदिए। युवराज ज्ञवालीले त त्यत्तिमात्र होइन एमाओवादीलाई भोट दिनेहरु भनेर गिज्याए पनि।
आक्रोसित थिए प्रचण्ड। उनले एमालेलाई कांग्रेसमा प्रवेश गरे हुन्छ, यो देशमा एमाले चाहिने पार्टी नै होइन भनिदिए। कांग्रेस, एमालेको सरकारले अहिले गरेको जति भ्रष्टाचार कहिले पनि भएको थिएन भन्ने आरोप लगाए। सेवा केन्द्रका नाममा जनता लडाउने, ग्यासको हाहाकार गराउने, बारामा बालिका बलात्कार भएका छन्, यो नालायक सरकार हो। बलात्कार गर्ने र हत्या गर्नेलाई फाँसी दिनुपर्छ– प्रचण्डले कड्किएर माग गरे। केही गर्न नसक्ने प्रधानमन्त्रीले राजीनामा दिदा बेश हुन्छ। अधिकार माग्नु देश टुक्य्राउनु होइन। अधिकार माग्ने मधेशीलाई शत्रुको व्यवहार गरिदैछ। अधिकार दिदा राष्ट्रियता झन बलियो हुन्छ। झापा, मोरङ, सुनसरीलाई अलग गर्नु मधेशबाट हटाउनु हो। यो खबरदारी सभा हो, विद्रोहसभामा परिणत नहोस्, प्रचण्डले भने– संविधानसभा कांग्रेस, एमालेको पेवा होइन। धेरै नहेप भन्दै प्रचण्डले आगोसँग खेले भष्म हुने चेतावनी दिन बिर्सेनन्। प्रचण्डको निष्कर्ष थियो– बहुमतीय प्रक्रिया खारेज गर, सहमतिबाट संविधान निर्माण गरौं। बल सरकारकै कोर्टमा छ।