
हिन्दु धर्मग्रन्थहरुका अनुसार आजभन्दा ५००० वर्ष पहिले यस पृथ्वीमा शासन गर्ने राजाहरु र शासकहरुको क्रूर व्यवस्थाले गर्दा जताततै हत्या, हिंसा, आतङ्क, लुटपाट आदि भैरहने भएर धरती मातालाई यस्तो अवस्थाको सहन गर्न ज्यादै कठिन हुन गएछ । आफ्नो यो व्यथालाई लिएर पृथ्वी माता एक महिलाको भेष धारण गरी सृष्टिकर्ता ब्रह्मासमक्ष गएर आफ्नो दुःखेसो पोखिछन् । ब्रह्माले यो कुरालाई लिएर उनै दयालु परमात्मा परमेश्वर जगतपति विष्णु भगवान्सामु गएर स्तुति–प्रार्थना गर्न लागेछन् । ब्रह्माको यस्तो स्तुतिपूर्ण आग्रहलाई विष्णु भगवान्ले स्वीकार गरेर आफू अब छिट्टै मानव अवतार लिएर धरतीमा गई दुष्टहरुको संहार गरी साधु–सज्जनहरुको उद्धार गर्ने आश्वासन दिएछन् । यही आफ्नो कबुलअनुसार विष्णु भगवान्ले आठौँ अवतारको रुपमा द्वापरयुगमा श्रीकृष्णको अवतार लिएर देवकीको कोखमा जन्म लिएका हुन् भन्ने प्रसङ्ग विभिन्न हिन्दु पुराणहरुबाट अवगत हुन्छ ।
कतिपय वैदिक दर्शन र हिन्दु धर्मवेत्ताहरुले त यस धरतीमा भएको श्रीकृष्णको उदय विष्णु भगवान्को अवतारको रुपमा नभई श्रीकृष्ण साक्षात्कार परमात्मा परमेश्वरको रुपमा प्राकट्य भएका हुन् भनेर व्याख्या गर्दै गरेको पनि पाइन्छ । यसै सन्दर्भमा कृष्णोपनिषद्मा भनिएको छ– शेषनागो भवेत् रामः कृष्णो ब्रह्मैव शाश्वतम्, अर्थात् बलरामलाई शेषनागका अवतार र श्रीकृष्णलाई सनातन परब्रह्मकै स्वरुप हुन् भनेर मानिएको छ । श्रीमद्भागवत महापुराणले अरु अवतारहरु परब्रह्मका अंशस्वरुप हुन्, तर श्रीकृष्ण भने पूर्णावतार स्वयं भगवान् नै हुनुहुन्छ भनी बताइएको पनि पाइन्छ ।
विसं २०८३ सालका लागि श्रीकृष्णको जन्म भएको दिन अर्थात् जन्माष्टमी पर्व भदौ १९ गते शुक्रबारका दिन रहेको हिन्दु पञ्चाङ्ग (हाम्रो पात्रो)ले जनाएको छ ।
मथुरा भारतको उत्तर प्रदेशस्थित यमुना नदीको किनारमा रहेको एक सुन्दर नगर हो । त्यतिबेला यहाँ उग्रसेन नाम गरेका एक कुशल तथा धर्मपरायण राजाले राज्य गर्दथे । यिनका दुई सन्तान थिए, कंश नाम गरेको एक छोरा र देवकी नाम गरेकी एक छोरी । देवकीको विवाह सुरसेनका सत्यवादी पुत्र वसुदेवसँग बडो धुमधामका साथ सम्पन्न भयो । हर्षले उन्मत्त हुँदै कंश आफैँले रथ हाँकेर आफ्ना बैनीज्वाइँलाई लिएर बाटोमा जाँदै थियो । केही पर पुग्दा अचानक आकासतिर गड्याङगुडुङ गर्दै एक उत्पात हुरी–बतास लाग्न थाल्यो । रथसहित जन्तीको लस्कर रोकियो । यसै समयमा माथिबाट एक आकाशवाणी भयो– हे कंश ! अहिले तँ हर्षले अटाई नसक्नु भएर रथ हाँक्दै बैनीज्वाइँलाई लिएर कुदिरहेको छस् । हेर, सुन ! तेरी बैनी देवकीको आठौँ गर्भ तेरो काल बनेर आउने छ ।
यो सुनेर कंश केही बेर अकमकियो अनि खटपटिएर रिसले चुर भई हातमा तरबार
समाएर आफ्नी बैनी देवकीलाई काटेर मार्ने अठोट ग¥यो । यो देखेर वसुदेवले दुवै
हात जोडी बिन्ती गर्दै देवकीबाट जन्मने सबै सन्तान मैले तपाईंलाई सुम्पने छु,
अहिले बैनीलाई मार्ने काम नगर्नु हवस् भने । वसुदेव एक सत्यनिष्ट हुनाले उनको
आग्रह कंशले स्वीकार ग¥यो । तर, उनीहरु दुवैलाई हतकडी लगाएर एक घरभित्र
लगेर नजरबन्द गरी राख्न सैनिकहरुलाई आदेश दियो । देवकीबाट जन्मने
सन्तानको कडा निगरानी राख्नका निम्ति आफ्नी विश्वासपात्र बैनी पुतना पहरेदारको
रुपमा खटायो ।
आकाशवाणीको भरमा वसुदेव र देवकीप्रति कंशले गरेको व्यवहारबाट उग्रसेन रूष्ट
भएका थिए । यो कुराको पत्तो पाएपछि कंशले उल्टै आफ्ना पिता उग्रसेनलाई
हतकडी लगाई जेलमा हालेर आफू स्वघोषित राजा भयो । अब जे गर्न पनि अथाह
शक्ति उसैमा केन्द्रित हुन गयो । मथुरा राज्यभरि आतङ्कको सुरूवात हुन थाल्यो
। देवकीबाट सन्तान जन्मन सुरू भएपछि छवटासम्म सन्तान कंश आफैँले
देवकीको कोखबाट खोसेर ढुङ्गामा छाँटी–छाँटी मारिदियो । देवकीको सातौँ सन्तान
तुहिएर गयो भन्ने बहाना बनाएर वसुदेवले आफ्नी दोस्री पत्नी रोहिणीको कोखमा
योगमायाको दैवीशक्तिद्वारा पठाएर बचाए, जो बलराम थिए । देवकीको आठौँ
सन्तानको रुपमा श्रीकृष्णको जन्म कारागारमै भयो । यो समयमा बिजुली चम्केर
भारी वर्षा भयो । कारागारमा झलमल बत्ती बलेझैँ भयो । त्यतिबेला भाद्रमास
कृष्णपक्ष अष्टमी तिथिको मध्यकालरात्रि थियो । आकासबाट पुष्पवृष्टि हुन थाल्यो
। स्वर्गमा नाचगान र बजानसहित देवताहरुलगायत सबैले हर्ष मनाए ।
बालक कृष्णलाई गोकुलमा लगी यशोदालाई सुम्पने र त्यहाँ जन्मेकी छोरीलाई यहाँ
कारागारमा लिएर छिट्टै आउने भन्ने वसुदेवलाई आकाशवाणी भयो । उनको
शरीरमा लगाइएका हतकडी, द्वारहरुका ढोकाहरु सबै आफैँ खुले । द्वारपालेहरु
स्वतः मस्त निद्रामा परेजस्ता भए । बालक राखेर लैजाने टोकरी त्यहीँ पैदा भयो ।
देवकी मस्त निद्रामै थिइन् । यसैबेला मध्यरातमा वसुदेवले बालक कृष्णलाई
टोकरीमा राखेर लिई हिँडे । भारी वर्षाका कारण यमुना नदी समुद्रझैँ थियो ।
नदीको पानीले बालक कृष्ण रहेको टोकरी र वसुदेवको टाउकोबाहेक अरु सबै डुबेको
थियो । अनन्तः शेषनागले आफ्ना टाउकाहरुले कृष्ण र वसुदेवलाई छत्र बनाएर
चारैतिरबाट सुरक्षित पारेका थिए ।
वसुदेवले यमुना नदी तरेर गोकुलमा गई बालक कृष्णलाई यशोदाको बिस्तरामा
सुताए । त्यहाँ भएकी छोरीलाई उठाएर लिई उत्तिखेरै कारागारमा पूर्ण सुरक्षितरुपले
आइपुगे । दिनभरिको थकानका कारण मस्त निद्रामा भएर यशोदा मैयाँलाई बच्चा
साटेर लगेको पत्तै भएन । भोलिपल्ट बिहान ब्युँझेर आफ्ना आडमा हेर्दा त एक
अति सुन्दर र तेजस्वी बालक, उनी आश्चर्यचकित भइन् ! यशोदा मैयाँको मन हर्षले
भरियो । नन्दबाबा पनि यो देख्दा अति हर्षित भए । धुमधामका साथ छोरो
जन्मेको उपलक्ष्यमा हर्षबढाइँ गरियो । दिन पुगेपछि बलराम र कृष्ण दुवैको
नामकरण संस्कार (न्वारान कर्म) सम्पन्न भयो ।
ऋषिमुनिहरुले बलरामलाई अनन्त शेषनागका अंश–अवतार र कृष्णलाई साक्षात्
त्रिलोकपति भगवान् विष्णुका प्रारुप हुन् भनेपछि सम्बन्धित सबैमा हर्षको सीमा
रहेन । दुवै भाइ औँसीपछिका चन्द्रमाझैँ बढ्दै हुर्कंदै गए । कृष्णले अद्भुत
बाललीला प्रदर्शन गरे । राधा–गोपिनीहरुसँगको संयोगपछि यस धरातलमा रहने सबै
प्राणीहरुको मन–मस्तिष्कमा माया, मोह, ममता, प्रेमको जालो फिँजाइदिए, जसको
रसपान आज सबैले गर्न पाएका छन् ।
वसुदेव गोकुलबाट छोरीलाई लिएर कारागारमा आउँदाबित्तिकै बच्चा च्याहाँ गरेर रोई
। त्यसपछि सबै पालेहरु ज¥याकजुरूक उठे । त्यसरात भारी वर्षा भएर मथुरा
जलाम्मे हुनाका कारण पुतना कारागारमा आएकी थिइनन् । आठौँ गर्भ छोरो हुने
भनिएकोमा कसरी छोरी जन्मी ? यो सबैलाई ज्यादै चासोको विषय भयो । कंश
आएर त्यहाँ भएका सबैलाई धरपकड पारेर सोध्यो । पुतनाले ज्यान बचाउनका
निम्ति छोरी जन्मेको मैले मेरा यी आँखाले नै देखेकी हुँ भन्दै झूट बोली । यसपछि
कंशले बच्चीलाई देवकीको कोखबाट लुछेर ल्याई ढुङ्गामा रिसले बेस्सरी छाँट्न
खोज्दा उक्त बच्चा आकासमा उडेर बडो चमत्कारी ढङ्गले चतुर्बाहुरुपी एक देवीको
रुपधारण गरेर भनिन्– हे दुष्ट ! मलाई मारेर तँलाई के पो मिल्छ र ? तँलाई
मार्नेवालाको यस धरतीमा कहीँकतै जन्म भैसकेको छ । हिन्दु धर्मग्रन्थमा
योगमाया यिनै हुन् भनेर भनिएको पाइन्छ ।
कंशमा कृष्णप्रतिको रिस झन्झन् बढ्दै गयो । राज्यभर जन्मेका नवजात शिशुहरु
सबैलाई मार्न सेनालाई आदेश दियो । जताततै कोलाहल मच्चन थाल्यो । हत्या,
हिंसा, दमन बढ्दै गयो । प्रजाहरु दिनप्रतिदिन असुरक्षित हुँदै गए । यसैबीच, बालक
कृष्णलाई मार्न भनेर पुतना, अकासुर, बकासुर, प्रलम्बासुरजस्ता भयङ्कर डरलाग्दा र
शक्तिशाली राक्षसहरुलाई कंशले पठायो । तर, उल्टै ती सबैलाई बालक कृष्णले
मारिदिए । कंशको पापको घडा भरिँदै जान लाग्यो । एकपटक बलराम र कृष्णलाई
बोलाएर मार्न भनी कंशले यौटा यज्ञको आयोजना ग¥यो, जहाँ शिव–धनुष सजाएर
राखिएको थियो । त्यस यज्ञमा आएपछि कृष्णले उक्त शिव–धनुष भाँचिदिए ।
उनीमाथि जाइलागेका कैयौँ सैनिकहरुलाई दुवै भाइ मिलेर वध गरिदिए । कंशको यो
योजना सफल हुन सकेन । अर्कोपटक ख्यातिप्राप्त पहलमानहरुलाई बोलाएर
द्वन्द्व–युद्ध गराई बलराम र कृष्णलाई मार्नका निम्ति आफ्नो राजदरबार
प्राङ्गणमा एक विशाल भेलाको कंशले आयोजना ग¥यो । बलराम र कृष्ण त्यहाँ
आउँदै गर्दा मूलढोकामा मदिरा खुवाएर राखिएको बलवान् हात्तीलाई कृष्णले मारिदिए
। द्वन्द्व–युद्धमा दुवै भाइले सबै पहलमानलाई परास्त गरेर मारिदिए ।
त्यसपछि त्यहाँ भयङ्कर युद्ध सुरू भयो । कंशलगायत उसका सबै सैनिकहरु
मारिए । कंशबाट पीडित साराका सारा प्रजाहरुले कृष्ण र बलरामको चारैतिरबाट
जयजयकार गर्न लागे । देवकी र वसुदेवको कारागारबाट रिहाइ भयो । उग्रसेनलाई
कारागारबाट मुक्त गरेर राजसिंहासनमा राखियो । मथुरा र गोकुलवासी सबै
प्रजाहरुको अबदेखि सुख, शान्ति र खुसीका दिनहरुको उदय हुन गयो । यो समयमा
कृष्ण भगवान्को उमेर जम्मा ११ वर्षको थियो । कृष्ण स्वयंले यमुना नदीको पानी
दूषित पार्ने कालिया नागसँग युद्ध गरेर परास्त गरी उसलाई त्यहाँबाट लखेटेर
नागलोकतिर पठाएका थिए ।
यसरी कृष्णबाट कैयौँ दुष्ट र शक्तिशाली राक्षसहरुको वध गरेर लोककल्याणकारी
काम हुँदै गयो । दुष्ट र अधर्मी कौरवहरु, राजा–महाराजाहरु, भ्रष्टाचारीहरु सबैलाई
महाभारत युद्धमा मारेर साधु–सज्जनहरु, सन्त–महन्तहरु, ब्राह्मणहरु, धर्मपरायण
पाण्डवहरुको रक्षा गरी यस धरतीमा धर्मको पुनःस्थापना कृष्णबाटै भयो । हिन्दु
धर्मग्रन्थहरुमध्ये सर्वश्रेष्ठ ग्रन्थ श्रीमद्भागवतगीताको प्रादुर्भाव श्रीकृष्णको
मुखारबिन्दुबाटै भएको हो, जसको सविस्तार अंश महाभारत युद्ध ताका अर्जुनलाई
सबैभन्दा पहिले श्रवण गराइएको थियो । गीता अहिलेसम्मको एकमात्र यस्तो हिन्दु
ग्रन्थ हो, जुन विश्वका १०० भन्दा बढी भाषाहरुमा अनुवादित भैसकेको छ ।
संसारका कैयौँ दार्शनिकहरुले निकट भविष्यमा विश्व हिन्दुमय हुनेछ भनी
भविष्यवाणी गरेका छन् । यसको श्रेयता हिन्दु धर्मग्रन्थहरु, हिन्दु संस्कृति, परम्परा,
धार्मिक सहिष्णुता आदिलाई जान्छ भन्ने धेरैको कथन छ ।
श्रीकृष्णलाई विष्णु भगवान्का प्रारुप भगवान्का पनि भगवान् हुन् भनेर भनिन्छ ।
यस धरतीमा १२५ वर्षसम्म रही सीधासादा प्रजाहरुलाई शान्तिपूर्वक बस्न र बाँच्न
पाउने वातावरण सिर्जना गरिदिएर श्रीकृष्ण गोकुलधाम गए । त्यतिबेला उनले
भनेका थिए– म गए पनि धर्म श्रीमद्भागवत महापुराणमा रहने छ । त्यसैले त
भन्ने गरिन्छ– भागवत, पुराणहरु, उपपुराणहरु, उपनिषद्, वेदहरु आदि सबै श्रीकृष्णका
वाङ्मय हुन् ।
कृष्णाष्टमी (श्रीकृष्ण जन्माष्टमी) वैदिक सनातन धर्मका अनुयायीहरूका लागि एक
अत्यन्त महत्त्वपूर्ण र पवित्र पर्व हो। यो केवल एउटा धार्मिक पूजाआजामा सीमित
नभई पौराणिक गाथा, आध्यात्मिक दर्शन र आधुनिक जीवनशैलीसँग प्रत्यक्ष
जोडिएको उत्सव हो।
१. पौराणिकता :
भगवान् कृष्णको जन्म: भाद्र कृष्ण अष्टमीको मध्यरातमा द्वापर युगमा कंसको
अत्याचार र पापबाट मुक्ति दिलाउन भगवान् विष्णुको आठौँ अवतारका रूपमा
श्रीकृष्णको जन्म भएको मानिन्छ।
पापमाथि धर्मको विजय: मथुराको कारागारमा जन्मिएका कृष्णलाई वसुदेवले उग्र
नदी पार गराई गोकुलका नन्द र यशोदाकोमा पुर्याएका थिए।
लीला र प्रसङ्ग: बाल्यकालका बाललीला (माखन चोरी, कालिया नाग दमन) देखि
महाभारतको युद्धसम्मका घटनाहरूले सत्य र न्यायको स्थापना कसरी भयो भन्ने
पौराणिक इतिहास दर्शाउँछन्।
२. आध्यात्मिकता :
गीताको सन्देश (कर्मयोग): श्रीकृष्णले अर्जुनलाई दिएको श्रीमद्भगवद्गीताको
सन्देश—"कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन" (कर्म गर, फलको आशा
नगर)—मानव जीवनको सबैभन्दा ठूलो आध्यात्मिक मार्गदर्शन हो।
आत्मज्ञान र भक्ति: कृष्ण शब्दको अर्थ 'आकर्षित गर्ने' हुन्छ। परमात्मा र
आत्माको मिलन, निस्वार्थ प्रेम तथा निष्काम कर्म नै यसको मुख्य आध्यात्मिक
मर्म हो।
आन्तरिक विकारमाथि विजय: कंसलाई अहङ्कार र पापको प्रतीक मानिन्छ भने
श्रीकृष्णलाई ज्ञान र विवेकको। आफ्नो भित्री अहङ्कार र अज्ञानतालाई समाप्त गर्नु
नै यस पर्वको वास्तविक आध्यात्मिक अर्थ हो।
३. आधुनिकता :
तनाव व्यवस्थापन र नेतृत्व: आधुनिक युगमा गीता र कृष्णको जीवनदर्शनलाई
प्रभावकारी 'स्ट्रेस म्यानेजमेन्ट' र 'लीडरसिप' (नेतृत्व कला) को रूपमा अध्ययन
गरिन्छ।
सांस्कृतिक निरन्तरता र सामाजिक एकता: दही-हान्डी (रथयात्रा र झाँकीहरू) जस्ता
गतिविधिले युवाहरूमा उत्साह, सहकार्य र टोली भावना बढाउँछ।
सकारात्मक दृष्टिकोण: जस्तोसुकै विषम परिस्थिति (जस्तै कारागारमा जन्मिनु) मा
पनि नआत्तिई शान्त र मुस्कुराएर समाधान खोज्ने कृष्णको व्यवहार आधुनिक
मानिसका लागि प्रेरणाको स्रोत हो।
कृष्णाष्टमी केवल विगतको इतिहास सम्झिने दिन मात्र होइन; यो त आफ्नो
कर्तव्यपथमा अघि बढ्दै, आधुनिक जीवनका चुनौतीहरूलाई विवेक र धैर्यका साथ
पार गर्ने सङ्कल्प लिने अवसर पनि हो।
श्रीकृष्णाष्टमी, जन्माष्टमी अर्थात् श्रीकृष्ण भगवान्को जन्म भएको यस दिनमा
समस्त हिन्दु धर्मावलम्बीहरु बिहान सबेरै उठेर सरोवरमा गई स्नान, जप, ध्यान
आदि जस्ता प्रातःकालीन कर्महरुबाट निवृत्त भएर दिनभरि र मध्यरातसम्म
भोकभोकै बसेर भगवान्का नाममा भजन–कीर्तन गरी व्रत, उपवास गर्ने गर्दछन् ।
रातिको ठीक १२ बजे जब श्रीकृष्ण भगवान् जन्मेको समय हुन्छ अनि भगवान्को
पूजा–अर्चना गरी धूप, दीप, आरती गरेर पण्डित तथा ब्राह्मणहरुलाई टीका लगाएर
दान–दक्षिणा दिई उनीहरुलाई भोजन गराएर पछि आफूले पनि भोजन गरी व्रत
विसर्जन गर्ने गरिन्छ । आफ्नो पूर्वजन्ममा घोर तपस्या गरेका हुनाले वसुदेव र
देवकीले त्यस जन्ममा साक्षात् भगवान्लाई पुत्रको रुपमा जन्म दिन पाएका थिए ।
हामीले पनि यसदिन सच्चा भावले भगवतभक्ति गर्न सकियो भने भगवान्जस्तै
सन्ततिको जन्म दिन पाइन्छ भन्ने आमहिन्दु परम्परामा जनविश्वास छ । अतः
जगतपति कृष्ण भगवान्को मानवरुपमा धरतीमा जन्म भएको यस पावन दिनमा
निष्काम भावले हामी सबैले पनि भगवतभक्ति गरेर भगवान्जस्तै सन्ततिको जन्म
दिन सकौँ । यस धरातलमा शान्ति र सुखमय ढङ्गले सबैले जिउन पाउने
अवस्थाको सिर्जना गर्न सकौँ ।


