Advertisement Banner
Advertisement Banner

१९ बुधबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

हिन्दुधर्म, कल्की अवतार, मेरो आशा र निराशा

१८ मंगलबार , कार्तिक २०८३एक दिन अगाडि

हिन्दुधर्म, कल्की अवतार, मेरो आशा र निराशा

हिन्दू धर्मावलम्बीहरूको महान् ग्रन्थ श्रीमद्भागवत् महापुराणको द्वादश स्कन्धको पहिलो र दोस्रो अध्यायमा निम्न श्लोक सहित कलियुगबारे इतिवृत्तान्त लेखिएको भन्ने कुरा मैले धेरै अघिदेखि सुनेको र पढेको थिएँ । हिजोआज यो विषय अत्यन्त चर्चामा छ । हिन्दू दर्शनअनुसार आजभन्दा ३१२७ वर्षअघि कलियुग प्रारम्भ भएको भन्ने कुरा पनि हिजोआज त्यस्तै चर्चामा छ । त्यस्तै, वर्तमान समय कलियुगको अन्त्य र सत्ययुगको शुभारम्भको सन्ध्याकालमा रहेको भन्ने दाबी गर्ने धेरै धार्मिक र आध्यात्मिक विद्वान् व्यक्तिहरू यत्रतत्र देखा परेका छन् ।
यस हिन्दू दर्शनअनुसार कलियुगमा सत्य, करूणा, नैतिकता, न्याय र धर्मको क्रमिक ह्रास हुँदैजान्छ । धन, शक्ति, स्वार्थ र आडम्बरले समाजमा प्रमुख स्थान ओगट्न थाल्छन् । जब अधर्म चरम सीमामा पुग्छ, तब भगवान् विष्णुको कल्कि अवतारद्वारा अधर्मको अन्त्य र धर्मको पुनःस्थापना हुने भनिन्छ । त्यसपछि पुरानो अधर्मपूर्ण व्यवस्थाको अन्त्य भई सत्य, धर्म, सदाचार र न्यायमा आधारित नयाँ युगको सुरूवात हुन्छ । अर्थात्, कलियुगको अन्त्य र सत्ययुगको सुरूवात हुन्छ ।
यस सन्दर्भमा श्रीमद्भागवत् ग्रन्थले मानव चरित्र र आध्यात्मिक चेतनामा आउने सामान्य ह्रासको वर्णनबाट आफ्नो विषयवस्तु सुरू गरेको देखिन्छ । यस ग्रन्थअनुसार सत्ययुग अर्थात् कल्कि अवतारको प्रादुर्भाव हुनुअघि पृथ्वीमा अर्थात् समाजमा निम्न किसिमको नराम्रो, खराब, अप्रिय, दुःखदायी नैतिक र सामाजिक अवस्था रहने देखिन्छ ।
१. समाजमा बेइमानी र असत्य बोल्ने प्रवृत्ति दिनप्रतिदिन बढ्दै जाने । धर्मपरायण समाजलाई टिकाइराख्ने गुणहरू अर्थात् धार्मिकता, सत्यनिष्ठा, शुद्धता, सहनशीलता, करूणा, आयु, शारीरिक बल र स्मरणशक्ति क्षीण हुँदै जाने र तिनको अभाव हुने । मानिसहरू एकअर्काप्रति बढी असहिष्णु हुने । मानिसहरूले सही र गलत छुट्याउने आफ्नो क्षमता गुमाउँदै जाने ।
२. कलियुगमा धनसम्पत्तिलाई नै व्यक्तिको कुलीनता, असल चरित्र र सद्गुणको प्रमुख प्रमाण मानिने । न्याय र कानुनको कार्यान्वयनसमेत क्रमशः व्यक्तिको शक्ति र प्रभावमा निर्भर हुने । मानिसहरूको मूल्याङ्कन उनीहरूको ज्ञान, इमानदारी, विवेक वा नैतिक चरित्रका आधारमा नभई आर्थिक अवस्थाका आधारमा गरिने । धनी व्यक्तिले बेइमानी गरे पनि सम्मान पाउने । इमानदार तर गरिब व्यक्तिलाई तुच्छ ठानिने । त्यसैगरी, शक्तिशाली व्यक्तिले अन्यायपूर्ण काम गरे पनि अनुकूल व्यवहार प्राप्त गर्न सक्ने, तर कमजोर व्यक्तिले न्याय पाउन सङ्घर्ष गर्नुपर्ने ।
३. सम्बन्धहरू स्वार्थद्वारा निर्देशित हुने । पुरूष र महिलाबीचका सम्बन्धहरू गहिरो प्रतिबद्धता र आत्मीयताभन्दा शारीरिक आकर्षणमा बढी आधारित हुँदै जाने । व्यापारमा सफलता प्राप्त गर्न छलकपटको सहारा लिनुपर्ने अवस्था आउने । देखावटी धार्मिक आचरण र प्रदर्शनलाई आध्यात्मिक वा बौद्धिक उपलब्धिको प्रमाण मानिने ।
४. व्यक्तिको आध्यात्मिक स्तरको मूल्याङ्कन वास्तविक आध्यात्मिक गुणका आधारमा नभई बाहिरी पहिरन र पोशाकका आधारमा गरिने । वास्तविक ज्ञान र विवेकको सट्टा वाक्चातुर्यलाई विद्वताको आधार मानिने ।
५. गरिबीलाई व्यक्तिगत असफलताको लक्षण मानिने, जबकि पाखण्ड र छलकपटलाई सफलता वा सद्गुणको मापदण्डका रूपमा लिइने । विवाहका लागि मौखिक सहमतिलाई मात्र पर्याप्त मानिने र दैनिक शुद्धिका आवश्यकताहरू पूरा गर्न स्नान गर्नु नै पर्याप्त ठानिने ।
६. भौतिक सुखसन्तुष्टि जीवनको प्रमुख उद्देश्य रहने । तीर्थस्थलहरूलाई केवल टाढा रहेका जलाशयका रूपमा मात्र महत्त्व दिइने । शारीरिक सौन्दर्यको मूल्याङ्कन केशविन्यास र बाहिरी रूपका आधारमा गरिने । पेट भर्नुलाई नै जीवनको प्रमुख उद्देश्य मानिने, निर्भीकतालाई सत्यनिष्ठा ठानिने र परिवार पाल्न सक्ने क्षमतालाई व्यक्तिको योग्यताको मापदण्ड मानिने । धार्मिक आचरण र व्यवहार साँचो आस्था र विश्वासका कारण नभई सामाजिक प्रतिष्ठा र नाम कमाउने उद्देश्यले पालना गर्ने प्रवृत्ति बढ्दै जाने ।
७. धार्मिकता र न्यायभन्दा थिचोमिचो गर्ने बलशाली व्यक्तिको हातमा राजनीतिक सत्ता रहने । नैतिक जिम्मेवारी वा विवेकभन्दा शक्तिले शासन गर्ने ।
८. शासकहरूले डाँकु र लुटेराले झैँ शोषण गर्ने । उनीहरूले सामान्य चोर र लुटेराजस्तै व्यवहार गर्ने । उनीहरूले आफ्ना जनता अर्थात् प्रजाको सम्पत्ति हडप्ने र उनीहरूको अधिकार हनन गर्ने । यस्तो परिस्थितिमा जनताले आफ्नो सुरक्षा खोज्दै भाग्नुपर्ने अवस्था आउने ।
९. जनताले खडेरी, अनिकाल र भारी करको बोझ सहनुपर्ने । कठिन परिस्थितिका कारण उनीहरू जरा, पात, फलफूल, फूल, बीउ तथा उपलब्ध अन्य खाद्यवस्तु खाएर जसोतसो जीवन धान्न बाध्य हुने ।
१०. जनताले अत्यधिक चिसो, हावा, गर्मी, वर्षा र हिमपातका साथै झैझगडा, भोक, तिर्खा र रोगको सामना गर्नुपर्ने । उनीहरूको जीवन दुःखकष्ट र चिन्ताले भरिने ।
११. मानिसहरूले बढीमा पचास वर्षसम्म मात्र सन्तोषजनक पारिवारिक जीवनको सुख प्राप्त गर्न सक्ने । अर्थात्, मानव जीवन छोटो र कठिन हुने ।
यसमा वर्णित कुरा र नेपालमा विद्यमान हालको गएगुज्रेको अवस्था—शासन–प्रशासन, भ्रष्टाचार, कुशासन, अन्याय–अत्याचार, सहकारी लुटदेखि कामको लागि लाखौं जनताको विदेश पलायनसम्म—सबै कुराको तुलना गर्दा नेपालमा कलियुग चरम अवस्थामा रहेको र ९, १० र ११ मा उल्लेख गरिएका तीनवटा बुँदाको अवस्था मात्र देखापर्न बाँकी रहेको जस्तो भान हुन्छ । यस प्रसङ्गमा हाम्रो मुलुक कलियुग र सत्ययुगको सन्ध्याकालमा रहेको अवश्य होला भन्ने आशा मेरो मनमा पलायो । यस आशाअनुरूप केही समय अर्थात् केही महिना वा वर्ष अझै दुःखदायी स्थिति हुने विचार ममा रहे पनि अब चाँडै सत्ययुग सुरू हुने आशा पनि ममा पलायो । मैले सत्ययुग देख्न पाउने परिकल्पना गरेँ ।
यसै प्रसङ्गमा मैले हाल थ्यगत्गदभ मा देखापरेका ईश्वर, परमेश्वर, आत्मा, परमात्मा, कलियुग, सत्ययुग बारे स्वामी, सन्त, दिव्य आत्मा, ज्योतिष र गुरू भनाउँदाहरूका धेरै प्रस्तुति देखेँ र सुनेँ । यसमा मुख्यतः मित्र जीव गुरूजी (डिभाइन लाइट, मैत्री दादाश्री), डा. सहदेव दास प्रभुजी (इस्कन), डा. चिन्मय पाण्डे (गायत्री परिवार), स्वामी विवेकानन्दजी परिव्राजक (अध्यात्म यात्रा), आचार्य प्रमोद कृष्णम (श्री कल्किधाम), स्वामी डा. मनोज कुमार गुप्ता (सनातन ऋषि), पं. काशिनाथ मिश्र (भविष्यमालिका) आदि हुन् । यसमा विभिन्न भगवानसित साक्षात् भेटघाट भएको दाबी गर्ने र सन् २०३२ मै सत्ययुग आरम्भ हुने निश्चित समय तोक्ने महारथीहरू पनि छन् । सबै ज्ञानगुनले सम्पन्न, धर्मशास्त्रका अध्येता, अन्वेषक, ज्ञाता र विद्वान् नै देखिन्छन् । तरश्रीमद्भागवतमा कलियुगको अन्त्य हुने र सत्ययुगको आरम्भ हुने मिति र तिथि भने मैले पाइनँ ।
यसै प्रसङ्गमा मैले भगवानको कल्कि अवतार आफैँ घोषणा गर्ने, विश्वब्रह्माण्डको महाराज भएको दाबी गर्ने र हाल चुरो कुरोमा बेलाबखत देखापर्ने अक्षय श्रीमहाराज भनिने, अनौठा–अनौठा कुरा गर्ने नेपाल निवासी स्वघोषित अवतार महाराज (चुरो कुरो) र स्वयं शिवजी बाबा गोरखनाथ यस धर्तीमा मानवरूपमा १९ वर्षअघि अवतरण भई युग परिवर्तनका लागि महाराज भएर कार्य गरिरहनुभएको तथा उहाँकै इच्छाअनुसार संसार चलिरहेको र चल्ने दाबी गर्ने गोरखनाथ कल्याण केन्द्र, नेपालका अध्यक्ष अर्जुनप्रसाद रेग्मी 
(हिमाल अनलाइन) को अनौठो, अकल्पित, अविश्वसनीय प्रस्तुति पनि सुनेँ ।
यस सम्बन्धमा हाम्रो मुलुकमा अवकाश प्राप्त पूर्वजर्नेललाई जर्साहेब, पूर्वसुब्बालाई सुब्बासाहेब र पूर्वजनरललाई जर्साहेब भन्ने चलन भए पनि पूर्वराजा ज्ञानेन्द्रलाई राजा भन्न नहुने धारणा राखी ज्ञानेन्द्रजी सम्म  पनि नभनी ज्ञानेन्द्र, ज्ञानेन्द्र भन्ने क्रान्तिकारीहरूबाट यी माथि उल्लिखित स्वघोषित महाराजहरूबारे कतै विरोध भएको भने देखिँएको छैन ।क्रान्तिहरूमा देखिएको यो नयाँ संस्कारलाई राम्रै भन्नुपर्दछ ।
श्रीमद्भागवतमा चित्रित कलियुगको स्थिति र अवस्थासँग हाम्रो मुलुकमा मात्र होइन, छिमेकी मुलुकहरू तथा युरोप र अमेरिकाका अन्य कतिपय मुलुकहरूमा पनि देखिएका अवस्थाहरू तुलना गर्दा कलियुगको अन्त्य र सत्ययुगको आगमन चाँडै हुने म आशा गर्छु । तर, भगवानसित साक्षात् भेटघाट र दर्शन भएको, संसार सञ्चालनसम्बन्धी भगवानको नीति, योजना र कार्यान्वयन दस्तावेज प्रस्तुत गर्ने आफू वक्ता भएको तथा आफू कल्कि अवतार भएको समेत दाबी गर्ने विभिन्न थरीका विरोधाभासपूर्ण स्वघोषित पात्रहरू देख्दा कल्कि अवतार वा सत्ययुगको आगमनको कुरा झुटा, कल्पित, मनगढन्ते,एकादेशको कहानी मात्र हो कि जस्तो पनि मलाई लाग्दछ । यसले सत्ययुग देख्ने मेरो आशामा तुषारापात हुन्छ । आशामाथि बादल लाग्छ । म निराश हुन्छु ।
तर, हामीमध्ये सत्य, न्याय र धर्मपरायणतामा विश्वास गर्ने मानिसहरूले यी मूल्य–मान्यताहरूको पुनःस्थापना गर्न कुनै दैवी अवतारको प्रतीक्षा गर्नुको साथै यी मूल्य–मान्यताहरू स्थापित गर्न हामी सबै तन, मन र दिलोज्यानले इमानदारीपूर्वक लाग्न सके चाँडै नै हामीले सत्ययुग देख्न र अनुभव गर्न सक्नेछौँ जस्तो पनि मलाई लाग्दछ । यसबाट भगवान् परमेश्वर हामीसित अवश्य पनि प्रसन्न हुनुहुनेछ । यतातिर ध्यान दिन भगवानले सबैलाई सद्बुद्धि दिऊन् भन्ने कामना गर्दछु ।
narayanshanti70@gmal .com
लेखक परिचयः नेपाली र अङ्ग्रेजी भाषाका केही पुस्तक तथा धेरै लेखहरूका एक गैर–दलीय लेखक, त्रिभुवन विश्वविद्यालय सेवा आयोग  कार्यालयका पूर्व प्रमुख, तथा मध्य–असी दशक पार गरेका एक ज्येष्ठ नागरिक  ।