
शिक्षा : हामी विभिन्न विषयको ज्ञान मुख्यतः विद्यालय, कलेज र विश्वविद्यालयको औपचारिक शिक्षामार्फत हासिल गर्छौं । शिक्षाले हामीले नजानेको ज्ञान हामीलाई प्रदान गर्नुको साथै जन्मजात हामीमा रहेको अल्पज्ञानलाई पनि विकसित र उज्यालो बनाउँछ । हाम्रो कामकाज काम गराइ, बुझाइ, बोलाइ, लेखाइ, व्यवहार तथा निर्णय क्षमतामा सफल हुन सक्षम बनाउँछ ।
शिक्षा र पुस्तकालय ः विकसित देशहरूमा शिक्षा र पुस्तकालयलाई सूर्य र सूर्यको प्रकाश, चन्द्रमा र चाँदनी जस्तै एकअर्काबाट अलग गर्न नसकिने मानिन्छ । अर्को शब्दमा भन्नुपर्दा, ती शरीर र आत्माजस्तै परस्पर अभिन्न ठानिन्छ । एउटा बिना अर्कोको अस्तित्व कल्पना गर्न सकिँदैन । कारण शिक्षण, गुरू र शिक्षण संस्थाको कामकाज लागि नभइ नहुने विश्व ब्रहमाण्डका ज्ञानी र प्रवुद्धहरूको अनुभव र ज्ञान, ज्ञानसामग्रीहरूमा सुरक्षित हुन्छ । तिनै ज्ञान सामग्रीहरू मध्य पनि उपयोगीमा उपयोगी ज्ञान सामग्रीहरू छनौट,संकलन, संरक्षण र वैज्ञानिक किसिमले व्यवस्थित गरी ती ज्ञानसामग्रीहरू शिक्षण संस्था, गुरू, बिद्यार्थी अर्थात समस्त पाठकहरूलाई पुस्तकालयले विना विलम्ब उपलब्ध गर्छ । प्रदान गर्छ । त्यसैले नै पुस्तकालयलाई ज्ञानको मुख्य स्रोत र शिक्षाको मुटु भनिन्छ । पुस्तकालयलाई विद्यार्थी, शिक्षक तथा अनुसन्धानकर्ताका लागि मात्र होइन समस्त जनताको ज्ञान प्राप्तिको लागि नभइनहुने एक शैक्षिक संस्था पनि मानिन्छ । सुदृढ पुस्तकालयबिना गुणस्तरीय शिक्षाको अपेक्षा गर्न सकिदैन ।
विकसित देशमा पुस्तकालय :
समृद्ध तथा विकसित राष्ट्रहरूमा विद्यालय, कलेज, विश्वविद्यालय, अनुसन्धान केन्द्रमा मात्र होइन,कुनै पनि ठूला संस्था, कार्यालय, कल कारखाना, उद्योग तथा व्यापारिक संस्थाहरूमा पनि उत्कृष्ट रूपमा व्यवस्थित पुस्तकालयहरू हुन्छन्, जहाँ सावधानीपूर्वक छनोट गरिएका गुणस्तरीय ज्ञानसामग्री उपलब्ध गरिएका हुन्छन् । यति मात्र होइन, त्यहाँका सहर र गाउँहरूमा पनि सरकारी निकाय वा नगरपालिकाद्वारा सञ्चालित सुदृढ सार्वजनिक पुस्तकालयहरू हुन्छन्, जसले सर्वसाधारणलाई ज्ञानसामग्रीमा सहज पहुँच प्रदान गर्छन् । हाम्रै छिमेकी राष्टू भारत दिल्लीको दिल्ली सार्वजनिक पुस्तकालय , जापानको टाकिओ सिटी लाइब्रेरी, अर्हस्, डेनमार्कको “डक एक“ सार्वजनिक पुस्तकालय, मुख्यतः न्यूयर्क अमेरिकाको न्यूयर्क सार्वजनिक पुस्तकालय आदि यसका दृष्टान्त हुन् ।
सार्वजनिक पुस्तकालय :
सबै समुदाय, सबै वर्ग, सबै पेशा तथा बालबालिकादेखि वृद्धसम्म सबै उमेर समूहका मानिसहरूको साझा पुस्तकालयको रूपमा रहने सार्वजनिक पुस्तकालयलाई मानवको ज्ञान उपार्जनको लागि नभई नहुने एक शैक्षिक संस्थाको रूपमा विकसित मुलुकहरले लिएका छन् । सार्वजनिक पुस्तकालयलाई स्वतन्त्र र खुला रूपमा ज्ञानमा पहुँच तथा सबैका लागि समान अवसर प्रदान गर्ने आदर्शमा आधारित सभ्य र लोकतान्त्रिक समाजको सबैभन्दा महत्त्वपूर्ण शैक्षिक संस्थाको रूपमा लिइन्छ । यसलाई जन समुदायमा अध्ययन गर्ने बानीको विकास गर्न, जनतालाई शिक्षित बनाउन तथा उनीहरूको काम, अध्ययन, अध्यापन, अनुसन्धान, लेखन, वक्तृत्व, बौद्धिक विकास, योजना निर्माण तथा नीतिनिर्माणमा उपयोगी सूचना र ज्ञान उपलब्ध गराउन अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गराउन अति आवश्यक ज्ञान प्रदान केन्दको रूपमा आवश्यक ठानिन्छ ।
यस पुस्तकालयले प्रदर्शनी, पुस्तक प्रदर्शनी, व्याख्यान, छलफल तथा अन्य कार्यक्रममार्फत आफ्ना पाठकलाई समसामयिक घटना, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गतिविधि, सार्वजनिक चासोका विषय, चर्चित बहस, समयानुकूल मुद्दा तथा नयाँ प्राप्त पुस्तकहरूको जानकारी गराउँछ । यसले देशको विकास र जनकल्याणसँग सम्बन्धित सबै विषयमा तथ्य र सत्यका आधारमा ज्ञान प्रदान गर्छ । सांस्कृतिक वा राजनीतिक पूर्वाग्रहबाट मुक्त रहँदै यसले अध्ययन, अध्यापन र अनुसन्धानलाई सुदृढ बनाउँछ । यस सन्दर्भमा अमेरिकन लाइब्रेरी एसोसिएसनको “पुस्तकालय पेशा त्यस्तो पेशा हो, जसमा अन्य सबै पेशा र व्यवसाय निर्भर छन् ।” योे भनाई स्मरणयोग्य छ ।
अमेरिकी उद्योगपति तथा महान् परोपकारी एन्ड्र्यु कार्नेगी, जसले संयुक्त राज्य अमेरिकामा १,६०० भन्दा बढी पुस्तकालय स्थापना गर्न करोडौं डलर दान गरेका थिए, भन्छन्—
“समुदायले आफ्ना नागरिकको हितका लागि गर्न सक्ने सबै कार्यहरूमध्ये पुस्तकालयको स्थापना सबैभन्दा उत्कृष्ट हो । यो मरूभूमिमा कहिल्यै नसुक्ने ज्ञानको मूल हो ।”
विकासोन्मुख देशमा पुस्तकालय :
तर विकासोन्मुख तथा अविकसित देशहरूको अवस्था फरक छ । त्यहाँ जनशिक्षामा पुस्तकालयको महत्त्वलाई पर्याप्त रूपमा बुझिएको छैन । त्यसैले शैक्षिक संस्थाहरूमा पनि स्तरीय पुस्तकालयहरूको अभाव भएका हुन्छन् । सार्वजनिक पुस्तकालयहरू पनि साधारणतः नाममात्रका हुने गरेका देखिन्छन । जनजीवनका सबै क्षेत्रकामानिसलाई आवश्यक ज्ञान र सूचना उपलब्ध गराउने स्तरका राम्रा सार्वजनिक पुस्तकालयहरू प्रायः पाइँदैनन् ।
हाम्रो देशमा पुस्तकालयको अवस्था; पुस्तक संग्रह र पुस्तकालयमा फरकता :
हाम्रो देशको अवस्था पनि अन्य अविकसित मुलुकहरूभन्दा खासै फरक छैन । हाम्रो मुलुकमा ज्ञान सामग्रीहरूको महत्वको ज्ञाता र पुस्तक प्रेमीहरूको अभिरूची र प्रयासले सयौ हजारौं पुस्तकालय नामका पुस्तक संग्रहरू मुलुक भरी रहिआएको कुरा सबैलाई थाहा छ । यसको लागि ती हाम्रा ज्ञानसामग्री प्रेमी, ज्ञान सामग्री हाम्रो लागि सुरक्षित गर्ने पूर्वजहरूप्रति हामी सवै नेपाली कृतज्ञ हुनुपर्छनै ।तर सही अर्थमा भनिदा पुस्तक संग्रहनै पुस्तकालय होइन ।जसरी दुधनै दही होइन । यद्यपि दुधवाटनै दही बन्छ । जसरी पिठो वा मैदानै रोटी होइन, यद्यपि पिठो वा मैदाबाटै रोटी बन्छ । त्यस्तै ज्ञान सामग्रीहरूको संग्रहनै पुस्तकालय होइन । तर ज्ञान सामग्रीहरूको संग्रहलेनै पुस्तकालयको निर्माण हुन्छ । ज्ञान सामग्रीहरू विना पुस्तकालय बन्दैन ।
बैज्ञानिक किसिमले छनौट, सुसंगठित सुब्यवस्थित उहीं ज्ञान सामग्रीहरूको संग्रह र पुस्तकालयमा रहेका ज्ञान सामग्रीहरूमा रहेका ज्ञान पुस्तकालयका पाठकहरूको चाहना र आवश्यकता बमोजिम विना विलम्ब प्रदान गर्न सकने ज्ञानको केन्द्रलाई हामी सही अर्थमा पुस्तकालय अर्थात आधुनिक पुस्तकालय भन्छौ । यसैले हाम्रा मुलुकमा पुस्तकालयको नाममा रहेका हजारौ पुस्तक संग्रहहरूलाई यस अर्थको आधुनिक पुस्तकालयमा परिणत गर्न पर्ने महत्वपूर्ण काम पनि हाम्रो सामु छदैछ ।
नेपालमा आधुनिक सार्वजनिक पुस्तकालयको आवश्यकता :
देशभरि पुस्तक र पुस्तकालयप्रेमीहरूको सक्रियता, अभिरूची, सेवा, प्रयास, परिश्रम, दानदातब्य, उदारता, उपहार आदिवाट सयौं सयौँ यस्ता सार्वजनिक पुस्तकालयहरू हाम्रो मुलुकमा भएपनि सरकार, स्थानीय सरकार वा कुनै पनि नगरपालिकाले स्थापना गरेको अन्तर्राष्ट्रिय स्तरको एउटा पनि सार्वजनिक पुस्तकालय हामीसँग छैन । काठमाडौं जस्तो राजधानी सहरमा समेत छैन ।जनताको आवश्यकता, भौगोलिक क्षेत्र, जनसङ्ख्या, आवश्यक पठनसामग्री, स्थान तथा सेवा आदिको व्यावसायिक अध्ययन र योजनाका आधारमा स्थापना गरिएको सार्वजनिक पुस्तकालय हाम्रो देशमा छैन । यस सन्दर्भमा, भक्तपुर नगरपालिकाले २०१० को दशक (सन् १९५० को दशक मा ) स्थापना गरेको भक्तपुरको जनज्योति पुस्तकालय, एक नगरपालिकाको ऐतिहासिक पुस्तकालयको हैसियतले उल्लेखनीय अपवाद हो । त्यस पुस्तकालयको उद्घाटन तत्कालीन राजा त्रिभुवनबाट भएको थियो भन्ने कुरा म गर्वका साथ सम्झन्छु । त्यसबेला रत्नसुन्दर सैजु भक्तपुरका मेयर हुनुहुन्थ्यो र मेरा जेठा दाजु, श्रीपद्म उच्च माध्यमिक विद्यालय, भक्तपुरका अंग्रेजी पढाउने ख्यातिप्राप्त प्रथम शिक्षक, विद्यार्थी निकेतन् हाइस्कूलका प्रधानाध्यपक र पछि त्रिभुवन विश्वविद्यालयका अङ्ग्रेजी विषयका प्राध्यापक भवानी प्रसाद मिश्र उद घाटन समारोहका सभापति हुनुहुन्थ्यो । यद्यपि नगरपालिकाकै संरक्षकमा रहेपनि आजको आवश्यकता र परिवेशअनुसार त्यस पुस्तकालयको पनि अपेक्षित विकास हुन सकेको छैन ।
सार्वजनिक पुस्तकालय सेवा सञ्चालनमा हाम्रो प्रयास :
काठमाडौंमा सार्वजनिक पुस्तकालयको अभाव तथा यहाँका नागरिकलाई पुस्तकालय सेवा उपलब्ध गराउनु आवश्यक भएको महसुस गर्दै, मेरी स्वर्गीय प्रिय पत्नी शान्ति मिश्र—नेपालकी पुस्तकालय विज्ञानमा स्नातकोत्तर उपाधि प्राप्त पहिलो व्यावसायिक महिला पुस्तकालयविद्, त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयकी संस्थापक प्रमुख पुस्तकालयाध्यक्ष तथा देशकै प्रथम आधुनिक पुस्तकालयकी निर्माता र भारतवाट पुस्तकालय विज्ञानमा एम. ए गर्ने म प्रथम नेपाली मैले उवेला लालदरवार स्थित त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयलाई विश्वविद्यालय समुदायका लागि मात्र नभई सम्पूर्ण काठमाडौंवासीका लागि पनि खुला सार्वजनिक पुस्तकालयका रूपमा सञ्चालन गर्यौं । लालदरबार हालको याक एण्ड यति होटल परिसरमा रहेको त्रि. विको पुस्तकालय कीर्तिपुर सारिनुअघि सम्म हामीले विद्यार्थी, शिक्षक मात्र होइन, सबै नागरिकलाई सेवा प्रदान गर्यौं । तर पछि सो पुस्तकालय कीर्तिपुर स्थानान्तरण भएपछि सीमित स्थान र सीमित पठनसामग्रीका कारण सार्वजनिक पुस्तकालयको पनि भूमिका बहन गरी सबैलाई सेवा दिने हाम्रो चाहना निरन्तर कायम राख्न सम्भव भएन ।
एकपटक त हामीले नयाँ सडक गेट नजिक रहेको तत्कालीन सैनिक अस्पतालको भवन प्राप्त गर्न सके त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको शाखा विस्तार गरी विश्वविद्यालयका शिक्षक, विद्यार्थी र काठमाडौंको अरू जनसमुदाय समेतको लागि मुख्य सहरी क्षेत्रमा सार्वजनिक पुस्तकालय सेवा सञ्चालन गर्न सकिन्छ भन्ने उद्देश्यले उच्च सरकारी अधिकारीहरूसमक्ष प्रस्ताव पनि राखेका थियौं । तर हामी सफल हुन सकेनौं ।
त्यसपछि वि.सं. २०२८ साल साउन १६ गते हामीले तत्कालीन श्री ५ महाराजाधिराज वीरेन्द्रसमक्ष निवेदन प्रस्तुत गरी केशर पुस्तकालयलाई त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको मातहतमा ल्याउने प्रयास गर्यौं । त्यसमार्फत विद्यार्थी, शिक्षक र अनुसन्धानकर्तालाई शैक्षिक पुस्तकालय सेवाका साथै सर्वसाधारणलाई पनि निशूल्क सार्वजनिक पुस्तकालय सेवा प्रदान गर्ने हाम्रो आकाङ्क्षा थियो । तर त्यो प्रयास पनि सफल हुन सकेन । राज्यको नेतृत्व गर्ने उच्च अधिकारीहरूले हाम्रो भावना र यस महान् उद्देश्यलाई बुझ्न सकेनन् । श्री ५ महाराजाधिराजसमक्ष प्रस्तुत गरिएको हाम्रो निवेदनको प्रतिलिपि हाम्रो नेपाली पुस्तक ‘त्रि.वि. केन्द्रीय पुस्तकालयको गौरवशाली कहानी र हाम्रो सेवा’ को पृष्ठ २३४ मा प्रकाशित छ ।
काठमाडौं महानगरपालिकाले सञ्चालन गर्ने एउटा आदर्श सार्वजनिक पुस्तकालय स्थापना होस् भन्ने अभिलाषाका साथ मेरी पत्नी शान्ति मिश्र र मैले ‘पुस्तक, पुस्तक सङ्ग्रह र पुस्तकालय’ शीर्षकको लेख एक लेख्यौं, जुन साप्ताहिक जनसत्तामा वि.सं. २०६१ माघ २७ गते प्रकाशित छ । नमुना सार्वजनिक पुस्तकालय स्थापना गर्ने उनको आजीवन सपना आज पनि मेरो मनमा निरन्तर जीवित छ ।
पुस्तकालयका लागि अभिभावक संस्था वा प्रायोजक निकायको अनिवार्यता :
कुनै पनि किसिमको बलियो अभिभावक संस्थाको टेवा र संरक्षण विना सानो वा ठूलो कुनै पनि आधुनिक पुस्तकालय स्थापना र दिगो रूपमा सञ्चालन हुँदैन र हुन सक्तैन ।पुस्तकालय भन्नासाथ पुस्तकालय रहने स्थायी ठाउँ अर्थात पुस्तकालय भवन हुनुपर्छ नै । यसको लागि जनशक्ति अर्थात पुस्तकालय विज्ञानमा योग्यताप्राप्त ब्यावसायिक, सहायक आदि कर्मचारी पनि चाहिने नै हुन्छ । यसको साथसाथै दराज, टेवल, कुर्सी मात्र होइन थरी थरीका पुस्तकालय सम्बन्धी कामका सामग्रीहरू, उपकरणहरू पनि हुनुपर्छनै । यी सवै कुराको लागि आवश्यक आर्थिक स्रोत नियमित प्रदान गर्ने अभिभावक अर्थात संरक्षण निकाय पुस्तकालयको लागि अनिवार्यत हुनुपर्छनै । जस्तो स्कूल पुस्तकालयको स्कूल, विश्वविद्यालय पुस्तकालयको विश्वविद्यालय, सरकारी पुस्तकालयको सरकार र कलकारखानाको पुस्तकालयको कलकारखाना, सार्वजनिक पुस्तकालयको लागि साधारणतः नगर पालिका जस्तो स्थानिय निकाय संरक्षण निकाय हुने जस्तै संरक्षण निकाय नभई कसैको अभिरूचीले मात्र पुस्तकालय सुचारू रूपले सञ्चालन हुन सक्तैन भन्ने कुरा बुझ्न जोकसैलाई गाह्रो हुन नपर्ने कुरा हो ।
हाम्रा मुलुकका ज्ञान सामग्री प्रेमी, पुस्तकालय प्रेमी जोकसैको ध्यान यतातिर गएको पटक्कै देखिँदैन । धेरैले पुस्तकालय प्रेमले त, कसैले राजनैतिक उद्देश्यले, कसैले नाम आर्जन गर्नेमात्र लहडले विना आवश्यक कुरामा ध्यान नदिई विना सही नीति र योजना पुस्तकालयहरू स्थापना र सञ्चालन गरिआएको देखिन्छ । कुरा जस्तो सुकै भएपनि पुस्तकालय विशेषज्ञहरूको राय सुझावले पुस्तकालय रहने गाँउ शहरको भौगोलिक क्षेत्र, जनसङ्ख्या, सम्भावित पाठक बर्ग, आवश्यक पठनसामग्री, पुस्तकालय भवन, स्थान, जनशक्ति, पुस्तकालय फर्निचर, उपकरण तथा बजेट आदिको व्यावसायिक अध्ययन गराई त्यसका आधारमा स्पष्ट योजना र नीति तर्जुमा गरी यी सवै पुस्तकालयहरूको लागि संरक्षण निकायको व्यवस्था गरी पुस्तकालयको सुव्यवस्था र सुसञ्चालन सरकारले गर्न जरूरी छ ।
पुस्तकालय सम्बन्धी प्रसङ्गमा काठमाडौंस्थित ‘काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयको’ दुखद् लफडा हाल एक चर्चित विषयको रूपमा मुलुकमा छ । यस सम्बन्धी लोकेन्द्र विश्वकर्माद्वारा लिखित मिति २०८३श्रावण २१को शिलापत्रमा प्रकाशित लेख अनुसार राष्ट्रिय योजना आयोगका पूर्व केही सदस्यहरू लगायत नेपालका ख्याति प्राप्त दर्जनौ प्रबुद्ध गण्यमाण्यहरूको सहभागितामा यो पुस्तकालयको स्थापना र सञ्चालन भएको देखिन्छ । तर यस्तो भएपनि लेखमै रहेको ऐतिहासिक विवरण अनुसार यो पुस्तकालयको स्थापना र सञ्चालनमा पनि स्पष्ट योजनाको अभाव मात्र होइन, पुस्तकालय सञ्चालनको लागि अनिवार्यत हुनपर्ने संरक्षक निकाय सम्मको व्यवस्थामा पनि आवश्यक ध्यान जान नसकेको पनि देखिन्छ । यसैबाट यसको लफडा उत्पति भएको स्पष्ट छ ।
कुराजस्तो भएपनि पुस्तकालय जस्तो संस्थाको सुसञचालनको उचित ब्यवस्था गर्नुको सट्टा पुस्तकालयमा ताला लगाउनु कम दुःखदायी कुरा होइन ।कुरा जस्तो भएपनि वितेको कुराबाट पाठ सिकी पुस्तकालय खोल्ने वा बन्द गर्ने कुरामा फोहरी राजनीति नगरी यो पुस्तकालयको पनि संरक्षण निकायको व्यवस्था गरी प्रभावकारी रूपमा सुचारूरूपले सञ्चालन गर्ने व्यवस्था हुनुपर्ने देखिन्छ । विश्वकर्माको लेख अनुसार यस प्रसङ्गमा यो पुस्तकालय सञ्चालनको लागि समाज कल्याण परिषद संरक्षणको जिम्मेवारी बोकन तयार रहेको देखिन्छ । संरक्षक आवश्यक संस्थामा संरक्षण निकाय उदाउनु जरूर खुशीको कुरा हो ।हुनत यो संरक्षण निकायको जिम्मेवारीको लागि काठमाडौं नगर पालिकालाई पुकार्नु मेरो विचारमा सबभन्दा उतम उपाय हुनसक्छ ।यो जिम्मेवारी वहन गर्न नगरपालिका आफै खुशीले अघिसर्नु पर्ने यो विषयवस्तु भएको जस्तो पनि मलाई लाग्छ ।
पुस्तकालय र स्थानीय निकाय :
जनतालाई ज्ञान उपार्जनको सुविधा उपलब्ध गर्नको निमत्त अन्य देशहरूमा जस्तै हाम्रो देशका विभिन्न नगरपालिकाहरू अर्थात स्थानीय निकायहरूले पनि सुविचारित स्पष्टनीति, बैज्ञानिक योजना र दिगो व्यवस्थापनसहित वास्तविक अर्थमा प्रभावकारी पुस्तकालय सेवा प्रदान गर्न सक्ने आधुनिक सार्वजनिक पुस्तकालयहरू स्थापना र सञ्चालन गर्न ध्यान दिन पर्ने देखिन्छ । । सार्वजनिक पुस्तकालय लगायत कुनैपनि किसिमको पुस्तकालय कुनै अभिभावक संस्थाविना प्रभावकारी रूपमा सञ्चालन हुन सक्दैन । त्यसैले हाम्रा स्थानीय निकायहरूले स्पष्ट नीति नियम कानूनको ब्यवस्था गरी हाम्रो शहर, गाँउ, ठाउँमा हाल रहेका सार्वजनिक पुस्तकालयहरूको संरक्षकत्व ग्रहण गरी यसको समयानुकुल विकास गर्न पनि विशेष ध्यान दिन जरूरी छ ।
यस सन्दर्भमा म देशभरका सबै स्थानिय निकायका प्रमुखहरूलाई सार्वजनिक पुस्तकालय स्थापना र सञ्चालन गर्ने विषयमा गम्भीरतापूर्वक सोच्न हार्दिक अनुरोध गर्दछु । काठमाडौं महा महानगरपालिकाका तत्कालीन मेयर वालेन शाह जनहित र एक प्रशंसनीय विकासप्रेमी नगरप्रमुखका रूपमा उदाउनु भएको र उहाँले आफ्नो कार्यक्षेत्र भित्रका शैक्षिक संस्थाहरूलाई राजनीतिमुक्त बनाउने प्रशंसनीय नेतृत्व पनि प्रदान गर्नु भएकोले पुस्तकालय क्षेत्रमा पनि उहाँको ध्यान जान सके काठ्माडौंमा निश्चय पनि एक अन्तर्राष्ट्रिय स्तरको दिल्ली सार्वजनिक पुस्तकालय जस्तैको आधुनिक पुस्तकालय स्थापना र सञ्चालन हुन सक्ने र काठमाडौंमा रहेका अरूपनि सार्वजनिक पुस्तकालयहरूको आधुनिकरणमा नगरपालिकाको संरक्षकत्व हुन सकने रमाइलो आशा मेरो मनमा पलाएको थियो ।
यसैले मैले उहाँको ध्यान यसतर्फ पनि आकर्षण गर्न र यसतर्फ उहाँको ध्यान जान सके यसकाममा विना पारिश्रमिक स्वयम सेवकको रूपमा बिशेषज्ञीय सेवा पनि खुशीसाथ अर्पण गर्न मैले काठमाडौं महानगरपालिका सार्वजनिक पुस्तकालयको आवश्यकता र वालेन शाह ( A Necessity of Kathmandu Municipality Public Library and Balen Shah ) शिर्षकको एक लेख अङ्गेजी भाषामा लेखे । यो लेख June ७, २०२३ को PeopleÚs Review मा प्रकाशित छ । यो लेखमा उहाँको ध्यान गएन वा यसमा उहाँको अभिरूची रहेन, मलाई थाहा छैन । अव उहाँ यो राष्ट्रको सम्माननीय प्रधानमन्त्री हुनुहुन्छ । नेपालमा आधुनिक सार्वजनिक पुस्तकालयहरूको स्थापना र विकासमा पनि उहाँको ध्यान जान सकोस्, म कामना गर्छु । उहाँको नेतृत्वले नेपालका ज्ञानपिपासु नागरिकहरूले अध्ययनका लागि उपयुक्त स्थान र आफ्नो ज्ञानपिपासा मेटाउने अमूल्य अवसर पनि निकट भविष्यमानै पाउने म आशा पनि गर्छु ।
पुस्तकालय दिवस ः प्रत्येक वर्षको भाद्र १५ गते हाम्रो मुलुकमा पुस्तकालय दिवसको रूपमा मनाउने चलन केही वर्ष देखि नियमित छ । धेरै जसो हाम्रा विभिन्न यस्तै दिवसहरूमा २÷४ जना नजिकका आसेपासेलाई माला लगाउने र यस्तै २÷४ जनाको प्रशंसा फलाक्ने चलनमै साधारणतः सीमित रहेको पनि देखिन्छ । यस किसिमको दिवसले केही उपलब्धी साधारणतः हात पर्दैन ।
त्यसैले म पुस्तकालय दिवसका आयोजकहरूलाई नेपालको पुस्तकालय विकासका लागि आवश्यक ठोस कदमहरूमा अझ बढी ध्यान दिन हार्दिक आग्रह गर्दछु । यो अवसर केवल उत्सव मनाउने दिनमा सीमित नभई पुस्तकालय सेवाको सुदृढीकरणका लागि व्यावहारिक नीति निर्माण गर्ने, भएका प्रगतिहरूको समीक्षा गर्ने र अर्थपूर्ण पहलहरू प्रारम्भ गर्ने अवसरको रूपमा प्रयोग हुनुपर्छ ।
पुस्तकालय विकासको लागि ध्यानयोग्य कुरा :
पुस्तकालय कुनै विलासिताको वस्तु होइन; यो शिक्षा, बौद्धिक विकास, सचेत नागरिक निर्माण र राष्ट्रिय विकासका लागि अपरिहार्य संस्था हो । जुन राष्ट्रले आफ्ना पुस्तकालयहरूलाई बेवास्ता गर्छ, त्यसले अन्ततः आफ्नो शैक्षिक र सांस्कृतिक जीवनको आधारलाई नै कमजोर बनाउँछ । यसको विपरीत, जुन राष्ट्रले पुस्तकालयमा लगानी गर्छ, त्यसले आफ्ना नागरिकहरूको चेतना, ज्ञान र उज्ज्वल भविष्यमा लगानी गरिरहेको हुन्छ ।
त्यसैले नेपाल सरकार, प्रदेश सरकारहरू, नगरपालिकाहरू तथा अन्य स्थानीय निकायहरूको जिम्मेवारी हो कि उनीहरूले स्पष्ट नीति निर्माण गरून्, आवश्यक कानुनी व्यवस्था गरून् र आधुनिक पुस्तकालयहरूको विकास तथा प्रभावकारी सञ्चालनका लागि दिगो प्रणाली स्थापना गरून् । विद्यमान सार्वजनिक पुस्तकालयहरूलाई संस्थागत संरक्षण, पर्याप्त आर्थिक सहयोग, व्यावसायिक व्यवस्थापन र समयानुकूल आधुनिकीकरण प्रदान गरिनुपर्छ, ताकि तिनले भावी पुस्तालाई अझ प्रभावकारी रूपमा सेवा प्रदान गर्न सकून् ।
हाम्रा प्रमुख सहरहरू, विशेष गरी काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरका सार्वजनिक पुस्तकालयहरूको स्थापना अब अधुरो सपना मात्र रहनु हुँदैन । यस्ता पुस्तकालयहरूले विद्यार्थी, शिक्षक, अनुसन्धानकर्ता, लेखक र विभिन्न पेशामा संलग्न व्यक्तिहरूलाई ज्ञानमा पहुँच मात्र उपलब्ध गराउने छैनन्, बरू प्रत्येक नागरिकका लागि आजीवन सिकाइ, सांस्कृतिक आदानप्रदान, बौद्धिक छलफल र लोकतान्त्रिक सहभागिताका केन्द्रका रूपमा पनि विकास हुनेछन् ।
नेपालका राजनीतिक नेतृत्व, नीति निर्माता, स्थानीय सरकारहरू, शैक्षिक संस्थाहरू र आम जनताले पुस्तकालयको वास्तविक महत्त्वलाई बुझेर यस दृष्टिकोणलाई व्यवहारमा उतार्न एकजुट भएर काम गरून् भन्ने मेरो हार्दिक आशा छ । त्यसपछि मात्र हामी वास्तवमै ज्ञानसम्पन्न, चेतनशील र प्रगतिशील नेपालको निर्माण गर्न सक्नेछौं ।
narayanshanti70@gmail.com
लेखक परिचयः नेपाली र अङ्ग्रेजी भाषाका केही पुस्तक तथा धेरै लेखहरूका एक गैर–दलीय लेखक, त्रिभुवन विश्वविद्यालय सेवा आयोग कार्यालयका पूर्व प्रमुख र त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयका पूर्व प्रमुख लाइब्रेरियन तथा मध्य–असी दशक पार गरेको एक ज्येष्ठ नागरिक ।


