
राजन कार्की------------------------
हिमाली ताल फुट्यो, भोटेकोशीमा बाढी आयो र यो बाढीले रसुवा, नुवाकोट, गोरखा र चितवनको जनजीवनलाई ध्वस्तनष्ट पारिदियो । यो बाढीको ताण्डवलाई विश्वले देख्यो, जलवायु परिवर्तनको जोखिम कुन हदसम्मको हुनेरहेछ, यस क्षेत्रका ज्ञाता, संस्थाहरूलाई झसङ्ग झस्काएर गएको छ ।
नेपालका ४ जिल्लाको जनजीवनलाई अधमरो पारिदियो, तर यो बाढीले विश्वसामु प्रश्न उठाइदिएको छ– जलवायु परिवर्तनको प्रभावबारे अनुसन्धान बाँकी नै छ । नेपालले जलवायु परिवर्तनको ठूलै मूल्य चुकाएको छ । धेरै जनधनको क्षति बेहोरेर नेपालले चुकाएको यो मूल्यबारे जलवायु न्यायकर्तासँग न्यायको माग गरिरहेको छ ।
नेपालको यो प्राकृतिक विपद विश्वकै लागि ताजा र गम्भीर शिक्षा पनि हो । प्रविधिको प्रयोग जरूरी छ, वनको संरक्षण र कार्वनश्रेयको न्यायपूर्ण वितरणमार्फत हिमालयको गरिमा, महिमा र जोखिमसँग सहअस्तित्व मानव जीवनमा कति महत्वपूर्ण रहेछ भन्ने सन्देश पनि दिएको छ । यो चेतावनी अनदेखा गरियो भने अहिले नेपालले जे जस्तो महाविपद् बेहोरेको छ, त्यस्तो विपद् अन्यले पनि भोग्नुपर्नेछ ।
भोटेकोशी बाढीले नेपालका चार जिल्ला अथवा नेपाली जनजीवनलाई मात्र हल्लाएको छैन, नेपाली मनमा मात्र भूकम्प गएको छैन, नेपाली जीवनमा मात्र शोक र भोक बढाएको छैन, मानवीय संवेदनलाई नै रूवाएको छ । नेपालका चार जिल्लाका गाउँ, सहर, मानिस, संरचना, साधनमस्रोतमात्र बगाएन, आँसु र पीडासँगै आधुनिक विश्वको चिन्तन, प्रगतिको सोचलाई पनि बगाएको छ । प्राकृतिक विपद् कति भयानक हुन्छ भन्ने दृश्य पनि हो, भोटेकोशीको बाढी, जसले विश्वशक्तिहरू सबैलाई जलवायु विषयमा सोच्न बाध्य पारेको छ ।
हिमाली ताल फुट्यो, रसुवाको भोटेकोशीमा मिसियो, त्रिशूलीमा मिसियो र प्रलयङ्कारी रूपमा बाढी सुसायो, गड्गडायो । जसरी दावानलले जे भेट्यो, सबै खरानी बनाउने गर्छ, त्यसैगरी यो बाढीले जे भेट्यो सबैलाई साहोरेर बगायो, माटो–बालुवामा मिसायो, पानीसँगै बगायो । मान्छे बगे, मरे । बाँचेका मान्छेको सपना बगायो । जिउने आधार बगायो । गाउँ सहर बजारका संरचना भत्कायो, बगायो । केही बाँकी राखेन, प्रकृतिको यो ताण्डव दृश्य सम्झदैमा कहालीलाग्दो देखिन्छ ।
बाढीपहिरोका कारण मान्छेमात्र होइन, पहाड र देशका पूर्वाधार पनि घाइते भए । यो विपद्ले धेरै कुरा समाप्त पारिदियो, धेरै विषयमा सोच्न बाध्य पारिदिएको छ । यो विपद्को कारण प्राकृतिक मात्र हो कि मानवीय असावधानी पनि हो ? हामीले प्रकृतिसँग खेलबाड ग¥यौं, सन्तुलन बिगा¥यौं, जसले बिनाशकारी परिणाम भोग्न अभिशप्त बनेका हौं । धेरैपल्ट यस्ता विपत्ति झेलेका छौं, हामी सचेत भएनौं र यो महाविपद् भोग्न बाध्य भएका हौं । वातावरणीय संवेदनशीलता जरूरी देखियो ।
पृथ्वीको तापक्रम बढेको छ । बेमौसी वर्षा, फूल फुल्ने, फल लाग्ने भइरहेको पनि देखेका छौं । सेतो हिमाल कालाम्मे हुँदैछ । हामीले प्रकृतिको बरदान भनेर प्रकृतिलाई लुटिरह्यौं, प्रकृतिलाई दिनैपर्ने सुरक्षा दिएनौं, असुरक्षित आफै बन्यौं । प्रकृतिबाट समृद्धि खोजिरह्यौं, प्रकृतिलाई दोहन गरिरह्यौं । वायु मण्डलको विषयमा सोचेनौं । यसैको दुस्प्रभाव हिमालदेखि समुद्रसम्म फैलियो । जलवायु परिवर्तनको असर भोग्ने मध्येमा नेपाल पनि छ । हाम्रा हिमालहरू जलवायु परिवर्तनका असरहरू बोकेर खडा छन् । नदी छन्, तिनको बहावमा असर देखिन्छ । नेपाल पहाडी मुलुक हो, भूक्षयको जोखिम दिनदिनै बढेको छ । हरियो बन नेपालको धन थियो, वन जोगाउन सकिएको छैन । अहिले बाढी आयो, पहिरो गयो, यो केवल केही जिल्लाको समस्या होइन, यो त विश्वकै लागि समेत खबरदारी पनि हो ।
नेपालले ठूलै खति बेहोरेको छ । यो खतीको आवाजलाई विश्वमञ्चसम्म पु¥याउनु पर्छ । नेपालले जलवायु परिवर्तनको जोखिमबाट के सम्म हुन्छ भनेर नेपालमा यतिखेर भइरहेको भूक्षय, बाढीपहिरोको कहरके दृश्य देखाएर विश्वको मानवीयताको स्तरलाई झक्झक्याउनु पर्छ । विश्वशक्तिहरूले कार्वन उत्सर्जन गरेर समृद्ध बने, नेपालजस्ता कमजोर मुलुकले त्यसको मूल्य चुकाउन बाध्यछन् । नेपालले हिमालको संरक्षण, जलवायु अनुकूलन, प्रविधि हस्तान्तरण, पाउनैपर्ने न्यायपूर्ण क्षतिपूर्तिका विषयमा समेत विश्वसामु आवाज उठाउनै पर्ने देखिन्छ ।
हिमाल पानी हो । पानी नेपाल र नेपालसीमापारका करोडौं मानिसको जीवन हो । त्यसैले हिमालको संरक्षण विश्वको दायित्व हो, मानवीय जिम्मेवारी हो । हिमाल जोगिनु भनेको मानवीयता जोगिनु हो । यो आवाज नेपालको आवाज हुनुपर्छ ।
बाढीले नेपालको विकासलाई टक्क रोकिदिएको छ । सडक, पुल, विद्युत, उद्योग, सञ्चार, गाउँ, सहर, बस्ती सबै बगाएर लगिदियो बाढीले । नेपालको विपद्मा विश्वले सहयोगी हात बढाएका छन् । ती हातहरूलाई नेपालको पूर्वाधार विकास र मानवीय मूल्य मान्यतामा रूपान्तरण गर्न सकियो भने केही आधार बन्नसक्छ । यद्यपि दानदातव्यले देश बन्दैन, देश बनाउन स्वाभिमानी र श्रमजीवी त बन्नैपर्छ ।
घर , सडक भत्किए, विकासका संरचना भत्किए, पुनःनिर्माण गनुृपर्नेछ । पुननिर्माण गर्दा हामीले सोच्नैपर्छ, जोखिम होइन, जीवन निर्माण गरौं । जुन ठाउँ गाउँ जोखिममा छन्, स्थानान्तरण गरौं । सडक जोखिममा छन् भने विकल्प सोचौं । भूउपग्रहबाट प्राप्त चित्र, भौगोलिक सूचना प्रणाली, दूरसंवेदी प्रविधि, वर्षा मापन केन्द्र, माटोको चिस्यान मापन, जमिनको गति मापन, क्षिमेकी मुलुकसँग सूचना आदानप्रदान र पूर्वानुमान प्रणालीको उपयोग गरेर भविष्यका लागि यस्ता दुर्दिनलाई टार्न सक्छौं, मानवीय क्षति घटाउन सक्छौं । यसका लागि सरकार लागिपरेको छ, सरकारलाई सबैले सहयोग गरौं । यो शोकको घडीमा राजनीति नगरौं, देश बचाउन, बनाउन सकियो भने राजनीति जति गरे पनि हुन्छ ।
उद्धार, राहतपछ पुननिार्माणमा लाग्नुपर्छ । पुननिर्माण गर्दा अहिलेको पीडाबाट सिकेर सोच्नुपर्छ । व्यवस्थित बस्त,ि वनको सदुपयोग, हिमालको सम्मान, नदीको व्यवस्थापनलगायतका विषयमा सोचेर योजना बनाउनु पर्नेछ । ताकि आजको अकल्पनीय क्षतिले भोलिको सुरक्षित मार्ग देखाओस् ।
भोटेकोशीको बाढीले गरेको बिनासलीलाका दृश्यहरू विनाशकारी छन् । पानी, बरफ, माटो र ढुंगासँगै मान्छेको जीवन, सपना सबै बाढीको भेलमा हिमालयदेखि उपत्यकाहरूमा बग्यो । घर, सहर, सडक र पुलहरू बगाए । मानिस कहाल्लीएका थिए, तिनलाई प्रतिक्रिया दिने समय नै थिएन । फेरि एकपटक, पुस्तौँदेखि यी हिमालसँगै बस्ने मानिसहरू आफ्नो नियन्त्रणभन्दा बाहिरका प्राकृतिक शक्तिसँग जुधिरहेका छन् । प्रकृतिसँग समन्वय नगर्दा मानिसले भोग्ने यस्तै बिपत्ति रहेछ ।
सरकारले गर्नैपर्ने पहिलो काम भनेकै उद्धार र राहत हो । जहाँ जति सकिन्छ सहयोग संकलन गरेर बिपतमा परेकालाई सहयोग गर्नु हो । जसले घर गुमाए, आफन्त गुमाए, जिविका गुमाए, अंगभंग भए, मर्नु न बाँच्नेको स्थितिमा छन्, तिनको सहयोग नै मानवता हो । सरकारको जिम्मेवारी हो । यो कार्य सम्पन्न भएपछि सरकार पुननिर्माणमा जुट्नुपर्नेछ । जुन पुरानो ढाँचामा हामी बसेका छौं, त्यस्तो जोखिमयुक्त ढाँचा बदल्नुपर्छ । फेरि फेरि यस्तो विपद् नपरोस् भनेर अहिले नै चेत्नुपर्छ र सोच बदल्नुपर्छ । राज्यले गम्भीर निर्णय गर्ने बेला यही हो ।
हिमाल फुट्यो, बाढीले महाकाल निम्त्यायो । यथार्थमा यो प्रकृतिले हामीलाई दिएको सिख पनि हो । चेतावनी हो । अझै हामी प्रकृतिसँग जोरी खोज्नुहुन्न । असलमा जलवायु परिवर्तनले हिन्दुकुश–हिमालय तात्दैछ । हिउँ पग्लदै छ, हिमनदीहरू फुट्दैछन् । हिमतालको शान्तस्थिति बदलिएको छ । जसले समाजलाई अस्थिरतामा धकेल्दैछ । चरम वर्षा, चरम घाम, चरम मानिसको लापरवाहीले विपत्तिका खतराहरू दिनदिनै बढ्दै गएका छन् । झण्डै दुई अर्व मानिस हिमाल र नदीप्रणालीसँग गाँसिएका छन् । हिमाल जीवन पनि हो, मृत्यु पनि । त्यो सत्य सावित भयो ।
अहिलेसम्म जे जति व्यवस्थापनका पद्धतिहरू थिए, त्यसमा परिवर्तन चाहिने भएको छ । हामी सडक, पुल, जलविद्युत्, प्रसारण लाइन, सुरूङ, पर्यटन सुविधा र आधुनिकता निर्माण गरिरहेका छौं । औद्योगिकीकरण पनि तीब्र गतिमा छ । तर प्रकृतिसँगको समन्वयमा सुधार आएको छैन, जसले विपतलाई निम्तो दिइरहेछ । यहीकारण हिमनदीहरू फुट्छन्, नदीको बहाव बढ्छ, उर्लन्छ र मानिसका सपनाहरू अहिले भोटेकोशीले बगाएजसरी बगाउँछ । केही छिनमै सबै स्वाह हुन्छ ।
सुरूआत नै पर्यावरणमैत्री सोच हुनुपर्छ । त्यसैका आधारमा विकास निर्माणका जग बसाल्नुपर्छ । पहिले विकास गर्दा जलवायु प्रतिरोध हुनसक्दैन । हिमाली क्षेत्रमा हामी जे गछौं, सय वर्षपछिको परिवर्तनको सोच राखेर गर्नु उचित हुनेछ । आज नेपालले जे भोगेको छ, त्यो त प्रारम्भ मात्र हो । अहिले नै हामीले बुद्धि पु¥याएर अघि बढ्न सकिएन भने भोलिका दिनमा योभन्दा डरलाग्दा घटना घट्नसक्नेछ । भूगोलको अध्ययन गरेर भूमिको उपयो, सुरक्षित बसोबास, पूर्वनिर्धारित उद्धार मार्ग, विद्यालय र अस्पतालको समुचित व्यवस्था, केही भइहाले उद्धारको प्रवन्ध । वर्तमान र भविष्यका लागि समेत प्रतिरोधको पूर्वाधार सोच्ने समय अहिले नै हो ।
यो दुर्दशामा नेपालले कमाएका मित्रहरू सहयोगका लागि आएका छन्, तिनको सहयोगलाई समुचित उपयोग गरेर यो शोकलाई जित्ने चुनौती छ अहिले ।



