Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

अन्नपूर्ण र माछा देवताको कथा

०८ बिहिबार , आश्विन २०८३एक घण्टा अगाडि

अन्नपूर्ण र माछा देवताको कथा

दैनिक हजारौ ब्यक्ती असनको चोकबाट चारैतिरको गल्लीमा छिर्ने गर्छन् । यो असन बजार हिजो आज शुरू भएको बजार होइन । आठसय बर्ष भन्दा पहिले देखी नै यस ठाउमा बजार लाग्ने गथ्र्याे । यो बजारमा खोज्न जान्यो भने सबै थोक पाइन्छ । नेपाल चिन्ने र चिनाउने बजार हो असन बजार ।
असं (असन)को एउटा किंवदन्ती छ । ठिमीको एक ब्यापारीले बाँसको नोलमा चामल बोकेर ल्याएकोमा थाकेर यहि ठाउमा बिसाएछ । पछि चामल बोक्न खोज्दा उचाल्न नसकेर छोडेर गएछ । घर पुगेपछि जहानले कहा छोडेको भनि सोध्दा अनसं भनेछ । अनसं भनेको नेवारीमा त्यही भनेको थियो । पछि परिवार नै आएर लग्न खोज्दा पनि चामल लग्न सकेन र तान्त्रिक देखाउदा अन्नपूर्ण देवी जमिनमा भएकोले यस्तो भएको यहा मन्दिर बनाउनु पर्छ भने । यसपछि अन्नपूर्णको मन्दिर बनाइयो । अनसं भन्दा भन्दै पछि असं भएको भन्ने कथा प्रचलित भएको बुढापाकाहरू बताउँछन् ।
तस्विरमा भएको माछा यहि असन चौकमै छ । यसको पनि आफ्नै कथा छ । परापूर्वकालमा ज्योतिषीय गणना गर्दा आकाशबाट माछा खस्ने साइत निस्केछ । धेरै ज्योतिषले धेरै ठाउँ देखाएछ । अन्तमा दुइजनामा एकले असन अर्काेले टुडिखेलको महांकालमा भन्न थालेछ । अन्तमा यहि असनमा खसेको र त्यसैको प्रतिकको रूपमा ढुङ्गाको माछा बाहिर राखेर खसेको असली माछा जमिन मुनि गाडेको भनिन्छ । ढुङ्गाको माछा भएकोले यसलाइ नेवारीमा न्यालोंह भन्ने गरिन्छ । नेपालमा माछाको देवता भएको ठाउँ असन नै हो ।
मल्लकालमा ज्योतिषीय गणना गर्दा यहि न्यालोहंलाइ नै केन्द्र मान्ने गर्दथे । यहि असन इलाकामा मानदेवको नामांकित ढुङ्गेधारा भेटिएकोले यो स्थानलाइ लिच्छवीकालसम्मको गणना गर्ने गरिन्छ । अहिले पनि असन बजार जिवन्त छ । असन बजारको ऐतिहासिक र सांस्कृतिक महत्व कम भएको छैन ।