Advertisement Banner
Advertisement Banner

१२ सोमबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

इन्द्रजात्रा संस्कृत परम्परा, आध्यात्मिक सन्दर्भ र आधुनिक समाज

१० शनिबार , आश्विन २०८३२ दिन अगाडि

इन्द्रजात्रा संस्कृत परम्परा, आध्यात्मिक सन्दर्भ र आधुनिक समाज

काठमाडौं उपत्यकामा आधुनिकताको रङ पोतिएका सयौं वर्ष पुराना जीवित सभ्यताहरू छन् ।यहाँका चाडपर्व, जात्रा र उत्सव सयौं वर्षदेखि चलिआएका छन् ।
यस्ता ‘अमूर्त सम्पदा’ ले हामीलाई मध्यकालीन नेपालको गौरवपूर्ण इतिहासमा फर्काउँछ । हाम्रा पुर्खाले बाँचेको जीवन फेरि एकपल्ट जिउने अवसर दिन्छ । ‘आधुनिक सहर’ का नाममा हामीले यहाँका प्राचीन सहरलाई आफ्नो अनुकूल तोडमरोड गरिरहेका छौं । यी चाडपर्व र उत्सवले हाम्रो सभ्यताको पहिचान स्थापित गराउँछ ।येँया पुन्ही, अर्थात् इन्द्रजात्रा त्यसैमध्ये एक हो ।
इन्द्रजात्रा मनाउने परम्परा लिच्छवि राजा गुणकामदेवले काठमाडौं शहर स्थापना गरेको समयमा सुरु भएको भनाइ पाइन्छ । पछि राजा पृथ्वी नारायण शाहदेखि पृथ्वी विपिन शाहसम्मका राजाहरूले पनि यसलाई निरन्तरता दिएका थिए ।इन्द्रजात्रा काठमाडौँ लगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी परम्परागत रूपमा नेवार समुदायले मनाउने जात्रा हो । यसलाई येँया पुन्हि पनि भनिन्छ । इन्द्रजात्रा काठमाडौँमा मनाइने विविध जात्रामध्येको एउटा रमाइलो महत्त्वपूर्ण जात्रा हो ।
इन्त्रजात्राको प्रमुख कार्य नै लिंगो (ध्वजा) स्थापना हो । १२औँदेखि १८औँ शताब्दीमा निर्मित थुप्रै मठ मन्दिरले सजिएको हनुमानढोका दरबार क्षेत्र यो जात्राको उद्गम स्थल हो । भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट सुरू भई यँलागाः चौथी अर्थात् इन्द्रध्वज पतनसम्म आठ दिन विभिन्न नाच, गान, रथयात्रा गरी यो जात्रा सम्पन्न गरिन्छ ।सनातन धर्मावलम्बीहरूका प्रमुख र प्रचलित चाड दशैं, तिहार र फागुभन्दा पनि इन्द्रजात्रालाई संस्कृतिविदहरूले पुरानो चाड मानेका छन् । इन्द्रजात्रा र लिंगो –ध्वजा) ठड्याउने प्रचलनको सम्बन्धमा वाल्मीकि रामायण, महाभारत, हरिवंश पुराण, कालिका पुराण, देवीपुराण, विष्णु धर्मोत्तर पुराण, बृहत्संहिता र भविष्य पुराणमा विस्तृत वर्णन पाइन्छ  ।
आफ्नी आमालाई वसुन्धराको व्रत निम्ति पूजा सजाउन स्वर्गलोकका राजा इन्द्र काठमाडौँ आएर पारिजातको फूल टिप्न लाग्दा तिनलाई चोर भनी नियन्त्रणमा लिएर डोरीले पाता कसी बीच सडकमै जात्रा गरेको दिनमा हामी इन्द्रजात्रा मनाउँदछौँ । त्यस बन्धनबाट मुक्त गराउन इन्द्रकी आमा स्वयं काठमाडौँ आएर छोराको बदलामा कुहिरो दिने वाचा गरी इन्द्रलाई फर्काएर लग्छिन । त्यही कुहिरोले गर्दा धानबाली समयमा पाक्ने भयो भन्ने कथन अझै पनि जनजिब्रोमा जीवितै छ ।
इन्त्रजात्रा को प्रमुख कार्य नै लिंगो –ध्वजा) स्थापना हो  । पुराण अनुसार प्राचीन कालमा देवता र असुरहरू ठूलो युद्धको तयारीमा लागे  । त्रिदेव र सम्पूर्ण देवगणले देवराज इन्द्रलाई विजयी गराउन ध्वजा बनाएर त्यसलाई पूजा गरेर इन्द्रलाई हस्तान्तरण गरे  । इन्द्रले समातेकाले त्यस ध्वजालाई इन्द्रध्वजा भनियो  । देवासुर संग्राममा देवताहरूको विजय भएपछि इन्द्रध्वज पूजा र समारोहले निरन्तरता पायो । स्वर्गलोग र पृथ्वीमा समेत विजयको कामनाले राजाहरूले इन्द्रध्वज स्थापना गर्न थाले  । पृथ्वीको राजा उपरिचर वसुलाई देवराज इन्द्रले इन्द्रध्वजा दिएपछि उनले
युद्धमा सजिलै विजय हासिल गरेको चर्चाले सबैमा यो पर्व मनाउने हौसला जाग्यो  । आफ्नो राज्यमा सुख, समृद्धि वृद्धि गर्न इन्द्रध्वजा स्थापना गर्ने परम्परा बस्न थाल्यो ।
काठमाडौंको इन्द्रजात्रा (नेपाल भाषामाः येँयाः) उपत्यकाको समृद्ध ऐतिहासिक, धार्मिक र सामाजिक पहिचान बोकेको सबैभन्दा ठूलो र जीवन्त सांस्कृतिक उत्सव हो । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकामा लिङ्गो (योसिं) ठड्याएपछि सुरु हुने यो पर्व आठ दिनसम्म धुमधामका साथ मनाइन्छ ।
१. सांस्कृतिक परम्परा ः
इन्द्रध्वजोत्थान (योसिं थनेगु)ः भक्तपुरको नालास्थित जङ्गलबाट धार्मिक
विधिपूर्वक ल्याइएको ५० हात लामो लिङ्गो हनुमानढोका दरबार क्षेत्रमा ठड्याएपछि जात्राको औपचारिक सुरुवात हुन्छ ।
कुमारी, गणेश र भैरवको रथयात्राः जीवित देवी श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको रथलाई काठमाडौंको तल्लो र माथिल्लो टोल (क्वने र थने) मा गल्ली–गल्ली परिक्रमा गराइन्छ । यो परम्परा मल्ल राजा जयप्रकाश मल्लको पालादेखि संस्थागत भएको मानिन्छ ।
विभिन्न मुखौटा नृत्य (प्याखं)ः जात्राभरि मजिपाः लाखे, पुलुकिसी (हात्ती नाच), सवभकु (भैरव र काली नाच), महाकाली नाच तथा देवीप्याखं जस्ता तान्त्रिक र लोकनृत्यहरू प्रदर्शन गरिन्छ ।
समय्बजि र हाथु हायेकेगुः घरघरमा समय्बजि (परम्परागत नेवारी प्रसाद) बाँड्ने र श्वेत भैरव तथा आकाश भैरवको विशाल मुखौटाबाट प्रसादका रूपमा जाँड तथा रक्सी (हाथु) बगाएर वितरण गर्ने विशिष्ट परम्परा छ ।
२. आध्यात्मिक सन्दर्भ ः
प्रकृति र सहकालका देवताको पूजाः पौराणिक कथा अनुसार, स्वर्गका राजा इन्द्र आफ्नी आमा बसुन्धराका लागि पारिजातको फूल (वा कर्कलो) टिप्न मत्र्यलोक (काठमाडौं) आउँदा चोर ठानेर स्थानीयले बाँधेर राखेका थिए । पछि पहिचान खुलेपछि इन्द्रलाई सम्मानका साथ छाडियो र त्यसको सट्टामा उनले खेतीपातीका लागि समयमा वर्षा, कुहिरो र सहकालको वरदान दिएका थिए भन्ने धार्मिक विश्वास छ ।
धार्मिक सहिष्णुताको प्रतीकः इन्द्रजात्रामा वैदिक हिन्दू देवता इन्द्रको पूजा हुनु र बौद्ध महायान परम्परा अन्तर्गत शाक्य वंशकी बालिकालाई जीवित देवी कुमारीका रूपमा पुजिनुले काठमाडौं उपत्यकाको गहिरो धार्मिक सहिष्णुता र सद्भावलाई प्रतिविम्बित गर्दछ ।
दिवङ्गत आत्माको शान्ति (उपाकु वनेगु)ः जात्राको पहिलो दिन वर्षभरि दिवङ्गत भएका परिवारका सदस्यहरूको सम्झनामा दीप प्रज्वलन गर्दै नगर परिक्रमा गर्ने र दागीं (इन्द्रकी आमा) को पछाडि हिँड्ने गरिन्छ, जसले मृत आत्मालाई सद्गति प्राप्त हुन्छ भन्ने मान्यता छ ।
३. आधुनिक समाजमा इन्द्रजात्राको महत्त्व र बदलिँदो स्वरूप
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचानः इन्द्रजात्रा केवल स्थानीय पर्वमा मात्र सीमित नरही नेपालको समृद्ध सांस्कृतिक पर्यटनको मुख्य आकर्षण बनेको छ । विश्वभरका पर्यटकहरू यस जीवित संस्कृतिलाई हेर्न काठमाडौं पुग्छन् ।
युवा पुस्ता र सांस्कृतिक निरन्तरताः प्रविधि र आधुनिकताको प्रभावका बाबजुद रथ तान्ने, बाजा बजाउने, गुठी व्यवस्थापन गर्ने र मुखौटा नाच सञ्चालनमा युवा पुस्ताको सक्रिय सहभागिताले परम्पराको निरन्तरतालाई सुदृढ बनाएको छ ।
डिजिटल प्रवर्धनः अनलाइन प्रत्यक्ष प्रसारण, फोटोग्राफी र सामाजिक सञ्जालका माध्यमबाट इन्द्रजात्राको सांस्कृतिक महत्त्वलाई विश्वव्यापी रूपमा प्रवर्धन गर्न सहयोग पुगेको छ ।
आधुनिक चुनौतीहरूः
गुठी व्यवस्थापनः परम्परागत गुठी प्रणालीलाई आर्थिक र प्रशासनिक रूपमा बलियो र व्यवस्थित बनाइराख्नु आजको मुख्य चुनौती हो ।
शहरीकरण र भीडभाडः पुराना साँघुरा गल्लीहरू, बढ्दो शहरीकरण र सुरक्षा व्यवस्थापनलाई आधुनिक समय अनुकूल बनाउनु आवश्यक देखिएको छ ।
समग्रमा, यो चाड नेवार समाजमा विद्यमान परम्परागत धार्मिक–सामाजिक कला, वास्तुकला, चित्रकला, मूर्तिकला, गाउने–बजाउने, रङ्मञ्च कलाको प्रस्तुतिको सामूहिक उत्सव हो । जसले समाजमा एकता सौहार्द कायम राख्न मद्दत गरेको हुन्छ । यो केवल धार्मिक उत्सव मात्र नभई काठमाडौं उपत्यकाको सांस्कृतिक पहिचानको महत्त्वपूर्ण अंश पनि हो । यसमा देखाइने नेवार समुदायको परम्परागत धार्मिक–सामाजिक कला, वास्तुकला, चित्रकला, मूर्तिकला र रङ्मञ्च कलाको सामूहिक उत्सव हो ।
यस पर्वले समाजमा एकता, सौहार्द र समृद्धि कायम राख्न महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको छ । यसले नेपालको धार्मिक, सांस्कृतिक र सामाजिक विविधतासँग गहिरो सम्बन्ध राख्दै आएको छ । त्यसैले यो पर्व नेपाली समाजमा धार्मिक
सहिष्णुता, सांस्कृतिक विविधता र सामाजिक एकतालाई सुदृढ बनाउने माध्यम पनि भएको छ । इन्द्रजात्रा काठमाडौंको इतिहास, तान्त्रिक आस्था, लोककला र समुदायको सामूहिक एकताको प्रतीक हो । समयक्रमसँगै यसको सञ्चालनमा केही आधुनिक शैलीहरू थपिए पनि यसको मूल मर्म र सांस्कृतिक जग अझै पनि उत्तिकै जीवन्त छ ।
काठमाडौं उपत्यकाको सहरी संरचना खडा गर्दा हाम्रा पुर्खाले एउटा इँटा पनि
बिनाअर्थ राखेनन् । यहाँ हरेक डबलीको अर्थ छ । हरेक खुला स्थलको अर्थ छ । यस्ता डबली र खुला स्थल मासिनु भनेको हामीले आफ्नो संस्कृति र परम्परा जीवित राख्ने ठाउँ गुमाउँदै जानु हो ।
यस्ता उत्सवले हाम्रो परम्परागत पहिचानलाई मात्र निरन्तरता दिँदैन, हाम्रो पुर्खाको पहिचान पनि पुनस्र्थापित गर्छ ।सहर भनेको भूगोल मात्र होइन । यहाँका बसोबासी,
इतिहास, उनीहरूले मान्ने जात्रा, चाडपर्व र उत्सव हुन् । यी जात्रा र चाडपर्वले
हामीलाई नेपालको गौरवपूर्ण इतिहासमा फर्काउँछ । सयौं वर्ष पुरानो सभ्यताको
पहिचान स्थापित गराउँछ । यसलाई भोलिको पुस्ताको निम्ति जीवित राख्ने दायित्व हाम्रै हो