
जन्मदै दुई टाउके भएर जन्मेको राप्रपा युवापुस्ताका राजेन्द्र लिंगदेनसम्म आइपुग्दा फेरि फुटेको छ । धवल शमशेरले एक चोइटो निकालेर जय नेपाल पार्टी गठन गरेका छन् ।
जन्मेदेखि ठूला पार्टीको खालमा व्यक्तिगत सत्ता, शक्ति र सम्पत्तिको च्याँखे बल्झाउँदै आएका राप्रपा जन अहिले पनि च्याँखे थाप्ने खेलमै व्यस्त छन् । भन्नलाई राजतन्त्र र हिन्दुराष्ट्रको खोल ओढ्छन्, स्वार्थ पूरा गर्छन् ।
राप्रपाका सर्जक थिए राजेश्वर देवकोटा । यसको फाइदा लिए लोकेन्द्र बहादुर चन्द र सूर्यबहादुर थापाले । त्यसपछि कमल थापा र पछिल्लो नेतृत्वको राजेन्द्र लिंगदेनको । घरि फुट्ने र घरि जुट्ने राप्रपाका नेताहरू हिजोदेखि आजसम्म संवैधानिक राजतन्त्र र हिन्दुराष्ट्रको मन्त्र जप्न बिर्सेका छैनन् । यथार्थमा यिनको चरित्र न राजतन्त्र चाहेजस्तो छ, न हिन्दुराष्ट्र अनुकूल नै । जसरी पनि ठूला दलको खालमा च्याँखे थाप्ने र व्यक्तिगत लाभ उठाउने यिनको राजनीति रहेको छ ।
अहिले पनि राप्रपामा ूलै बिग्रह छ । संघीयता मान्दैनौं भन्ने लिंगदेनले बागमती प्रदेशमा भुवनलाई सभामुख बनाए, सत्तामा जान्न भन्ने राजेन्द्र लिंगदेन आफै सत्तामा पुगे, अहिले बागमती प्रदेशमा पार्टी निर्देशन मान्दिन भन्ने सांसद उद्धव थापा निस्केका छन् । पार्टीभित्रै कमल थापा र लिंगदेन बिभाजित छन् । २०८२ फागुन २१ को चुनावमा जुम्लाबाट एक सिट बाहेक राप्रपाको राजनीतिक हैसियत जिरोमा पुग्दा समेत पार्टीभित्र चेत नखुल्दा धवल शमशेर पार्टी नै फुटाइदिए ।
राप्रपा २०४६ सालमा कांग्रेस, कम्युनिष्ट इतरका पूर्वपञ्चहरूले गठन गरेका हुन् । कांग्रेसले मध्यावधि चुनाव गराएपछि २०५१ मा राप्रपा तेश्रो शक्ति बन्न सफल भएको थियो । अचम्म, पञ्चायत फालियो तर २०५३ मा एमालेको समर्थनमा लोकेन्द्र बहादुर चन्द र २०५४ मा कांग्रेसको समर्थनमा सूर्यबहादुर थापा प्रम बने । ०६२ मा कमल थापाले राप्रपालाई टुक्य्राए । कमल थापा राजाको पक्षमा उभिएका थिए । यति नै बेला सूर्यबहादुर थापाले जनशक्ति पार्टी गठन गरेका थिए । यो पार्टी ०७० मा आइपुग्दासम्म राप्रपामा नै बिलय गरिएको थियो । २०७० को संविधानसभा निर्वाचनमा राप्रपा नेपाल र राप्रपावीच एकता भयो, चौथो ठूलो दल बन्यो तर एकता टुक्रियो ।
समानुपातिकमा २४ र प्रत्यक्षमा १० सिट जितेको राप्रपावीच भएको एकताले उत्साह भर्न सकेन, फेरि ठूला दलसँग मिले सत्तामा पुग्ने होडबाजी चल्यो । पशुपतिशमशेर राणा र कमल थापा दुई खेमा बन्यो र दुबै खेमा शेरबहादुर देउवाको सरकारमा सामेल हुनपुगे । २०७३ फागुनमा डा. प्रकाशचन्द्र लोहनीले आफ्नो नेतृत्वमा एकीकृत राप्रपा (राष्ट्रवादी) बनाएका थिए, २०७४ को प्रतिनिधिसभा चुनावमा थापा समूहले गाई, राणा समूहले गोलाकारभित्र हलो र लोहनी समूहले बर्गाकारभित्र हलो चुनाव चिह्न लिएर चुनाव लडे । गाई चिन्ह लिएका लिंगदेनले मात्र जितेका थिए । अचम्म, यतिबेला लिंगदेन, राणा, लोहनी र कमल थापा एउटै पार्टीमा छन् । धवल शमशेर पनि त्यही पार्टीमा थिए, उनले नयाँ जय नेपाल पार्टी गठन गरेका छन् ।
राप्रपाको संघीय संसदमा एक सिटमात्र प्रत्यक्ष जिते पनि समानुपातिकमा पनि केही सिट छन् । यही बलबुतामा प्रदेश सरकारमा ठूला पार्टीको टेको लागेर सत्ता साझेदारी गरेर लाभ लिने विषयमा राप्रपा अग्रपंक्तिमा रहेको छ । लिंगदेन नेतृत्वको राप्रपामा संवैधानिक राजतन्त्र र हिन्दुराष्ट्रका विषयमा खासै चिन्ता छैन ।
अहिले धवल शमशेर राणाले गठन गरेको जय नेपाल पार्टीले राजतन्त्रका विषयमा हस्ताक्षर अभियान र सर्भेक्षण गरिरहेको छ । यस्ता सामान्य राजनीतिक चालबाजी भनेको जनता झुक्याउने खेलामात्र हो । जबसम्म सडकमा जेनजी बिद्रोहजस्तो भयानक बिद्रोह हुनसक्दैन, तवसम्म नेपालमा हिन्दुराष्ट्र र राजतन्त्र पुनस्र्थापना हुनसक्दैन । किनकि राजतन्त्रलाई किनारा लगाउने काम नेपाली शक्तिबाट भएकै होइन । देखाउनका लागि संविधानसभाको पहिलो बैठकलाई देखाइए तापनि त्यो बैठकमा गणतन्त्र कार्यान्वयनको प्रस्ताव लाने कृष्णप्रसाद सिटौला थिए । उनले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको तर्फबाट त्यो प्रस्ताव लगेका थिए । अचम्म त के छ भने, सिटौला चुनाव हारेका हरूवा थिए । हरूवाले पेश गरेको प्रस्तावमा संविधानसभाका सदस्यहरूले टेबुल ठटाएर पास गरेर गणतन्त्र कार्यान्वयन भएको थियो । सरकार यो अवैधानिक र अराजनीतिक हर्कत थियो ।
तत्कालीन सभामुख कुलबहादुर गुरूङ, जो बरिष्ठताका आधारमा संविधानसभाको पहिलो बैठकको सभाध्यक्ष बनेका थिए, उनका अनुसार थेग्नै नसकिने दबाबका कारण मैले सो प्रस्ताव पेश गर्न अनुमति दिएको थिएँ । त्यो थेग्नै नसकिने दबाब कहाँबाट आएको थियो, आजसम्म प्रष्ट छैन । गुरूङका अभिव्यक्ति आज पनि यूट्यूवमा हेर्न, सुन्न सकिन्छ । त्यतिमात्र होइन, संविधान निर्माणअघि देशव्यापी जनतासँग सुझाव माग गरिएको थियो । ती सुझावहरूमा ९४ प्रतिशतका ॐकार परिवारले संवैधानिक राजतन्त्र र हिन्दुराष्ट्र कायम हुनुपर्ने सुझाव दिएका थिए । ती सुझावहरूको पोको नै खोलिएन र आज पनि बोरामा कोचेर राखिएको छ ।
यसबारेमा राजतन्त्र र हिन्दुराष्ट्रका पक्षधर राप्रपाले कुनै आवाज उठाएको छैन, आन्दोलन गरेको छैन । राप्रपाको मुख्य उद्देश्य नै राजतन्त्र र हिन्दुराष्ट्र देखाएर जनतामा भ्रम छर्नु हो । यथार्थमा बिगत देखि बर्तमानसम्मको लेखाजोखा गर्दा राप्रपा राजतन्त्र र हिन्दुवादी पार्टी हो भन्न सकिने स्थिति देखिदैन । तथापि राप्रपाका नेताहरूवीच व्यक्तित्वको टकराव, राजाको नजिक को र सत्ताको खेलमा को कसरी दौडिने भन्ने मुद्दा निरन्तर चल्दै आएको रोग हो । यसकारण राजाले पनि यस्ताबाट केही लछारपाटो लाग्दैन भन्ने सोचले होला, आफू पुनः राजा हुन चाहेको हो होइन केही पनि संकेत दिने गरेका छैनन् । परम्परागत रूपमा पर्व पर्वमा दिने सन्देश र जनतासँगको एकाध भेटवार्तामा देशको चिन्ता भने प्रकट गर्ने गरेको देखिन्छ । बिगतमा राप्रपाले देखाएको नीति, सिद्धान्तमा व्यवहारगत गलत चरित्रका कारण धवल शमशेरको जय नेपाल पार्टीले संंविधान संशोधनका लागि सरकारले रायसुझाव संकलन गरेको सन्दर्भमा संवैधानिक राजसंस्था र हिन्दु अधिराज्यको पक्षमा जनमत सिर्जना गर्दै सम्बन्धित तहमा सकारात्मक दबाब सिर्जना गर्ने उद्देश्यका साथ चरणबद्ध रूपमा देशव्यापी हस्ताक्षर संकलन गर्ने निर्णय गरेको भए पनि त्यसमा जनताले विश्वास गरेर त्यो पार्टीप्रति जनमत बढ्ने देखिदैन ।
र, जय नेपाल पार्टीसँग विचार मिल्ने पार्टी, संगठन, समूह, अभियान तथा व्यक्तिहरूलाई पार्टीमा गोलबन्ध गर्न त्यस्तो करिस्माटिक व्यक्तित्व जय नेपाल पार्टीमा भएको पनि देखिदैन । यति मात्र होइन, आगामी स्थानीय अथवा ४ वर्षपछिको संघीय निर्वाचनमा राप्रपा अथवा कुनै पनि राजतन्त्र र हिन्दुवादी हुँ भन्ने राप्रपाजस्ता साना पार्टीमात्र होइन, एमाले, नेकपाको समेत सफाया हुने वातावरण बन्दै गएको छ । हो, कांग्रेसभित्र राजतन्त्र र हिन्दुवादको बहस चर्केको छ, यो बहस वीपी सिद्धान्तमा आधारित भयो भने कांग्रेसले आफ्नो गुमेको जनआस्था पुनआर्जित गर्न सक्ने देखिन्छ । वीपीको सिद्धान्त थियो– राजतन्त्र, प्रजातन्त्र र राष्ट्रियता । पूर्वसभापति शेरबहादुर देउवा वीपीका अनुयायी हुन् । कांग्रेसभित्र देउवा र गगन थापावीच ठूलै राजनीतिक भिडन्त भए पनि कांग्रेसभित्र वीपी सिद्धान्तमा जानुपर्ने मत बढेको छ । गिरिजाप्रसाद कोइरालाले कम्युनिष्टको पछि लाग्न गरेको निर्णयले कांग्रेसलाई जेनजी बिद्रोहले सखापै पारेको छ । किन जेनजी विद्रोह हुनप¥यो भनेर जवाफ दिनसमेत कांग्रेस असमर्थ छ । आत्ममिमांसा र सहीमार्गको चयन, नेपाली कांग्रेसको आजको चुनौती रहेको देखिन्छ ।
बरू कांग्रेसभित्र राजतन्त्र र हिन्दुराष्ट्रको महत्व बढेको छ, तर जन्मजात राजतन्त्र र हिन्दुराष्ट्रको नीति, सिद्धान्त बोकेको राप्रपा र ६ दर्जनभन्दा बढी रहेका हिन्दुवादी संगठनहरू एक हुनसकेनन् । १२ वर्षमा खोलो पनि फर्कन्छ भन्ने कहावत छ, राप्रपा वा हिन्दुवादीहरूले १७ वर्षमा पनि एकहुने मति सुधार्न सकेनन् । यसकारण ९४ प्रतिशत ॐकार परिवार र साह्रै लोकप्रिय राजतन्त्र पुनस्र्थापना हुनेतिर कुनै दह्रो आन्दोलन हुनसकेन । यो वीचमा जति पनि आन्दोलनहरू भए, तातेको एक दुई दिनमा नै सेलाएर गए । जुन विदेशी शक्ति र सामलले राजतन्त्र र हिन्दुराष्ट्रलाई किनारा लगाए, ती शक्तिको समर्थनबिना नेपालको शान्ति, समृद्धि र जनअपेक्षा पूरा हुने कुनै सम्भाबना देखिदैन । यसको मूल कारण राजनीतिक दल र तिनका विदेशपरस्त नेताहरू नै हुन् । राजनीतिक सिद्धान्तले मात्र पनि नहुने रहेछ, नेतृत्वले सतिसाल बनेर उभिने र नेपालीत्वका लागि अडिने साहस चाहिने रहेछ । नेपालजस्ता विदेशी दानदातव्यमा चल्ने मुलुकको स्वराज यसकारण सागरमाथिको पानीजहाजजस्तो जुनसुकै बेला डोलायमान भइरहन्छ । यसमाथि भूराजनीतिले त नेपालको राजनीति र कूटनीतिलाई साह्रै प्रभावित पारेको छ ।
राजतन्त्र, हिन्दुराष्ट्र, यो नीति र सिद्धान्त भएका नेताहरूको स्वार्थको सिकार बन्यो । यदि राजतन्त्र र हिन्दुराष्ट्र चाहने हो भने सबै राजतन्त्र र हिन्दुवादीहरू एकढिक्का हुने निर्णयमा पुग्नैपर्छ, अन्यथा यो सपना नै रहने छ । – डा.विनिता


